मोरङ । नेकपा एमाले र माओवादीले मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ सिट र २ सीटमा भागवण्डा गरेका छन् । प्रदेशसभाका १२ सीटमध्ये दुबै पार्टीले आधा–आधा बाँडेका छन् । आइतबार भएको सहमति अनुसार मोरङको क्षेत्र नम्बर ४ र ५ माओवादीले पाउने भएको छ । क्षेत्र नम्बर १, २, ३ र ६ एमालेको भागमा परेको छ ।
एमालेले क्षेत्र नम्बर ३ मा भानुभक्त ढकाललाई टिकट दिएको छ । क्षेत्र नम्बर ६ मा लालबाबु पण्डित कांग्रेस नेता शेखर कोइरालासँग चुनाव लड्दैछन् । क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालसँग कांग्रेस उम्मेदवार मेडिकल सञ्चालक सुनील शर्मा भिड्दैछन् । मोरङको क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट माओवादी नेता शिवकुमार मण्डल चुनाव लड्ने भएका छन् ।
यस क्षेत्रमा कांग्रेसले उम्मेदवार तय गरिसकेको छैन । माओवादीले पाएको क्षेत्र नम्बर ४ मा कांग्रेसबाट महेश आचार्य चुनाव लड्दैछन् । यहाँ माओवादीले उम्मदेवार तय गर्न बाँकी छ । मोरङका १२ वटा प्रदेशसभा सिटमा एमाले र माओवादीले बराबरी बाँडेका छन् । माओवादीले १, २, ३, ४ र ६ नम्बर क्षेत्रका प्रदेश नम्बर (क) पाएको छ भने ५ नम्बर क्षेत्रको प्रदेश नम्बर (ख) मा टिकट पाएको छ । बाँकी ६ वटा सिट एमालेले पाएको छ । यता प्रदेश–१ अन्तर्गत मोरङ क्षेत्र नम्बर १ (क) मा एमालेका प्रभावशाली नेता मानबहादुर श्रेष्ठलाई टिकट नदिएको भन्दै असन्तुष्टि बढेको छ । एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताको ठहर छ ।
गत स्थानीय तहको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ (क)मा पर्ने मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिकाका सबै वडामा एउटा सदस्यसमेत नजितेको माओवादीलाई प्रदेशसभामा समर्थनमा गर्नुपर्ने भएपछि एमाले कार्यकर्ताले चर्को आक्रोश व्यक्त गरेका छन् । लामो समयदेखि पूर्वोत्तर मोरङमा एमालेको कमान्ड सम्हालेका श्रेष्ठ सो क्षेत्रमा लोकप्रिय मानिन्छन् ।
उनले उत्तरी मोरङको समग्र विकास र पूर्वाधार निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् । श्रेष्ठले उक्त क्षेत्रमा सडक, खानेपानी विकासका साथै नदी नियन्त्रणका लागि सक्रिय भूमिका खेल्दै आएका छन् । उनकै पहलमा सडक निर्माण भएपछि इलामको फुङ्नामसम्म सवारी चल्न थालेका छन् । उर्लाबारी र मिक्लाजुङका केही वडा पर्ने मोरङ–१ (क) क्षेत्रमा एमाले मोरङ जिल्ला सचिवालय सदस्यसमेत रहेका श्रेष्ठ स्थानीयस्तरमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । यसअघि पनि श्रेष्ठलाई एमालेभित्रको गुटका कारण टिकटबाट वञ्चित गराइँदै आएको छ ।
यसैबीच, प्रदेश–१ (क) मा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिएको विषयलाई लिएर युवा संघले समेत अपत्ति जनाएको छ । युवा संघ उर्लाबारीका नगर अध्यक्ष रविन लामाले भने, ‘पार्टीले लोकप्रिय र योग्य उम्मेदवारलाई टिकट दिँदैन भने युवा संघ यो चुनावमा निष्क्रिय बस्छ ।’ नगर अध्यक्ष लामाले उक्त क्षेत्रमा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिइएको खण्डमा युवा संघका सदस्यलाई चुनावी अभियानमा नहिँड्न मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।
लामाका अनुसार श्रेष्ठलाई टिकट नदिइए स्वतन्त्र उम्मेदवार उठाएर भए पनि जिताएर देखाइदिने चेतावनी दिएका छन् । लामाका अनुसार श्रेष्ठको समर्थनमा एमालेका अधिकांश संगठित सदस्यले सामूहिक राजीनामा दिने तयारी भइरहेको दाबी गरेका छन् ।