उर्लाबारी, २३ कार्तिक दिगो सरकार र समृद्ध शहर निर्माणका लागि अब वामपन्थी गठबन्धनलाई जिताउनुको विकल्प नरहेको नेताहरुले बताएका छन् । नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिक्लाजुङ गाउँपालिकाको बिहीबार संयुक्त भेलालाई सम्बोधन गर्दै नेताहरुले अब वामपन्थी उम्मेद्वारहरुलाई जिताउने अर्जुन दृष्टि राखेर पार्टी कार्यकर्ताहरु लागि पर्नु बताएका हुन् । पाँच बर्षसम्म वामपन्थीको सरकार बन्यो भने मात्र देश समृद्ध बन्ने बताउँदै उनीहरुले यो एमाले र त्यो माओबादी भनेर घातप्रतिघात गरिए ५० औं बर्षसम्म वामपन्थीहरु पछुताउनुको विकल्प नरहेको बताएका छन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य डिल्ली शर्मा अधिकारीले वामपन्थीहरुको गठबन्धनको नेतृत्वमा मात्रै परिर्वतन सम्भव रहेको उल्लेख गर्दै वामपन्थी उम्मेद्वारहरुलाई दुई तिहाई बहुमतका साथ विजयी गराउनु पर्नेमा जोड दिएका छन् । वाम गठबन्धनबीच भएको चुनाबी तालमेललाई मोरङ क्षेत्र नं. १ बाट उदाहरणीय बनाउन नेता तथा कार्यकर्ताहरु आ–आफ्नो ठाउँबाट जुट्नु पर्ने उनको भनाई छ । एमाले र माओबादीका उम्मेद्वारहरुको जीत नै वामपन्थीहरुको जीत भएकाले इमान्दार भएर आफ्ना उम्मेद्वारहरुलाई जिताउनु लागि पर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन् ।
त्यस्तै, कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेद्वार घनश्याम खतिवडाले एमाले र माओबादीका कार्यकर्ताहरुले अब चुनाव केन्द्रीत भएर लागि पर्नु पर्नेमा जोड दिएका छन् । मोरङ क्षेत्र नं. १ लाई वामपन्थीको किल्लाको रुपमा स्थापित गराउन सबै लागि पर्नु पर्नेमा उनको भनाई छ । ‘घनश्याम, कुशल र उपेन्द्र प्रतिनिधि पात्र मात्र हुन् भोली चुनाव जित्यो भने तपार्इंहरु सबैको जीत हुने छ’– उनले भने–‘हामी जनताको काम गर्नका लागि उम्मेद्वार बनेका छौं, जिताउने वा हराउने त्यो तपाईहरुकै जिम्मा हो ।’ त्यस्तै, मोरङ क्षेत्र नं. १ क प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साँवा (कुशल लिम्बू) ले अब वामपन्थी पराजित हुने सम्भावना नै नरहेको जिकिर गरेका छन् । ‘टुक्राटुक्रामा रहेका वामपन्थीहरु एकजुट भएका छौं’ उनले भने–‘अब पनि हामी पराजित भयौं भने चुनाव कहिले जित्ने ?’ चुनाव सतप्रतिशत जित्ने रणनीति अनुसार चुनावी गतिबिधि अगाडि बढाउनु पर्नेमा उनले जोड दिएका छन् ।
कार्यक्रममा नेकपा एमाले मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, संगठन विभाग प्रमुख रुपेश खतिवडा, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबी आचार्य, नेकपा माओबादी केन्द्रका केन्दीय सदस्य प्रेम मिभक, केन्द्रीय सल्लाहकार रामकृष्ण राईलगायतले अब वामपन्थी उम्मेद्वारहरुलाई जिताउन आम कार्यकर्ताहरु कम्मर कसेर लाग्नु पर्नेमा जोड दिएका छन् । एमालेका जिल्ला सदस्य नगेन्द्र ढुंगेलको सभापतित्वमा भएको उक्त भेलाले दिनेश पौडेलको संयोजकत्वमा ८६ सदस्य निर्वाचन परिचालन कमिटी गठन भएको छ । जसको सह–संयोजकमा डिललीप्रसाद खतिवडालगायत रहेका छन् । त्यस्तै, डिल्ली खतिवडाको संयोजकत्वमा १ हजार ३ सय १५ सदस्य प्रचारप्रसार समिति गठन भएको छ । जसको सह–संयोजक अम्मर राई रहेका छन् । त्यस्तै, मिक्लाजुङ १ मा उमेश राई, २ मा गौरी राई, ३ मा चन्द लिम्बू, ४ मा बुद्धिमान लिम्बू, ५ मा शंकर बजगाई, ६ मा थिरबहादुर मगर, ७ मा दद्वीराम भण्डारी, ८ मा रुद्रबहादुर बस्नेत र ९ मा कवीराज बस्नेतलाई संयोजक तोकिएको छ । संयोजकको नेतृत्वमा वडा स्तरमा चुनाव प्रचारप्रसार गरिने जनाइएको छ । त्यस्तै, गणेश भट्टराई संयोजक र विनोद दर्नाल सह–संयोजक रहेको ११ सदस्यीय युवा परिचालक समिति गठन भएको छ ।