•  १ कात्तिक,पाँचथर

    नेकपा (माओवादी केन्द्र) पाँचथरका नेता कार्यकर्ताहरुले जिल्ला इन्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’लाई पाँचथर क्षेत्र नं. क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनाउनु पर्ने माग गरेका छन् ।

    मंगलबार सम्पन्न माओवादी केन्द्रको पाँचथर क्षेत्र नं. क) को निर्वाचन परिचालन कमिटीका बैठकमा सहभागी अधिकांश नेता कार्यकर्ताहरुले नेम्वाङलाई बाम गठबन्धनबाट पाँचथर क्षेत्र नं. क) को उम्मेद्वार बनाइनुपर्नेमा जोड दिए । उनीहरुले एमालेले माओवादी केन्द्रलाई प्रदेश सभाका लागि पाँचथर क्षेत्र नं. क) छोड्ने विश्वास समेत व्यक्त गरेका छन् ।

    बाम गठबन्धनमा एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँटमा सहमति जुटिसकेको छैन् । माओवादी नेता कार्यकर्ताहरु ठोस आधारहरु सहित पाँचथर क्षेत्र नं. क) मा माओवादीले टिकट पाउनुपर्ने दाबी गर्दै आएका छन् । मंगलबारको बैठकमा उनीहरुले यहि दाबी पेश गरे । उनीहरुले प्रतिनिधि सभाको टिकट एमालेले र प्रदेश सभाका दुवै टिकट माओवादी केन्द्रले पाउनुपर्ने दाबी गरेका छन् । केन्द्रीय नेतृत्वलाई पनि यहि दबाव दिने तयारी माओवादी नेता कार्यकर्ताको छ ।

    जनयुद्धमा सय बढि सहीद भएको क्षेत्र नं. क) मा जनयुद्ध र सहीदको सम्मानका लागि पनि एमालेले टिकट छोड्नुपर्ने मत व्यक्त भएको छ । एमालेले क्षेत्र नं. क) मा पर्ने २ स्थानीय तह जितेका कारण उसको राजनीतिक उपस्थिति र प्रतिनिधित्व मजबुद रहेका कारण यो क्षेत्र माओवादीलाई दिनुपर्ने तर्क माओवादीको छ । माओवादी केन्द्र पाँचथरले आफ्नो आधार इलाकामा उम्मेद्वारको टिकट नपाए गठबन्धनको औचित्य पुष्टि नहुने समेत वताएको छ ।

    एमालेले पाँचथरमा प्रदेश सभाको १ टिकट पाउने नै अवस्था आए उसले क्षेत्र नं. ख) रोज्नुपर्ने माओवादीको मत छ । क्षेत्र नं. ख) मा पर्ने १ स्थानीय तह मात्रै एमालेले जितेका कारण त्यहि क्षेत्र रोज्दा एमालेलाई फाइदा पुग्ने माओवादीको सुझाव छ । उक्त क्षेत्रमा माओवादीले एक स्थानीय तह जितेको छ ।

    स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दापनि पाँचथर क्षेत्र नं. क) नै माओवादीले पाउनुपर्ने दाबी माओवादी भित्र छ । माओवादीका स्थानीय तहका प्रमुखका उम्मेद्वारको मत तथा वडाध्यक्षको मत क्षेत्र नं. ख) मा भन्दा क) मै बढि देखिएको छ ।

    बैठकमा जिल्ला इन्चार्ज नेम्वाङले आफूले नै टिकट पाउनुपर्छ भनेर दाबी नगरेको वताए । उनले प्रदेश सभाका लागि पाँचथरका दुबै निर्वाचन क्षेत्रमा माओवादीले टिकट पाउनुपर्ने दाबी पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’सँग राखेको वताए ।

    नेता नरबहादुर दुलालले पनि प्रदेश सभाका लागि पाँचथरका दुबै निर्वाचन क्षेत्र माओवादीले पाउनुपर्ने दाबी पेश गरिएको वताए । माओवादीले दशैँ अघि नै प्रदेश सभाका लागि क्षेत्र नं. क)मा इन्चार्ज नेम्वाङ र क्षेत्र नं. ख)मा केन्द्रीय सचिवालय सदस्य इन्द्र आङ्बो ‘मौसम’लाई उम्मेद्वार बनाएको थियो ।

    बैठकमा सहभागी नेता कार्यकर्ताहरुले जनयुद्ध र शान्ति प्रकृयामा नेम्वाङले निरन्तर जिल्ला नेतृत्व सम्हालेर पूर्वका जिल्लामध्ये पाँचथरमा माओवादीलाई बलियो बनाइराख्न सफल भएको, सधैँ पार्टीका लागि पूर्णकालिन बनेर काम गरेको, जिल्लाका सबै नेता कार्यकर्तासँग जोडिएको तथा सहयोग गरेको र शारीरिक अवस्थाका कारण आगामी चुनावमा प्रत्यक्ष उम्मेद्वार बन्नसक्ने सम्भावना कम रहेका कारण नेम्वाङले उम्मेद्वारी पाउनुपर्नेमा जोड दिए ।

    नेम्वाङको योगदानलाई सम्मान गर्न, जिल्लालाई विकासित र समृद्ध बनाउन नेम्वाङ उम्मेद्वार बन्नुपर्ने दाबी माओवादीको छ । यस क्षेत्रका टोल–टोलमा पुगेर जनताको दुःख, सुखमा नेम्वाङले साथ दिएको भन्दै उनलाई छोडेर चुनावमा जान नसकिने आवाज माओवादीभित्र उठेको छ ।

    साथै क्षेत्र नं. क) मा एमाले उम्मेद्वार भन्दा नेम्वाङले बढि मत प्राप्त गर्ने र जित सुनिश्चित रहेको तर्क माओवादी नेता कार्यकर्ताको छ ।
    माओवादी भित्र बाम गठबन्धनबाट क्षेत्र नं. क) मा टिकट नपाए पार्टी एक्लैले नेम्वाङलाई उम्मेद्वार खडा गर्नुपर्ने तर्क समेत पेश भएको थियो । यद्यपी जिल्ला नेताहरुले केन्द्रीय निर्णय उल्लङ्घन गर्न नसकिने तर्क पेश गरेका छन् ।

    युद्धमा खुट्टामा गोली लागेर घाइते बनेका नेम्वाङ खुट्टाको निरन्तर उपचार गराइरहेका छन् । चिकित्सकले बढि आराम गर्न सल्लाह दिएपनि पार्टीको कामले त्यसलाई वेवास्ता गर्दा समस्या बढ्दै गएको नेम्वाङले बैठकमा सुनाएका थिए । उनले शायदै आफूले पहिलो र अन्तिम पटक प्रत्यक्ष उम्मेद्वार बनेर जनताको सेवा गर्ने इच्छा राखेको वताए ।

    माओवादीले प्रतिनिधिसभाको उम्मेद्वार भने पूर्व मन्त्री एवं निवर्तमान सांसद् श्रीप्रसाद जवेगूलाई बनाउने निर्णय गरेको थियो । बैठकमा प्रतिनिधि सभाको टिकट पाए माओवादीले प्रदेश सभाका दुबै निर्वाचन क्षेत्र छोड्ने र जवेगूलाई नै उम्मेद्वार बनाउन सहमत रहेको नेताहरुले वताएको एक सहभागीले वताए ।

    माअोवादीलार्इ टिकट एमालेको एउटा टिम तयार

    स्रोत अनुसार प्रदेश सभामा माओवादीलाई पाँचथर क्षेत्र नं. क) को टिकट दिनुपर्नेमा एमालेको एउटा टिम पनि सहमत देखिएको छ । यद्यपी उक्त विषयमा उक्त टिमले खुलेर कुरा राख्ने सम्भावना भने छैन् । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर जिल्लाका केही नेता कार्यकर्ताहरु क्षेत्र नं. क) माओवादीलाई दिने विषयमा सहमत छन् ।

    निवर्तमान सांसद् गणेशकुमार काम्बाङले काँग्रेसका प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दा जित्न कठिन पर्ने भन्दै उक्त पक्ष माओवादीलाई टिकट दिएर काम्बाङलाई समानुपातिक सांसद् बनाउनुपर्ने भन्दै आन्तरिक लविङ गर्दै आएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…