•  २०७४ चैत्र १६ शुक्रवार

    काठमाडौँ — कतार रेड क्रिसेन्टले दहनीय अवस्थामा रहेका नेपाली महिलासहितका आप्रवासी कामदारलाई बिहीबार खाद्यान्न सहयोग गरेको छ ।

     कतारस्थित युनाइटेड क्लिनिङ कम्पनीबाट तलब पाउन र घर जानबाट वञ्चित भएका ९० जना नेपाली महिलालाई रेड क्रेसेन्टले एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको हो । क्रिेसेन्टले प्रतिव्यक्ति तीन सय रियालको भौचर कुपन दिएको हो ।


    युनाइटेड कम्पनी धराशायी हुँदा कम्तीमा ५ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कतार राष्ट्रिय मानव अधिकार समिति, अन्तर्राष्ट्रिय मुस्लिम समाज र नेपाल पत्रकार महासंघ, कतार शाखाको समन्वयमा पीडित कामदारलाई क्रिसेन्टले सहयोग गरेको हो ।


    क्रिसेन्टले अलपत्र परेका १५० जना नेपाली पुरुष कामदारलाई पनि खाद्यान्न उपलब्ध गराउने तयारी गरेको छ । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिमबक्स मियाँका अनुसार क्रिसेन्टले दोस्रो चरणमा अलपत्र कामदारको स्वास्थ्य जाँच र तेस्रो चरणमा हवाई टिकटको प्रबन्ध मिलाएर उद्धार गर्ने तयारी भइरहेको बताए ।


    युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारलाई झन्डै पाँच महिनादेखि तलब भुक्तानी गरेको छैन । कतार सरकारको कालोसूचीमा परेको हुँदा अलपत्र कामदारको आवासीय अनुमतिपत्र (भिसा) नवीकरणसमेत भएको छैन ।


    पीडितहरूले तलबसहित स्वदेश पठाइदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् । पीडितले स्वदेश पठाइदिन वा अर्को कम्पनीमा काम गर्नका लागि ‘रिलिज’ दिलाइदिन नेपाली दूतावासलाई अनुरोध गरेको छ ।


    यो कम्पनीमा गत वर्षको अगस्टबाटै समस्या सुरु भएको थियो । प्रोजेक्टअनुसार तलब भुक्तानीमा समस्या हुन थालेपछि अधिकांश नेपाली आफ्नै टिकटमा स्वदेश फिरिसकेका छन् ।


    पहिला नै दूतावासमार्फत कतारी निकायमा गएका नेपाली कामदारले कम्पनीबाट ‘रिलिज’ लिएर अर्को कम्पनीमा काम गर्न थालिसकेका छन् । ‘आर्थिक अवस्था कमजोर छ । तुरुन्तै नेपाल गए फेरि कतार फर्किनुपर्छ,’ पीडित बुद्धिमाया तामाङले भनिन्, ‘यहीं अर्को कम्पनीमा काम गर्न चाहन्छु ।’


    महिला कामदारलाई कतारको अलकिसा र एनखालिदस्थित क्याम्पमा राखिएको छ । पुरुष कामदारलाई सनैयामा राखेको छ ।


    कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले पीडितलाई न्याय दिलाउनका लागि भारत, बंगलादेशलगायत राजदूत मिलेर कतार सरकारसँग सामूहिक पहल भइरहेको बताए । ‘कम्पनी सञ्चालकलाई पक्राउ गरिसकेको छ,’ उनले भने, ‘पीडितलाई छिट्टै तलब दिन कम्पनी तयार देखिएको छ ।’


    दूतावासले सम्पर्कमा आएका कामदारलाई श्रम विभाग पठाएको छ । टिकट जुटाउन सक्ने केही कामदार भने स्वदेश फिर्न थालेका छन् । भिसाको म्याद नभएका कामदार खोज तथा अनुसन्धान केन्द्र (डिपोर्टेसन सेन्टर) बाट नेपाल आएका छन् ।


    ‘कम्पनी पहिलेको जस्तो अवस्थामा आउने स्थिति देखिएन । त्यहाँ रिलिज लिएर काम गर्ने अवस्था पनि देखिनँ,’ नेपाल आइपुगेकी सञ्जु सुन्दासले भनिन्, ‘भिसा नभएकाहरू केही आफ्नै खर्चमा सीआईडीमार्फत नेपाल फर्किएका छन् र फर्किने सुरमा छन् । ‘मलाई टिकट सहयोग भएपछि स्वदेश फिर्न सफल भएँ ।’


    आफ्नै खर्चमा फर्किनेहरू आफूले पाउनुपर्ने बाँकी तलब, पाउनुपर्ने अन्य सबै सुविधा त्यागेर फर्किएका हुन् । न्यायका लागि कतारको अदालत धाएर अदालतले पीडितका पक्षमा फैसला दिए पनि कम्पनीले फैसला कार्यान्वयन गर्ने क्षमता नभएको भन्दै पीडित कामदारले अर्को कम्पनीमा काम गर्ने वातावरण मिलाइदिनुपर्ने बताउँछन् ।


    कम्पनीले उनीहरूलाई कतारका विभिन्न मन्त्रालय, प्रहरी, सेना, अदालत, बन्दरगाह, बैंक, निजी क्षेत्रका ठूला कार्यालयलगायत क्षेत्रमा सफाइ मजदुर र कार्यालय सहयोगीका रूपमा काम गर्न पठाउने गरेको थियो । यी निकायमा पुन: कम्पनीले टेन्डर नगरेपछि कामदारलाई तलब दिएर स्वदेश नपठाएको हो ।

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…