घामको फूल बोकेर उ उक्लियो हाम्रो पहाड
र सेलोसंगै केहि आयामिक नृत्य देखाएपछी भन्यो
म तिम्रो आकाशमा उध्रीएको एकथान श्वेत स्वीटरको परिधी हुँ
चाहन्छौ भने प्रेमको कुरुशले उनिदिनु
नत्र सबै उधारिदिनु
म तिम्रो खलियानमा असरल्ल परेको बाली हुँ
चाहन्छौ भने दाईँ गर्नु र संगाल्नु
नत्र आगो लाईदिनु
म त तिम्रो अँगेनाको निभेको कोइला हुँ
चाहन्छौ भने झोसिदिनु वैंशको झिल्को
नत्र पानी खन्याइदिनु
कतिकती शब्दका पुष्प गुच्छा अर्पियो उसले
बारम्बार देखायो इमोस्नल घुर्क्याईं
पटक पटक बन्यो नारायण गोपाल र सुनायो ट्रेजेडी गीत
मैले पत्याइदिएँ उ फूल बोकेर आएको कुरा र सिउरिदिएँ कपालमा
मैले मानिदिएँ उ उध्रीएको धागो हो र चलाईदिएँ कुरुश फाटेको जीन्दगीमा
मैले संगालीदिएं छरपष्ट सपनाहरु र हिड्न सिकाएँ विपनामा
तरुनो वैंशको स्पर्श मात्र उस्को लागी थियो
हो मैले सबै सबै पत्याइदिएँ
समय बुर्कुसी मारेर कुदयो
र आइपुगेको छ जीन्दगीको मध्यान्तरमा
यतिखेर उ अरु कसैलाई दोहोर्याइ रहेछ उपरोक्त पंक्तिहरु
र मलाई लगाएको छ पूर्ण विराम
कुरा यतिकैमा सक्किनुपर्ने हो
तर किन उ लगातार मेरो संवेदनामा घन ठोक्छ ?
र इन्बक्समा सोध्छ
अचेल तिमीलाई सन्चै छ ?