देवी काफ्ले
हिजोको प्रसव पिडा ओइलाएकै छैन
दशधारा दुध सुकेको छैन
खेताला जांदा अर्नी
खान दिएको मकै पोल्टामै छ।।
भित्र जांदा आमा बाहिर आउंदा
आमा कानमा गुन्जीएकै छ।।
पिंढीको छानामुनी कोक्रो
अझै हल्लीएकै छ
पंधेरामा धुन लैजाने
गुहुका थांग्ना कुनामै छ।
तर म आज एक्लै छु।
ज्वरोले इन्तु न चिन्तु हुंदा
आमा भन्ने कोही छैन
चुल्होमा फु फु गर्छु
आन्द्रा चुडीने गरी म फुक्छु
आमा भन्ने कोही छैन
म किन एक्लै छु।
मेरो अपराध के हो
मेरो गल्ती के हो
सन्तान जन्माउनू नै
बुढेसकालको सजांय हो भने
तिमी उही गल्ती किन दोहोर्याउदै छौ?
मलाई आडम्वरको शुभकामना चांहिदैन
मलाई देखावटी माया चांहिदैन
मलाई त तिम्रो खुशी चाहिएको छ
मलाई त तिम्रो उन्नती चाहिएको छ।
मलाई मेरो परीवार चाहिएको छ।
मलाई मन्दिरको सिंढी होइन
मेरै सन्तानको माया चाहियो
मलाई मेरै सन्तानको सहारा चाहियो।
मेरो जस्तो पिडा तिमीहरूले भोग्नु नपरोस
म मन्दिरकै छेउमा दिनरात गुजार्छु
म बृद्धाश्रमको ख्याक र खुकमा रमाउला
तर तिमीहरूको हांसो चाहान्छु
तिमीहरूको खुशी चाहान्छु।
सम्पूर्ण छोराछोरीहरूमा मातातिर्थ औंशीको शुभकामना सहित आशिर्वाद