कार्तिक १३, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम पार्टी एकताकै लागि एमालेसँग चुनावी गठबन्धन भएको दोहोर्याएका छन् ।
चितवनमा सोमबार बिहान पत्रकारहरुसित कुरा गर्दै दाहालले पार्टी एकता कुनै हालतमा प्रभावित नहुने बताए । ‘पार्टी एकताको उद्देश्यका लागि नै तालमेल भएको छ,’ उनको भनाइ थियो, ‘मतपरिणामले असर गर्दैन ।’
०४६ सालको आन्दोलनपछि पनि धेरै साना पार्टीहरु एक भएको स्मरण गर्दै दाहालले पार्टी एकता संयोजन समिति बनिसकेकाले एकता नजिक पुगेको उल्लेख गरे । ‘संविधान ऐन, कानुनले पनि थोरै पार्टी हुनुपर्छ भन्ने परिकल्पना छ,’ उनको भनाइ थियो, ‘साना धेरै होइन, थोरै ठूला पार्टी बनाउन पहल हामीले सुरु गर्यौं, कांग्रेसले पनि अर्को गठबन्धन बनाउँदैछ ।’
वाम एकता नयाँ विशेषतासहित भइरहेको उल्लेख गर्दै उनले स्थानीय तह चुनावमा कांग्रेस र एमालेबीच पनि कतिपय जिल्लामा तालमेल भएको स्मरण गराए । उनले कांग्रेससँगको सहकार्य नतोडिएको बताए ।
दुई पार्टीबीच उम्मेदवारी तय गर्न जटिल नभएको बताउँदै दाहालले समयअभावले नसकिएको जनाए । ‘जटिल भएर होइन, समयको चापले हो, बन्दसुचीले व्यस्त भएकाले हो,’ उनको भनाइ छ, ‘आज बेलुका मेरो र केपी ओलीजीको बैठक छ, आज टुंगिन्छ ।’
निर्वाचन आयोगले दुइटै मतपत्र छाप्ने भनेपछि मतपत्रको विवाद पनि समाधान भएको उनले बताए ।
पहिलो संविधानसभामा रोल्पा र काठमाडौं तथा दोस्रो संविधानसभामा सिरहाबाट चुनाव जितेका दाहालले आगामी प्रतिनिधिसभामा चितवनलाई नै रोजेको बताए । आफू चितवनका जनताको विश्वास जितेर निर्वाचित हुने दाबी गर्दै उनले बाँदरमुडे घटनाले कुनै असर नगर्ने जिकिर गरे ।