• २७ असोज, काठमाडौं ।

    मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सचिवालय तहका सबै नेताहरुले चुनावमा उम्मेदवारी दिने निर्णय गरेको छ । बन्दसत्रमा सहभागी अधिकांशले चुनावमा भाग लिन नहुने धारणा राखे पनि पार्टीले त्यस विपरित चुनावमा भाग लिने निर्णय गरेको हो ।

    चुनावलाई उपयोग गर्ने र दक्षिणपन्थी अवसरवादीहरुको भण्डाफोर गर्ने नीतिअनुसार आगामी चुनावमा भाग लिने निर्णय गरिएको वैद्य माओवादीले जनाएको छ ।

    नेता परि थापाले अनलाइनखबरसँग भने, ‘पार्टीका सबै नेताहरु प्रत्यक्षमा चुनाव लड्नुपर्छ भन्ने नीतिगत निर्णय भएको छ ।’

    चुनावमा भाग लिने कि नलिने भन्ने विवादका कारण बुधबारको बन्दसत्र प्रभावित भएको थियो । तर, शीर्ष नेताहरुको बैठकले चुनावमा भाग लिने र केन्द्रीय तहका सबै नेताहरु उम्मेदवार बन्ने निर्णय गरेर विवाद समाधानको मध्यमार्गी उपाय निकालेको हो ।

    वैद्य माओवादीले स्थानीय चुनावमा देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट चुनावमा भाग लिएको थियो । आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि सोही मोर्चाबाट भाग लिने तयारी गरिएको छ ।

    पार्टी महासचिव प्रणालीमा, विप्लवसँग एकता 

    पोखरा सम्मेलनबाट नेकपा क्रान्तिकारी माओवादी महासचिव प्रणालीमा गएको छ । अब मोहन वैद्य नेकपा (क्रान्तिकारी माओवादी)को अध्यक्षबाट महासचिव बनेका छन् ।

    अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, सहसचिव लगायतका पद राख्दा अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले महासचिवको प्रणालीमा गएको परि थापाले बताए । ‘बहुपदीय प्रणाली भनेको शो पोलिटिक्स जस्तो हो । त्यसले बेकारमा टसल जन्माउँछ,’ नेता थापाले भने, ‘त्यो पद लोलुप जस्तो हुन्छ ।’

    पोखरा सम्मेलनले महासचिव वैद्यको नेतृत्वमा ९५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ, जसमा ७७ जना पूर्ण र १८ जना वैकल्पिक केन्द्रीय सदस्य छन् ।

    वैद्य माओवादीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग तत्काल पार्टी एकता गर्नका लागि वार्ता प्रक्रिया अघि बढाउने नीति लिएको छ । नेता परि थापाले भने, ‘सच्चा क्रान्तिकारी शक्तिसँग पार्टी एकता सम्वन्धी औपचारिक-अनौपचारिक वार्ता गर्ने नीति लिएका छौं ।’

    केन्द्रीय सदस्य बन्न पाँचबुँदे मापदण्ड

    पार्टीको केन्द्रीय सदस्य बन्नका लागि पाँच बुँदे मापदण्डसमेत बनाइएको छ । सबै केन्द्रीय सदस्य पूर्णकालीन हुनैपर्ने, एनजीओ/आइएनजीओमा संलग्न हुन नहुने, पार्टीले जहाँ खटायो त्यहाँ जानैपर्ने, १० वर्ष निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुपर्ने र बैचारिक, राजनीतिक तथा सांगठनिक स्पष्टता हुनैपर्ने मापदण्ड बनाइएको छ । यी मापदण्ड ६ महिनाभित्र कार्यान्वयन गर्न नसके पार्टी छाड्नुपर्ने वैद्य माओवादीले निर्णय गरेको छ ।

    पार्टीको नाम यथावत राखेको क्रान्तिकारी माओवादीले केन्द्रीय प्रतिनिधि परिषद भने खारेज गरेको छ । बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले सच्चा माओवादी आफूहरु नै रहेको भन्दै पार्टीको नामको पछाडि ‘क्रान्तिकारी’ लेखिरहन नपर्ने धारणा राखेका थिए । तर, एकता प्रक्रियाबाट आएका राम सिं श्रीषलगायतका नेताहरुको असहमति पछि हालकै नाम पास भएको थियो । राम सिंले क्रान्तिकारी शव्द हटाए आफूहरुले गरेको पार्टी एकताको औचित्य सकिने भन्दै विरोध जनाएका थिए ।  अनलाईनखवरबाट 

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…