मिश्र वैजयन्ती
कविता
पिँढीमा पन्चैबाजा बज्दा
जीवनको नयाँ मोडमा उभिएको बोध भयो,
म आफैँलाई म हो कि होइन जस्तै भयो,
म आफैँलाई उही पुरानै रङमा फेर्दै रहेँछु
यही भत्काउन खर्च गर्थेँ म
मेरा चेतनाका स्वरहरु ।
सहनाईको धुनले
विदा दिएपछि मलाई
म भनिरहेकी थिएँ ,
बस्तै गर्नुस् है मचाहिँ गएँ ।
रहरलाग्दो बैँस फक्राएँ मैले
यही घर र बलेँसीमा
हेरेर हेर्न लोभिएका पनि
यहीँ फुल्न सिकेर हो ।
मैले सुसारेका यी बिरुवाहरु
मैले लुगा धोएर सुकाउने
यी मसिना तारहरु
मैले घाँस हाल्ने गरेका
यी बाख्रा र ती टाट्नाहरु
मैले चारो हालेर प्यारो गरेका
यी शान्तिका परेवाहरु
अन्माएर सँघार नकाट्तै
यी विराना भैसकेका हुन्छन् ।
कुइनेटो रहेछ जीवन
मनलाई छाड्दै
लिएर जाँदैछु स्मृतिको एल्बमलाई
आँसुले पखालेर ताजा बनाउँदैछु
एउटा रहर लाग्दो समय
फेरि अर्को एउटा
उत्साहको गौरव लाग्दो समय ।
आफनै हत्केलाबाट चिप्लिएको हेरेर
जीवनको पृष्ठभूमीलाई
मैले मेरो परिभाषा खोजीमात्र रहेँ ।
छप्प छोपिएर सहानुभूतिमा आफू
एक गह भक्कानोले
जीवनको पातलाई घोएर हेरेँ ।
देखुन्जेल हेरेँ सहृदयीलाई
कति मायाले भिजेका थिए आँचल
कति खुसीले भिजेका थिए ओठहरु
कति वियोगले भिजेका थिए मनहरु ।
नर्सिँगाले न्याउली रोएपछि
मनको गीत त्यसै तरल बन्छ र भन्छु
बस्तै गर्नुस् है मचाहिँ गएँ ।
मानिसको जीवनका मोडहरु
कहिले चुपचाप आउँछन्
कहिले हल्लाई दिन्छन् आफैँलाई मात्र
कहिले हल्लाउँछन् यसरी दुनियाँलाई
कति त्यस्ता मोडहरुमा
दैलो थुनेर पनि रुन सकिन्न ।
कति यस्ता मोडहरुमा
आफन्तसँग अँगालो मारी मारी रुन सकिन्छ ।
ठीक यतिखेरै
अस्ति अस्ति एकान्तमा समेत
अव्यक्त बेथाहरुले
रुनै नसकेको छाती
आजै खाली बनाएर रोइदिन मन लाग्छ ।
अहिले मेरो जीवनमा
अर्को एउटा रङ थपिएको छ
अब म जीवनभरि एउटा पुरषलाई
कतै सिउँदो कतै गला कतै हातभरि
बोकेर हिँडिरहन्छु
एउटा मन्त्रले
मेरो जात धर्म र गोत्रलाई
फुकेरै पन्छाइदिन्छ
र धातुको छाप झैँ छापिदिन्छ अन्तै कतै
एकैछिनमा म म नै रहन्न
हेरिरहन्छु म आफैँलाई
कसैले खुल्लो खुल्लामै मलाई
एउटाबाट अर्को बनाइदिन्छ
साटिदिन्छ , फेरिदिन्छ ।
क्ति निरिहता घिसार्छु म आफूसँग
कति दिनहीनता मुसार्छु म आफूसँग ।
मैले समयको भेललाई चिनेकै रहेन
साटिदिन्छ , फेरिदिन्छ ।
क्ति निरिहता घिसार्छु म आफूसँग
कति दिनहीनता मुसार्छु म आफूसँग ।
मैले समयको भेललाई चिनेकै रहेनछ
म कस्तो मोडमा उभिएँछु यतिखेर ।
यता मेरो एउटा परिवार छ
जन्मको नाता छ
यो जत्तिको आफनो अरु के हुन सक्छ र ?
आमा बाबा जत्तिको नजिक को हुन सक्छ र ?
यता आफूले मनले छोएका सबै चीज छन्
उता मेरो जीवन छ
यौवन र भविष्य छ
सम्भवतः शून्य छु म यतिखेर
म मेरो जम्मै छोडेर
जम्मै मेरोजस्तैको लागि जाँदै छु
यतिखेर भक्कानिएर भन्दै हुन्छु
मैले जम्मै यहीँ छोडेँ बाबा
केवल तिम्रो रगत बाहेक
जो मेरी आमाले मलाई दिएकी थिइन् ।
मसँग भावुकता पनि पग्लिएको हुँदोरहेछ यतिखेर
कत्ति गनगन गरिरहेकी हुन्छु भन्दै
मेरा आवाजहरु ठोक्किएर
फर्किएको भ्रम हुन सक्छ
घरका यी कुनाहरुमा
बानी परेको हुनसक्छ
काम अह्राउने
फुत्कन सक्छ आवाज
कुनै माया र गालीका क्षणमा
नझुक्किनु नि आमा
ती केवल भ्रम हुन् ।
म तिम्रै इतिहास दोहोर्याइरहेछु
निरिह एकदम निरिह भएर
सोचेकी थिएँ
एक घाम खुसी
पोल्टामा हालिदिनु छु
म जीवनको युद्ध लडेर विजयको हिमाल चढ्ने छु
कस्तो मिलृेन तर मेरो र अभ्यासका पलहरु ।
विवसताको अन्योलमा अलमलिएर
म भनिरहेको हुन्छु
सबै आफनाहरुलाई कबुल गर्ने अव्यक्त सर्तहरुमा
पन्चै बाजाको धुनले
बिदा दिएपछि मलाई
बस्तै गर्नुुुुुस् है मचाहिँ गएँ ।
युद्धभूमीमा सहिद हुन जानेहरु
विदेश अथवा परदेश जानेहरु
पल्टने र रैथानेहरु
धेरै अरु पनि त हिँड्छन्
छोडेर घरहरु
फर्किदा भेटिन्छन्
तिनका परिचयहरु
भेटिँदैनन मेरा कुनै
पदचापका यी छापहरु
बिर्सिसक्नेछन् यी धुनहरु
यी बाटाहरुले
यी बारीहरुले
जहाँ मस्त यौवनका
निला पसिनाहरु
बहे निरन्तर
यी खेतहरु
जहाँ यी नङहरु
खिइए धेरैपटक
यी हुने छैनन् मेरा
कुनै प्रेमका निसानीहरु
म अहिले कस्तो अनौठो मोडमा उभिएँछु
गुमाएको पीरले रोएर
पाउने खुसीलाई धोका दिइरहेछु
भेट्नु र पाउनु पनि एकछिनलाई रहेछ ।
सम्भवतः यो धुन मेरै लागि मात्र बज्दो हो
म्ेरो जन्मघर छोडेर जाने सूचना हो यो
कसैले नसकेर मलाई जा भन्न
यो नै निरिह बज्दो हो
मैले जानु नै छ
र त भनिरहेछु करेँसो नाघेर
बस्तै गर्नुस है मचाहिँ गएँ ।