उर्लाबारी । नेपाली कांगे्रसले युवा नेता ललित अधिकारीलाई मोरङ क्षेत्र न. १ प्रदेश सभा ( क) को लागि उम्मेवादर उठाउने भएको छ । जनता माझ लोकप्रिय अधिकारीलाई केन्द्रले चुनाबी टिकट दिएपछि अब अधिकारीको चुनाबी भिडन्त बाम गठबन्धनका कुशल लिम्बूसँग हुने भएको छ । भोलि बिहीबार अधिकारीले मनोनयन दर्ता गर्दैछन् ।
मोरङ कांग्रेसमा एउटा विवाद रहित छवि बनाउन सफल ललित अधिकारी सधैं राजनीति भन्दा माथि उठेर नागरिकका समस्याहरु सम्बोधनमा क्रियाशिल हुनुहुन्छ । अधिकारी हाल साबिक क्षेत्र नं. ९ बाट महासमिति सदस्य हुनुहुन्छ । अढाई दशक अघिदेखि कांग्रेस राजनीतिमा क्रियाशील अधिकारीले वुथ सभापतिदेखि महासमिति सदस्यसम्मको जिम्मेवारी सम्हालि सक्नुभएको छ । अधिकांश समय पार्टी र सामाजिक काममा ब्यस्त रहने ५१ वर्षीय अधिकारी हालसम्म कुनै पनि आर्थिक लाभ प्राप्त हुनेसरकारी पदमा पुग्नुभएको छैन् । गत संविधान सभा चुनावमा कांग्रेसको समानुपातिक उम्मेद्वार बनेर जिल्लाका अरुनिर्वाचन क्षेत्रको तुलनामा मोरङ ९ मा सबैभन्दा धेरै मत प्राप्त गरेर पनि सभासद बन्न नसकेका अधिकारी अब भने प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ ‘क’ बाट कांग्रेस उम्मेदवारको बन्दैं प्रदेश सभा सदस्य बन्ने होडमा छन् ।
अधिकारीसँगको छोटो कुराकानी
टिकट पाउनुभयो कस्तो लागि रहेको छ ?
पार्टीले मेरो इमान्दारी, समर्पण र निष्ठाको सम्मान गरेको हो भन्ने बुझेको छु ।
० उम्मेदवार बन्ने पक्का भयो चुनाव जित्न गाह्रो होला नि ?
पक्कै पनि चुनावमा गएपछि हार जीत स्वाभाविकै हो ।तर हामी हार्ने गरी चुनाबी अभियानमा लागेका छैनौं । हामीसँग तत्काल गर्ने ,पाँच वर्ष भित्र गर्ने र १० वर्ष भित्र गर्ने विकास निर्माणको स्पष्ट खाका छ । खास गरी मैले राजनीतिबाटै आर्थिक समृद्धिको सपना देखेको छु । यो निर्वाचन क्षेत्रका नागरिकलाई थाहा छ , ललित अधिकारीले कहिलै कुनै संघ संस्था वा विकासे समितिमा बसेर लाभको पद लिएको छैन । कम्युनिष्ट पार्टीमा जस्तै गरी पूर्णकालीन कार्यकर्ता भएर राजनीतिक संगठनमा काम गरेको छु । यहाँ मैले जे जे समस्या देखेको छु ति समस्या पहिले सम्बोधन गर्छु ।
० तपाईले देखेका समस्या के के हुन नि ?
विपक्षीदलका साथीहरुले जनतालाई धेरै अघि देखि यहाँका समस्या र विकासे कामको उधारा सपना देखाएर आफूले नाफा गरेका छन् अव म त्यसो हुन दिन्न ।
मैले चुनाव जित्नासाथ पहिलो नम्बरमा राजनीतिक पहुँच नपुगे कै कारण सरकारी सेवाबाट बञ्चितहरूलाई राज्यका सेवा सुविधाको पहुँचमा पुर्याउने छु । मत माग्न जाँदा सयौंले मलाई नागरिकता छैन, भनिरहेका छन् । छोराको नागरिकता छ, आमाको छैन, श्रीमानको छ , श्रीमतिको छैन् । बंशजको नागरिकता भएकाले पनि नागरिकता नभए कै कारण राज्यले दिने बृद्धभत्ता औषधि उपचारमा छुट लिन सकेका छैनन । मतदान गर्ने अधिकारबाट बञ्चित छन् ।त्यसैले एक नम्बरमा नगरपालिका र जिल्ला प्रशासनसँग समन्वय गरी नागरिकता टोली गाउँ–गाउँमा पुर्याउने छु । हाम्रो निर्वाचन क्षेत्रमा सडक ,सञ्चार , स्वास्थ्य ,शिक्षाको पहुँच पुगेको छैन । यसका लागि तत्काल योजना बनाएर काम सुरु गर्ने छु । खानेपानीको पहुँच नपुगेको स्थानमा खानेपानी विस्तार गरिने छ । पूर्वमा मावा र पश्चिममा बक्राहाले सयौंलाई उठिवास लगाएको छ । नदी कटान रोक्न तत्काल पहल सुरु गर्नेछु । तर यो समस्याको स्थायी समाधान दीर्घकालिक कार्यक्रम अन्तरगत विज्ञहरूको सुझाव लिएर गर्नेछु ।
०पाँच वर्षे कार्यक्रम अन्तरगत कुन कुन योजना परेका छन् ।
जथाभावि घर, भवन र सपिङ मल निर्माण हुँदा यस क्षेत्रका गाउँ शहरहरू कुरुप भइसकेका छन । त्यसका लागि निश्चित मापदण्ड तयार गर्न नगरपालिका र गाउँपालिकासँग समन्वय गरिने छ । कम्तीमा दमकल पूगेर सजिलै फर्किने गरीको सडकको ब्यवस्था नगरि प्लटिङ गर्न दिइने छैन । खेती योग्य जग्गामा प्लानिङ गर्ने कार्य रोकिने छ । भूगोल र माटो अनुशार किसानलाई खेतीको प्रवन्ध मिलाइने छ । उर्लाबारीमा मौरीपालन,च्याउखेती र तरकारी खेतीको सम्भावना देखिएको छ । राजघाटमा दूग्ध ब्यवसायको सम्भावना छ । मिक्लाजुङमा पर्यटन उद्योगको सम्भावना छ । मिक्लाजुङमा होम स्टेको राम्रो सम्भावना देखिएको छ । यसका लागि अलग अलग जोन को ब्यवस्था मिलाइने छ । भारतीय सीमासँग जोडिएको बरडंगादेखि आम्बारी,इटहरा,उर्लाबारी मधुमल्ला हुँदै रबि जोड्ने सडक यस क्षेत्रको विकासका लागि निर्माण गर्नुपर्ने देखिएको छ । यो निर्वाचन क्षेत्रको विकासका लागि यो सडकले पाँचथरको रविसँग भारतलाई जोड्न सके उर्लाबारी ब्यापारीक हवका रुपमा विकसित हुँनेछ । पञ्चायतको पालादेखि यो सडक निर्माणको मुद्धा चुनावमा आउने गरेपनि सपनामात्र बनेको छ । यो सडकलाई कालोपत्रे गरेर विकासको मुल फुटाउन लागि पर्नेछु ।
०दश वर्षे कार्यक्रम अन्तरगत कुन कुन योजनालाई राख्नु भएको छ ।
–हेर्नुस , काम त सभासद हुने बित्तिकै गर्न मन लाग्ला नि, तर हामी कहाँ सिमित स्रोत साधन हुन्छ । हामी संघीयता कार्यान्वयनको प्राथमिक चरणमा छौं । हिजो मात्र प्रदेश सभाको काम कर्तव्य सम्बन्धि ऐन तयार भएको छ । क्षेत्राधिकार तोकिएला , प्रदेश – नगर र गाउँको सम्बन्ध कस्तो हुने त्यो विषय अझै आइ सकेको छैन । यद्यपि हाम्रो निर्वाचन क्षेत्रमा रहेकोे मंगलबारे अस्पताललाई स्रोत सम्पन्न बनाइने छ । उर्लाबारीलाई दुख दिने पूर्व र पश्चिमका खोलाको स्थायी तटबन्ध गरिनेछ ।
० निक्कै महत्वकांक्षी योजना छन, कार्यान्वयनमा कठिनाई हुन्न ?
मैले अघि नै भने स्रोत साधन सिमित छ भनेर । सपना नै नदेख्ने हो भने फेरि पनि उर्लाबारीको मुहार फेरिन्न ? तर यो सपना मात्र होइन, यहाँ मतदातालाई विश्वास दिलाउँछु । चीनलाई विकासको मार्गमा ल्याउने नेताको रूपमा देङ सियाओ पिङ, सिंगापुरमा ली क्वान यु, मलेसियामा महाथिर मोहम्मदको नाम लिने गरिन्छ । उनीहरूले सपना देखेकै कारण आज चिनीयाँ,सिंगापुरे र मलेसियनहरू समृद्ध बने । अझ २२ बर्ष द्वन्द्वमा फसेको रुवान्डालाई ५÷७ वर्षमा पल कगामेले काँचुली फेराएका छन् । असम्भव केही देख्दिन पल कगामेले मानव कंकाल माथि समृद्ध शहर बसाए भने हामीले नसक्ने कुरै भएन । हामी कहाँ केही बिग्रेको छैन । मात्र ईच्छाशक्ति चाहिन्छ ।
,
० यो निर्वाचन क्षेत्र त एमालेको ‘गढ’ भन्छन नि ? यस्तो ठाउँमा चुनाव जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
–गढ, पकेट क्षेत्र भनेको स्थायी रुपमा रहने विषय होइन । हो, यस अघिका २०४९ र २०५४ स्थानीय चुनाबमा एमालेले चुनाव जितेकै हो । तर संविधानसभा २०६४ मा एमाओवादी जित्यो । २०७० मा हामीले जित्यौं ,फेरि स्थानीय तह निर्वाचनमा उर्लाबारी हामीले जित्यौं, मिक्लाजुङ थोरै भोटले गुमायौं । नेता त हामी कहाँ स्थिर छैनन् , मतदाता कसैका पेवा हुने कुरै भएन । दुई किलो चिनी र जिरा मसला किन्न भारतको जोगवनी र पानीट्याङ्की धाउने अनि चोकमा बसेर राष्ट्रवादी कुरा गर्ने विपक्षी साथीहरूको नियत मतदाताले बुझिसकेका छन् । एमालेको माछा हुँदा दुलो भित्र हात, सर्प हुँदा दूलो बाहिर हात प्रवृति छ । यो क्षेत्रका मतदाता कसैको खल्तीमा राखेको सुपारीका टुक्रा होइनन, ता कि चाहेको बेला निकालेर कुटुक्क पार्न पाइयोस । जिताउने जिम्मा पार्टीको हातमा छैन । कुल मतदाताको २० प्रतिशत विभिन्न पार्टीका कार्यकर्ता होलान ,बाँकी त स्वतन्त्र ब्यक्ति छन । जनताले अब भरोसा खोजेका छन् । त्यो हामी दिन सक्छौं भन्ने मेरो दावी हो । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक संघीय संसदको चुनाव हुँदैछ । परिवर्तन पछिका युवाहरू बिगत भन्दा पनि भविष्य कसरी सुरक्षित हुन्छ भन्ने सोचिरहेका छन् । ति युवाहरू कांग्रेसको पक्षमा मतदान गर्न पर्खिरहेका छन् भन्ने कुरा अहिलेको जनलहरले देखाइरहेको छ ।
०अब त बाम गठबन्धन भएको छ , चुनाव जित्न गाह्रो हुँदैन ?
–बाम गठबन्धनले केही अप्ठ्यारो होला , तर यो एकता तल्लो स्तरका कार्यकर्ता लेवलमा भएको एकता होइन । अलि बढी मेहनत गर्नुपर्ला तर चुनाब कांग्रेसले जित्ने पक्का हो ।