-बादलदेवी चाम्लिङ
पेटभरि खाऊँ, खानेकुरा छैन
पानीले पेट भरुँ, शुद्घ छैन
आकाशबाट झरेको पानी पिऊँ
एसिड हुन्छ
वायुमण्डलमा रहने श्वास फेर्ने हावामा
घातक किटाणु हुन्छ
आफ्नो आयु कति छ बाँकी
आफैं तोक्न सकिन्छ ।
सिकुवाको सिलिङमा घुमाउने एक मुखे गुँड लगाउने गौंथली
उहिल्यै कता गए कुन्नि
ताराबाजी लै लै, कुखुरी काँ लेख्ने हातहरु
कसका थिए कुन्नि
सृष्टि र सर्जक यसरि रहस्यमयी बनेर हराएपछि
बरखी बारेका यी पलहरु
आफू कति सुखी छन्
अरुलाई कति खुशी बाँड्न सक्छन् ?
वनकी चरी घरपालुवा बनेपछि
मानव क्रूरताको पराकाष्ठा स्पष्ट हुन्छ
ठूला माछाले साना माछालाई जिउँदै निल्नु
मत्स्य न्याय
पानी भित्रको जिउँदो प्रजातन्त्र छर्लङ्ग हुन्छ
त्यसैले, टोटलाको फूल
दिनमा फुल्न मुस्किल छ भन्छन्
रात परेपछि सुटुक्कै फुल्छ
र उज्यालो नआउ‘दै भूइँमा झर्छ
कम्तिमा जुठो हातहरुले छोइनु त पर्दैन भन्छ
म पनि
आफैं उभिएको छु हेर त ? भन्दै तुजुक मार्न खोज्छु
म उभिएको जमिनमा नै भू–स्खलन हुन्छ
ज्यान जोगाएर भोलि पर्खनु कठिन छ ।
चडपर्वमा
आशीर्वाद, प्रेम–सद्भाव
इमेलबाट नै आउँछ, जान्छ
समय यति लचकदार पनि किन बन्नु ?
हूलबाट एउटा खरायो सिंह बनेर
आÏनै साथीहरुको सिकार गर्छ
जुँघाभरि आलो रगत लत्पतिएको हुन्छ
मैले अपराध गरेकै छैन भन्छ
मुहारबाट ज्यानमाराको छायॉ भूईं झरेकै हुन्न
विचार विनिमयको भाषा यति छर्लङ्ग पनि किन हुनु ?
जासुसी संस्थालाई राज्यको भत्ता पचाउनै गाह्रो भा’छ
उसको काम भाँडामा चामल कॉचै पल्टिएझैं छ
कटमेरो श्वास फेर्दै
पचेको नक्कल त गर्न सकिरा’छ
उस्तै जनता हुनु
यी सबै चटके हेरेर बस्नु
छाँगाबाट तल हेर्दा लाग्ने कहाली
हातमा थमाएर जीवन साट्नुजस्तै भा’छ ।
बैंङ्क
निक्षेप लिएर कर्जा प्रवाह गर्छ
गोमनको विष गरिबको मेरुदण्ड हुँदै बग्छ
पश्चिमको साहूकार अण्डालाई ताप दिएर चल्ला निकाल्छ
खोलिएको सबै अण्डा कमजोर मुलुकतिर निर्यात गर्छ
मेरो राज्य
सुनको असर्फी ठानेर
विकासे बोरा भर्छ
र हुम्ला, जुम्ला, कर्णालीतिर पठाउँछ
जनता भोक, रोगले मृत्युबोध नगरेर अब
अजम्मरी बनुन् त ?
आफ्नै छानोको दाँती छाड्दै बलेंसीमा झरेको पानीमा
प्राण अमृत छ कसरि भनूँ ?
रङहरु रोगी भएर जथाभावी लत्पतिएको क्यानभासमा
ओंठमा लाली पोतेर
कपालमा फुर्का लगाएर उठेको कुनै फूल
कति खुल्छ ?
समय अस्वस्थ र कुरुप छ
बेढङ्ग, अधर्मी लाग्छ
मेरो देशमा मजस्तै कुरुप नागरिक सुहाउँछ !!!
(उनको कविता सङ्ग्रह “पाठेघर” बाट)