मोरङका स्थानीयवासी हुन्,डा. सुनिल शर्मा । विराटनगरमा नोवेल मेडिकल कलेजको पूर्व प्रबन्धक निर्देशक समेत रहेका उनी आगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाका लागि नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार हुन् । वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका भानुभक्त ढकालसँग उनको कडा प्रतिस्पर्धा हुँदै छ । विगत देखि स्वास्थ्य क्षेत्रमा रहेर गरिब तथा विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा र निःशुल्क स्वास्थ्य सम्बन्धी शिक्षा दिँदै आएका शर्माले आगामी निर्वाचनमा आफूले उम्मेदवारी दिनुका कारणहरू उर्लाबारी पेजसँग खुलेर कुरा गरे :
कुराकानीलाई अगाडि बढाउनुपूर्व उनी भन्छन् – म यहाँको माटोमा जन्मिएको, हुर्किएको स्थानीय बासिन्दा हुँ । अहिले मलाई देख्नेले महसुस गर्न सक्छ ,यो कुनै माथिल्लो स्तरको परिवारको व्यक्ति होला । तर, म दुई छाक भात खान धौँ धौँ पर्ने परिवारबाट आफ्नो जीवनलाई उकास्दै यहाँसम्म ल्याइ पुर्याएको छु । झुपडीमा बस्ने, बगरमा गिटी चालेर जीवन यापन गर्ने मानिसको समस्या मैले बुझेको छु । किनकि कुनै बेला मैले पनि ती कामहरू गरेको थिए । जो सुकैले जे भनेपनि मान्छेको सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको आर्थिक, शैक्षिक र स्वास्थ्य हो ।
को हुन्, सुनिल ?
म गरिब तथा विपन्नहरुको पिडामा यस अघि पनि सेवा गर्दै आएको छु । नोवेल मेडिकल कलेजमा अहिले पनि जानु भयो भने यहाँका मात्र होइन पूर्वका विभिन्न भेगका सयौँ गरिब मान्छे निःशुल्क उपचार पाइरहनुभएको छ । मलाई यहाँको बासिन्दा पीडा थाहा छ र मैले भित्रैबाट महसुस गरिरहेको छु । त्यसका साथै विकास निर्माणको पाटोमा यहाँका ठुला सडक कालोपत्रे गर्नेदेखि लिएर कृषि क्षेत्रमा पनि लगानी बढाउने वातावरण बनाउने मास्टर प्लान बनाएको छु । अब, मैले आफ्नो क्षमता प्रदर्शनी गर्ने दिन आएको छ । यसकारण म चुनावी मैदान उत्रिदै छु । यसो भनिरहदा, मैले परिकल्पना गरेको अर्को कुरा अहिले धेरैले नपत्याउनु स्वभाविकै हो । तर, हिरो भनेको अन्तिममा आउँछ । हाल यहाँका ८५ प्रतिशत मान्छे कृषिमा आश्रित हुनुहुन्छ । यसकारण याक्चना घाटको आसपासमा तमोरमा ड्याम बनाएर तमोरबाट २०÷२५ किलोमिटरको टडेल बनाएर लोहन्द्रालगायतका खोलाबाट एकै साथ यस क्षेत्रका कृषि योग्य जमिनको सिचाई र विद्युत् उत्पादन गरेर ठुलो आम्दानी गर्न सकिन्छ । अर्को कुरा यहाँ सिमिसार क्षेत्र छ । सिमसारलाई व्यवस्थित गर्न सकियो भने पोखरा भन्दा बढी पर्यटक तान्न सकिन्छ ।
म एउटा व्यवसायी पनि हु । जो कोहिँले केही न केही व्यवसाय नगरी जीवन धान्न सकिँदैन । म नेपाली काँग्रेसको राजनीतिमा लामो सयमदेखि काम गर्दै आएको छु । हाल नेपाली काँग्रेसको महासमिति सदस्य पनि हुँ । सञ्चार माध्यममा छाएर राजनीति गर्नु मात्रै सर्वैसर्वा ठान्दिन । यसकारण जो कोहीँ मप्रति अनभिज्ञ हुनु सामान्य नै ठान्छु । होला जो कोहीलाई ‘फ्रन्ट’मा देखिएर राजनीति नगर्नाले फरक लागेको हुन सक्छ । तर, मलाई त्यस्तो लाग्दैन । समाज विकास त सञ्जालमा छाएर गरिँदैन,आफ्नो क्षमता र विवेकले राजनीति गर्ने हो र कसैले उचालेको भरमा पनि राजनीति गरिँदैन । सायद यस्तै स्वभावले होला म पनि सामाजिक सञ्जालमा छाइन तर पार्टीमा आफ्नो क्षमता प्रदर्शन गर्न थाकेको छैन । केही समयअघि माओवादीसँग भएको १२ बुँदे सहमतिलाई नियाले र सल्टाए पनि । सुधिर शर्माको प्रयोगशाला पुस्तकमा पनि मेरो बारे केही चर्चा गरिएको छ । त्यस वेला गोप्य तर औपचारिक वार्ता गराउने क्रममा मैले आफ्नो भूमिका निर्वाह गरे । त्यस्तै, कृष्ण सेनदेखि डा. शेखर कोइराला, गोविन्द राज जोशीको पहलमा भएकोे पहिलो र दोसो चरणको वार्तामा दुवै तर्फका केन्द्रीय नेतालाई वार्ता गराउने काममा पनि खटिए ।
टिकट सबथोक होइन
टिकट पाउनु सबथोक होइन । टिकट पाउने खुवी कत्ति छ ? त्यो नै महान् कुरा हो । टिकट पाउदैमा के समाज परिवर्तन हुन्छ ? हुँदैन नि हैन । यसकारण सामाज हिँडाउने आफूसँग कस्तो तागत छ । त्यहीँ नै हो टिकट । यसकारण पार्टीबाट टिकट पाउँन गाह्रो भएन । सबैले सर्वसम्मतीमै टिकट उपलब्ध गराउनुभयो । अब, टिकटको सदुपयोग कसरी गर्ने त्यो मैले मात्र होइन सम्पूर्ण उम्मेदवारले बुझ्नुपर्ने यहीँ हो जस्तो लाग्छ । यसअघि मैले समाजमा पुर्याएको योगदानले नै आज मैले समाजका लागि केही गर्ने अवसर पाएको छु । यसकारण पार्टीलाई एक ठाउँमा राखेर मैले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका आएको छ ।
मेरो उम्मेदवारी किन ?
मैले अघि पनि जानकारी गरिसकेको छु । मैले आफ्नो क्षमता र देखेर सिकेको अनुभव लागू गर्नु पर्ने बेला आएको छ । यहाँ लामो समयदेखि कम्युनिष्टहरुले जित हासिल गर्दै आएको क्षेत्र हो । भरतमोहन अधिकारीको पालादेखि हालसम्म कम्युनिष्टहरुलाई यहाँका जनताले जिताउँदै आउनु भएको छ । तर, विकास केही भएको छैन । यहाँका मानिसमा मनन गर्ने केही काम भएको छैन । साँच्चै भन्ने हो भने,अहिलेसम्म यहाँको विकास कहाँनेर देखियो ? यहाँका जनता कतिले रोजगार पाए ? कति अभिभावकका छोरा छोरीले गुणस्तरिय शिक्षा पाए ? यो विषयले मलाई पछि हट्न लगाएन । र, यसैका लागि मैले आफ्नो उम्मेदवारी दिए ।
नोवेलको परोपकारी सेवा
नोवेल मेडिकल कलेजले अहिलेदेखि होइन ५÷६ वर्ष अघिदेखिनै पूर्वका विभिन्न गाउँमा पुगेर हप्तामा तीन पटक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । पूर्वका कुनै पनि वडामा नोवेलका चिकित्सक नपुगेको ठाउँ छैन । त्यसको तथ्याङ्क अस्पतालसँग छ । जो कोहीले हेर्न सक्नु हुनेछ । सोलुखुम्बुदेखि धनकुटा, सङ्खुवासभा, ताप्लेजुङलगायतका पूर्वका जिल्लाका सबै गाविसमा हामीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका छौँ । अहिले फेरि अन्यत्र पनि सेवा पुर्याउनुपर्ने भएकोले स्वास्थ्य शिविरको टोली केन्द्रित बनेको छ । तर, यो चुनाव जित्नका लागि ल्याएको कार्यक्रम भने होइन । र, नोवेल मेडिकल कलेज हिजोदेखि नै परोपकारी काम गर्दै आएको छ र भोलि पनि गर्नेछ । नोवेलको यो सिस्टम भावी पुस्ताले अँगाल्ने छन्, जहाँ परोपकारीको भावना सिकाइनछ ।
तीन सय विद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा
मैले नोवेल मेडिकल कलेज सञ्चालनकाल देखिनै च्यालेन्जको सामना गर्नु प¥यो । मेरो उद्देश्य के हो ? सबैले आ आफ्नै तरिकाले परिभाषित गरे । सबैका आफ्नै उद्धेश्य हुन्छन् र जुन उद्देश्य लिएर योजना बनाइन्छ त्यसमा अवरोध हुने स्थिति भयो भने त्यसलाई रोक्नु त्यस भित्रका एकथरि मान्छेका जिम्मेवारी पनि देखिने रहेछन् । मैले कालीकोटमा बोरा ओडेर बोरा ओछ्याएर विताएका रातदेखि फाइभ स्टारका होटलसम्मको अनुभव सम्हाले । यसो भनिरहँदा लाग्न सक्छ, मैले सुनाएका यी कुराहरू योजना चुनावी प्रोपोगाण्ड हो । तर, सुनिल शर्मालाई काम गरेर देखाउँछ । हाल गरिब परिवारका तीन सय विद्यार्थीलाई मेडिकल कलेजमा निःशुल्क स्वास्थ्य शिक्षा दिने योजना बनाएको छु । त्यो पुरा गरेर देखाउँछु । यस्ता कदमहरू चाल्ने क्रममा मलाई कति पय ठाउँमा विवादमा ल्याउने काम पनि गरियो तर, म गलत थिइँन । भनिन्छ नि, सत्यको सधैँ जित हुन्छ । मलाई आफ्नो सच्चाई बुझाउन समय लाग्यो होला तर गलत साबित भइन ।
लिस्ट बाडिदिन्छु
निःशुल्क स्वास्थ्य शिक्षा पढाएको विषयमा फाइदा घाटासँग दाँजेर हेर्नु नै पहिलो हाम्रो मस्तिष्कमा कति चेतना छ ? राम्रो गर्नेलाइए यो समाजमा स्थानै दिइदैन । अलिकति भावुक बन्यो भने यो समाजमा बाँच्न मुस्किल छ । झुपडीको पिडा थाहा नहुँनेहरुले यस्तो सोचिहाल्दारहेछन् । झुपडीका मान्छेले ठुलो डाक्टर होइन असल डाक्टर बन्ने सपना बुनेका हुन्छन् । अहिले म ती मेरा बाल्यावस्थाका सपनाहरू पनि बेला बेला सम्झिन्छु अनि झस्किन्छु । त्यसपछि गरिब र झुपडीमा पुग्छु पुग्न नसकेको ठाउँमा खबर पठाउँछु । गरिब अभिभावकका बच्चालाई उपचारका लागि यहाँबाट डाक्टर पनि पठाएको छु । यसकारण मैले यो मोरङको लागि मात्रै होइन मसँग सम्पर्क भएका र गरिब तथा विपन्न परिवारका बाल बच्चालाई हिजो पनि पढाउँदै आएको छु र आज पनि पढाइ रहेको छु, भोलि पनि पढाउने छु । मुसहर, झाँगड, सतार, दलित परिवारका गरिब जनतालाई पढाउँदै आएको छु । आगामी तीन वर्ष भित्रमा तीन सय जना यस्ता विद्यार्थीलाई निःशुल्क पढाउँछु । तीन वर्ष पछि फेरि भेट्नु भयो भने को को पढाएँ भनेर सबैलाई लिस्ट नै बाँडिदिने छु ।
भोट चाहिएको होइन
मलाई भोट होइन मोरङबासीको साथ चाहिएको छ । मोरङ क्षेत्र नम्मर ३ लाइ कसरी नमुना क्षेत्र बनाउन सकिन्छ । जसले भोलि पुरै राष्ट्रको समृद्धि र विकास हुनेछ । यसकारण मैले कति भोट पाउछु त्योसँग सरोकार रहँदैन, मैले कतिसँग यो क्षेत्रको विकासमा अघि बढ्न साथ पाउछु त्यो नै मेरो लागि भोट हो । आज मेडिककल कलेज माफर्त हामीले जुन सेवा दिँदै आएका छौँ । अबको योजना भनेको राज्यलाई घच्घच्याएर जनताका लागि थप सेवा उपलब्ध गराउने रहेको छ । त्यस्तै, नोवेलबाट तीन वटा शाखा खोल्ने पनि योजना अघि बढाइसकिएको छ । अब चाँडै नै वेलवारी, कानेपोखरी र पथरीमा २५÷२५ वेडका तीन वटा हस्पिटल सञ्चालनमा आउदैँ छ । यो मेरो प्रतिबद्धता हो । स्वास्थ्य बिमा कार्यक्रममा नेपाल सरकारले जति गर्छ त्यो बराबरको स्वास्थ्य बिमा मेरो व्यक्तिगत र नोवेल मेडिकल कलेजको तर्फबाट दिन तयार छु । मैले यहाँको जनताको लागि सरकारतर्फबाट ५० हजार र ५० नोवेलको तर्फबाट बिमा गराउने प्रतिबद्धता जनएको छु । साथै,यस क्षेत्रका हरेक मान्छेको एक लाखको बिमा हुनेछ । यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम बनाउने छु । त्यसको लागि अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग पनि कुरा अघि बढाइसकेको छु ।
किन चन्द्रबहादुरलाई माइनस ?
एउटा कुरा हामीले मरे पनि बिर्सनु हुँदैन, कार्यकारी पदमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि त्यहाँकै घरेलु माटोमा जन्मिएको हुनु पर्छ । एल्लोपेथिक औषधि उत्पादन गर्ने देशमा जन्मिएको कृत्रिम मान्छेले त्यो पद कसरी सदुपयोग गर्लान् ? यसकारण को कहाँ जन्यियो अनि हुर्कियो त्यसले मात्र त्यस क्षेत्रको दुःख र सुख बुझेको हुन्छ । त्यसैले जनताले पनि अब बुझिसकेका छन् । को चाहिँ घरेलु हो भनेर । म यही माटोमा जन्मिएको, हुर्किको मान्छे भएको नाताले मैले यो भन्ने पर्ने विषय हो किनकि मलाई यहाँको माटोको माया छ । कसैले गिद्धे नजरले हेरेको सहन सक्ने मसँग त्यस्तो मुटु छैन । अर्कातिर, अहिले मैदानमा वामपन्थी गठबन्धनले मसँग टक्कर गर्दै गरेको समाचार सुनेको छु । तर, मलाई टक्कर गरेको जस्तो लाग्दैन । किनकि म यहाँको रैथाने हु । त्यसैले १९४३–१९४५ मा चीनको कम्युनिस्ट मुभमेन्टलाई हेर्न हाम्रो प्रतिस्पर्धी कम्युनिस्ट साथीहरूलाई पढ्न अनुरोध गर्दछु । त्यहाँ पनि माओत्से तुङले च्याङ काई सेसँग हात मिलाएका थिए । च्याङ काई सेका विरुद्धमा चिनिया कम्युनिस्ट पार्टी जन्मिरहेको थियो । तर, जब जापानीजहरुले चाइनिजमाथि दमन गरे । त्यति बेला राष्ट्रियताको नारामा एक भए । त्यसैले मलाई के विश्वास छ भने, यत्रो ठुलो इतिहास पढेर आउनु भएका कम्युनिस्ट साथीहरूले जन्म भूमिको कुरा छ, भूमि पुत्रको कुरा छ । बाहिरबाट हेलिकप्टरमा चढाएर, प्यारासुटमा झारेर एमाले माओवादीका साथीहरूले तेह्रथुमका भानुभक्त दाइलाई उठाउनु भएको हल्ला छ । पार्टीले यहाँ भएका सच्चा कम्युनिस्ट राजनीतिका चन्द्रबहादुर राईलगायतका हस्तीहरुलाई माइनस गर्ने काम गर्नु भएको छ । यसकारण भानुभक्त दाइलाई प्रश्न गर्न चाहन्छु –‘किन चन्द्रबहादुरलाई माइनस गरियो ?’ अब सोचौँ को हो यहाँको पिर मर्का बुझ्ने व्यक्ति ? अनि म पनि अरुझै चुप लागेर बसू ? यसकारण पार्टीले यहाँका हस्तीहरुलाई नपत्याएर बाहिरबाट कृत्रिम व्यक्तिलाई उम्मेदवार बनाएको छ । यो बेलामा यहाँका आम मतदाताले निर्णय लिने नै छन् । यसकारण यहाँ सिरहाको जस्तो परिस्थिति नआउनका लागि पनि मलाई यहाँको जनताले साथ दिनु हुनेछ ।