काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार दुवै शीर्ष नेताहरुले एक अर्काे दलको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दिनअघि संयुक्त रुपमा दुवै पार्टीको स्थानीय कमिटीलाई सर्कुलर गरेको निर्देशनमा यस्तो उल्लेख गरिएको छ ।
बाह्रखरीलाई प्राप्त ७ बुँदे निर्देशनको ५ नम्बर बुँदामा भनिएको छ– केन्द्रीय संयोजन समितिका पदाधिकारी तथा सदस्य कमरेडहरुद्वारा दुवै पार्टीका केन्द्रीय तहका बैठकहरुमा उपस्थित भएर सम्बोधन गरिनेछ । त्यसैगरी पार्टी एकता संयोजन समितिका प्रदेश तथा जिल्लास्तरका पदाधिकारी तथा सदस्य कमरेडहरु दुवै पार्टीका सम्बन्धित तहका बैठकहरुमा सहभागी हुने र सम्बोधन गर्ने ।”
केन्द्रीय संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमाले नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेल रहेका छन् भने माओवादीका नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।
त्यसैगरी ६ नम्बर बुँदामा भनिएको छ– पार्टी एकता र चुनावी तालमेलको महत्व र यसबाट नेपाली जनता तथा नेपाल राष्ट्रले प्राप्त गर्ने उपलब्धिका सम्बन्धमा स्पष्ट पार्न र प्रतिक्रियावादी कित्ताबाट फैलाइएको भ्रमलाई चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा वुद्धिजिवीहरुको संयुक्त भेला आयोजना गर्ने ।” त्यसैगरी दुवै दलले संयुक्त रुपमा दोस्रो चरणको मनोनयनपछि ताप्लेजुङ–दार्चुला अभियान सञ्चालन गर्ने भएका छन् ।
“दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि मनोनयन पत्र दर्ता भएको लगत्तैपछि कात्तिक १९ देखि कात्तिक २६ गतेसम्म ताप्लेजुङ–दार्चुला अभियान सञ्चालन गरिनेछ । उक्त अभियानमा पार्टी एकता संयोजन समितिका प्रमुख नेताहरु केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न नेताहरुको सहभागिता रहनेछ । कार्यक्रमको विस्तृत विवरण अबिलम्ब जिल्ला जिल्लामा पठाइनेछ,” ७ नम्बर बुँदामा भनिएको छ ।
दुई शीर्ष नेताको संयुक्त हस्ताक्षरसहितको निर्देशिकामा प्रतिक्रियावादीहरुले राणा शासनको भन्दा पनि अझै कठोर तानाशाही तर्फको यात्रा भनेर जनतामा भ्रम र त्रास सिर्जना गरेको उल्लेख छ ।
“हामीले लिएको निर्णयले जनतामा अपार र उत्साह पैदा गरेको छ भने दक्षिणपन्थी एवं प्रतिक्रियावादी शक्तिहरु तिल्मिलाएका छन् । उनीहरुले पार्टी एकतातर्फको यो पहललाई अधिनायकवादतर्फको कदमका रुपमा चित्रित गर्दैछन् । राणा शासनको भन्दा पनि अझै कठोर तानाशाहीतर्फको यात्रा भनेर जनतामा भ्रम र त्रास सिर्जना गर्न खोज्दैछन् ।”
निर्देशिकामा आफूहरु लोकतान्त्रिक पार्टी भएको पनि उल्लेख गरिएको छ, “हामी लोकतन्त्र प्राप्तिका निम्ति बलिदानपूर्ण संघर्ष र दुखकष्टको लामो यात्रा पार गरेर आएका शक्ति हौं । वर्तमान लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका पार्टी हौं । लोकतन्त्र हाम्रो आस्था, विश्वास र सैद्धान्तिक प्रतिवद्धता हो ।”
ओली र दाहालले जारी गरेको निर्देशिकामा आफूहरुलाई कसैले पनि लोकतन्त्रको प्रमाणपत्र कसैले दिनुनपर्ने उल्लेख गरेका छन् ।
“लोकतन्त्र हाम्रो अभ्यास, आचरण र जीवन पद्धति हो, हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन र हामीभन्दा बढ्दा लोकतान्त्रिक भएर हामीलाई लोकतन्त्रको प्रमाणपत्र दिने हैसियत कसैसँग पनि छैन । हामी चुनौतीका साथ भन्न चाहन्छौं, कोही छन् भने लोकतन्त्रको प्रश्नमा हामीसँग प्रतिष्पर्धा गर्न आउन, हामीलाई उछिन्न त के पछ्याउन मात्र पनि सक्ने छैनन् । त्यसैले संकिर्ण राजनीतिक स्वार्थका निम्ति प्रतिक्रियावादी कित्ताबाट सिर्जना गरिएको कम्युनिष्ट तानाशाहीको प्रायोजित प्रचारबाट प्रभावित नहुन, त्यस्तो प्रचारबाट कुनै पनि किसिमले भ्रम र त्रासमा नपर्न सम्पूर्ण पार्टी सदस्यहरु र आम जनतालाई अपील गर्दछौं,” निर्देशिकामा भनिएको छ ।