• मोरङ – मोरङको उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय राजेश्वर लिम्बूलाई जिल्ला अदालत झापाले ९ वर्ष १५ दिन कैद सजाय र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनायो। सुसन भनिने राजेश्वरलाई अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा वि.सं. २०७३ साल माघ ५ गते अदालतले दोषी ठहर गरेको हो। 


    तर, लिम्बू पक्राउ परेका थिएनन्। फरार रहेका लिम्बू भारतमा लुकेर बसेका कारण तत्काल पक्राउ परेनन्। लुकिछिपी नेपाल आएका बेला इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उर्लाबारी–४ आइतबारेबाट लिम्बूलाई मंगलबार राति ९ः३० बजेतिर पक्राउ गरेर झापा प्रहरीको जिम्मा लगायो।

    प्रहरीले बुझाएपछि लिम्बूलाई अदालतले जेल सजाय भुक्तानका लागि कारागार चलान गरेको छ। यही मुद्दामा अदालतबाट दोषी ठहर भएका मोरङ मधुमल्लाका ३० वर्षीय अर्जुन भनिने अर्जुन पेहिम लिम्बू हालसम्म फरार छन्।

    के थियो घटना ?

    अर्जुन र सुसन ‘छोटामोटा’ अपराध कृत्यमा संलग्न रहँदै आएका थिए। तर, अर्जुनले आफ्नो बा१३च ६५९७ नम्बरको बोलेरो गाडी चलाउन लगाएर झापाको बिर्तामोड नगरपालिका–४ का विशाल ढुंगेललाई २०७२ साल पुस १४ गते बिर्तामोडबाट काँकडभिट्टा पुर्‍याए। त्यसपछि साँझतिर ढुंगेललाई लिएर अर्जुन पुग्दा भारतीय बजार पानीट्यांकीमा सुशनसहित तीन जना मदिरा सेवन गरेर बसिरहेका थिए।

    झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाका अनुसार पानीट्यांकीबाट ढुंगेलले तत्काल आफू नेपाल फर्किने बताउँदै गाडीको चावी अर्जुनलाई बुझाउन खोजे।

    तर, ढुंगेललाई नेपाल फर्किन नदिई सुसन र अर्जुनको समूहले हातखुट्टा बाँधेर मुखमा टेप लगाई कुटपिट गरी साथमा भएको पाँच हजार रुपैयाँ लुटेर लगेको थियो।

    खाली कोठामा बन्धक बनाएर ढुंगेलको साथमा भएको १४ हजार दुई सय रुपैयाँ पर्ने मोबाइलसमेत लुटियो। सुसन र अर्जुनको समूह सुतेका बेला राति ढुंगेल फुत्किएर काँकडभिट्टा आउन सफल भएको डीएसपी थापाको भनाइ छ। ढुंगेलको जाहेरी अनुसार अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा प्रहरीले अनुसन्धान थाले पनि सुसन र अर्जुन फरार थिए।

    अदालतले मुद्दाको किनारा लगाउँदासम्म उनी पक्राउ परेनन्। नेपाल प्रहरीले ‘मोस्ट वाण्टेड’ सूचीमा राखेर सुसन र अर्जुनको खोजी गरिरहेको थियो। घटनामा संलग्न सुसन पक्राउ परे पनि अर्जुन अझैसम्म भागिरहेको डीएसपी थापाको भनाइ छ।

    गुण्डागर्दी, अवैध असुली लगायतका गतिविधिमा केन्द्रित भएका सुसन एकपछि अर्को आपराधिक पृष्ठभूमिको साङ्लोले बेरिँदै गएका छन्। राजनीतिक आवरण र संरक्षणमा उनी विभिन्न आपराधिक चङ्गुलमा फस्दै गए। 

    जघन्य प्रकृतिका दर्जनौं आपराधिक घटनामा उनको संलग्नता छ। सुशनको आपराधिक पृष्ठभूमिको फेहरिस्त निक्कै लामो छ। भारत र नेपालमा उनीविरुद्ध विभिन्न अपराधमा संलग्न भएका एक दर्जनभन्दा बढी मुद्दा छन्। 

    गलत संगत र राजनीतिक संरक्षणले उनलाई ‘खुङ्खार अपराधी’ बनाएर समाजमा चिनाइदिएको उनका छिमेकीहरू बताउँछन्। उनले ‘ग्याङ’ बनाएरै आपराधिक गतिविधि स्थापित गराउँदै गए।

    ‘गुण्डा’को छवि बनाउँदै त्यसकै आडमा राज गरेर चन्दा असुली, अपहरण, चोरी, हत्या प्रयास, लागुपदार्थ तथा हतियारको कारोबार लगायतका आपराधिक धन्दा चलाउने गरेका लिम्बूलाई त्यही गलत कर्मले अहिले जेल पुर्‍याएको छ। राजनीतिक संरक्षणमा गुण्डागर्दीलाई पेसा बनाएका उनले तत्कालीन एकीकृत माओवादीको साथ लिएर उधुम मच्चाएका थिए।

    लिम्बू एकीकृत नेकपा माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को मोरङ क्षेत्र नम्बर ९ का तत्कालीन संयोजक हुन्। राजनीतिको आडमा जघन्य प्रकृतिका ठूला अपराधमा सुसनको उदय भयो। 

    वाइसिएलको क्षेत्रीय नेतृत्वमा पुगेपछि २०६८ सालतिरबाट एउटा छुट्टै गिरोह खडा गरेर सुसनले आपराधिक गतिविधि थालेका हुन्। माओवादीको संरक्षण मिलेपछि उनलाई अपराध कर्म अघि बढाउन थप हौसला मिल्यो। एक बेला उनको नाम सुन्दा मात्रै उर्लाबारी क्षेत्र पूरै त्रसित एवं आतंकित हुनुपर्ने अवस्था रहेको थियो।

    प्रहरीका अनुसार सुसनको नेतृत्वमा आपराधिक समूह खडा गर्दै २०६९ वैशाख २० गते उर्लाबारीस्थित कांग्रेस नेता खड्ग फागोको घरमा आक्रमण गर्न पुगेका थिए। पहिलो पटक आक्रमण असफल भएपछि फागोको घरमा दोस्रो पटक उनले आक्रमणको योजना बनाए। र, २०६९ साल असार ५ गते राति ११ बजेतिर आक्रमणको योजनासहित पुनः सुसनको समूह फागोको घर घेर्न पुग्यो।

    त्यसक्रममा कांग्रेसमा आबद्ध युवासँग भएको दोहोरो झडपमा सुसनको समूहमा रहेका दुई जना वाइसिएल कार्यकर्ता अरुण मगर र अमर धिमालको मृत्यु भयो। घटनामा राजीव लिम्बु घाइते भए। लिम्बु अहिले नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको युवा संघ उर्लाबारीका अध्यक्ष हुन्।

    सुसनलाई उर्लाबारी क्षेत्रका बासिन्दा राजनीतिक संरक्षणमा ‘ग्याङ’ तयार गरेर जघन्य प्रकृतिका आपराधिक घटनामा संलग्न युवाका रुपमा चिन्छन्। ‘शुरुमा राम्रो पारिवारिक पृष्ठभूमिका कारण समाजमा राम्रै छवि थियो,’ एक स्थानीयले भने, ‘तर, पछिल्लो समय कुलत र गलत संगतमा फसेपछि एकाएक अपराधी भएर निस्किए।’ 

    पारिवारिक पृष्ठभूमि कांग्रेस रहेका सुसन अवैध गतिविधि, असुली र गुण्डागर्दी गर्नकै लागि वाइसिएलमा छिरेको प्रहरीको निष्कर्ष छ।

    उर्लाबारी झडपपछि फरार भएका सुसनको जघन्य खाले आपराधिक यात्रा त्यही घटनाबाट शुरु भएको प्रहरीको विश्लेषण छ। राजनीतिक दवावका कारण कारबाहीका लागि उनलाई प्रहरीले पक्राउ गर्न सकेन।

    उर्लाबारी घटनापछि सुसनलाई झापाको दमकस्थित ताराबारीमा रहेको धान मिलमा चन्दा उठाउन जाँदै गर्दा प्रहरीले पक्राउको प्रयास गरेको थियो। तर, प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाउँदा छलिँदै भागेर उनले ज्यान बचाएका थिए।

    त्यसपछि भारतबाट लागुऔषध लिएर आउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगरबाट उनलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगायो। प्रहरीले चलाएको लागुऔषध मुद्दामा अदालतले उनलाई दुई वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनायो।

    सुसन अदालतको फैसलाअनुसार सजाय भुक्तान गरेर कारागारबाट २०७१ साल वैशाख ३० गते छुटे। लागुऔषध मुद्दामा जेलबाट छुटेपछि माओवादीले लिम्बूलाई अवीर लगाएर स्वागतसमेत गरेको थियो। 

    त्यसपछि अरु घटनामा संलग्न सुसनलाई प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिने आँट गरेन। माओवादीले राजनीतिक रुप दिएर उर्लाबारी घटनालाई त्यतिबेला थामथुम बनाउने प्रयास गरेको थियो।

    लागुऔषध मुद्दामा जेलबाट छुटेपछि फरार भएका उनी २०७२ साल माघ ३ गते लागुऔषध गाँजा र चोरीको सवारी साधनसहित भारतको पानीट्यांकीबाट पक्राउ परे। पानीट्यांकीको एक होटलबाट उनलाई भारतीय प्रहरीले ९ सय ग्राम गाँजा, चोरी गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकल र एउटा बलेरो गाडीसहित पक्राउ गर्‍यो।

    नेपालमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका लिम्बू त्यतिबेला पक्राउ पर्दा भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरेका थिए। भारतमा जेल बसेर छुटे पनि भारतीय प्रहरीले नेपालमा रहेका मुद्दामा अनुसन्धान गर्न सुसनलाई नेपाल प्रहरीको जिम्मा नलगाइ छाड्यो। 

    २०७२ साल पुश ७ गते सुसनकै समूहले उर्लाबारी ३ का डम्बर गुरुङको घरमा लुटपाट मच्चाएको थियो। घटनामा लामो समयदेखि उर्लाबारी क्षेत्रमा गुण्डागर्दीका माध्यमबाट आतंक मच्चाउँदै आएका सुसन, पूर्वप्रहरी परियार, मधुमल्ला १ का २५ वर्षीय अर्जुन तेयुङ लिम्बू, उर्लाबारी २ का २५ वर्षीय विष्णु नेपालीसमेतको समूह संलग्न रहेको प्रहरीले पत्ता थियो।

    प्रहरी हौँ भन्दै पुगेको लुटेरा समूहले घरमा डम्बरकी पत्नी बिना मात्र भएको मौका छोपेर मंगलबार दिउँसो १ बजे लुटपाट मच्चाएको थियो। लुटेरा समूहले बिनालाई दुर्व्यवहार र विभिन्न धाक धम्की दिँदै घरमा रहेको एक तोला सुन, २६ हजार रुपैयाँ नगद, चाँदीको जलप लगाएको एक किलोको थाली, ४२ इञ्चको एलइडी टीभी र आठवटा करुवा लुटेर लगेको थियो।

    तत्कालिन इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार लुटपाटमा संलग्न पूर्वप्रहरी जवान परियारलाई पक्राउ गर्न प्रहरी सफल भएपछि घटनामा संलग्नहरूका बारेमा पुष्टि भएको थियो। परियारविरुद्ध प्रहरीले डाँका मुद्दा चलायो।

    इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चक्र बस्नेतको पालामा पेस्तोलसहित पक्राउ परेका सुसन हातहतियार खरखजना केश अन्तर्गत सजाय झेलेका थिए। सुसनले उर्लाबारी चिउरामिल रोडमा उर्लाबारीकै नवीन थापाको हात छिनाइदिएका थिए।

    वि.सं. २०७२ साल भदौमा इटहरीका निर्माण व्यवसायी (हाल इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष) भीम पौडेललाई १० लाख रुपैयाँ माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा उनी पक्राउ परेका थिए। पैसा नदिए मारेर बुढीखोलामा फालिदिने धम्की पौडेललाई दिएपछि पक्राउ परेका सुसनको अपराधिक पृष्ठभूमिको विगत त्यतिबेला पनि प्रहरीले खोतल्न चाहेन।

    सुसनलाई गुण्डागर्दी र चन्दा असुली गरिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेर २०७३ सालमा सार्वजनिक अपराध ऐन (अहिलेको अभद्र व्यवहार मुद्दा) अन्तर्गतको मुद्दा चलायो। प्रहरीले पुरानो घटनामा कारबाहीका लागि चासो नदिँदा उनी एक हजार चार सय रुपैयाँ जरिवाना तिर्दै छुटेर भारततिरै भाग्न सफल भए। 

    त्यतिबेला उर्लाबारीका तत्कालीन प्रहरी निरीक्षक श्रीराम भण्डारीले उनीविरुद्ध कारबाहीका केही कदम अगाडि बढाएको देखिन्छ। सुसन र उनको समूहले प्रयोग गर्ने हन्क, आर वान–५ र बुलेट मोटरसाइकल नियन्त्रणमा लिएर पनि भण्डारीले अनुसन्धान गरेका थिए।

    मोरङको मधुमल्लामा जग्गा विवादमा एक व्यक्तिको हत्या प्रयास गरेको अभियोग रहे पनि उनीविरुद्ध उक्त घटनामा प्रहरीले कारबाही अघि बढाउन सकेन। उनी पक्राउ पर्नासाथ छुटाउनका लागि तत्कालीन माओवादीका नेताको फोन प्रहरीमा पुग्ने गरेकाले समस्या हुने गरेको प्रहरीका एक अधिकृतले बताए। 

    वाइसिलको कार्यकर्ता भएता पनि गरेका विभिन्न गैरकानुनी धन्दामा सुसनमाथि कारबाही अघि बढाउने प्रहरीको जोडमा एमाओवादी नेता बाधक बन्ने गरेको स्रोतले बतायो।

    फरार भए पनि लुकिछिपी आपराधिक यात्रालाई निरन्तरता दिइरहेका सुशनविरुद्ध नेपाल र भारतमा दजनौं अपराधमा मुद्दा रहेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। ‘कारबाहीबाट जोगिन नेपालमा अपराध गर्दा भारत भाग्ने र भारतमा गर्दा नेपाल आइ लुकेर बस्ने गरेको पाइयो,’ उनले भने, ‘अहिले नेपालमा पक्राउ परे पनि भारतमा कुनै अपराध गरेर आएको हुनसक्ने अनुमान छ।’

    सुसनले आफ्नो अपराध यात्रा अघि बढाउन उर्लाबारीलाई भरपुर प्रयोग गरेको प्रहरीका एक अधिकृतको भनाइ छ। तत्कालीन माओवादीको संरक्षण मिलेपछि वाइसिएल उर्लाबारीको नेतृत्व हत्याएका सुसनको पृष्ठभूमि र वर्तमानसमेत आपराधिक रहँदै आएको छ। 

    उनी लागूऔषध र अन्य फौजदारी अभियोगमा जेल पर्दै र छुट्दै गरेका व्यक्ति हुन्। उनीसँग जोडिएका सबै घटना र मुद्दाको मिहिन ढंगले अनुसन्धान गर्ने हो भने सुसनको जीवन जेलमै बित्ने प्रहरी अधिकारीहरू बताउँछन्।

    एसपी खड्काले सुसनविरुद्ध नेपालमा अहिलेसम्म कतिवटा मुद्दा छन् भनेर खोज्न र उनीसँग जोडिएका पुराना फायल पल्टाउन थालिएको बताए। ‘जेलमा बसे पनि अरु मुद्दामा अनुसन्धानका लागि तान्न सकिन्छ,’ उनले भने, ‘कारागारबाट ल्याएर अरु आपराधिक घटनाको बयान गराउने लगायतका कारबाही अघि बढाइने छ।’

    सुसनको पारिवारिक पृष्ठभूमि भने राम्रो थियो। उनी मोरङमा जमेका फुटबलर हुन्। उमेर समूहमा भएका फुटबल खेलमा राम्रो फड्को मार्दै अघि बढिरहेका उनी वाइसिएल प्रवेश गरेपछि अपराधतर्फ उन्मुख भएको प्रहरी अधिकारी बताउँछन्।

    निधन भइसकेका उनका बुवा बेलायतका अवकाश प्राप्त सैनिक थिए। शुरुमा सुशन उर्लाबारीमा धनाढ्य र सम्पन्न परिवारका युवा भनेर चिनिन्थे। दाजु र तीन दिदीबहिनी हङकङमा छन्। आमा उर्लाबारी बस्थिन्। उनका श्रीमती र एक छोरा छन्। 

    गलत संगत र त्यहाँमाथि सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको माओवादीको संरक्षणले उनी आपराधिक कर्ममा लागेर ‘खुङ्खार अपराधी’ बनेर निस्किएको जानकारहरू बताउँछन्।

    सिलगढी, दार्जीलिङ लगायत क्षेत्रका आपराधिक पहिलेदेखि लिम्बूको ’सम्बन्ध’ रहेको प्रहरीले जानकारी दिएको छ। त्यहाँबाट लिम्बूले लागूऔषध र हातहतियार ओसारपसार गर्ने शंका भारतीय प्रहरीको छ।

    अर्को समाचार

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…