सुयर्माराज राई –नेपाली कांग्रेसका तर्फबाट मोरङ– ३ मा प्रदेशसभा ‘क’को उम्मेद्वार हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा लागेका राईको तीन पुस्ताले कांंग्रेसको झण्डा बोकिसकेको छ । मोरङ कांग्रेसको सदस्य समेत रहेका ४० वर्षीय राईले विद्यार्थीकालमा धरानबाट प्रकाशित हुने अखवार साप्ताहिकको सम्पादन समेत गर्न भ्याए । २ वर्ष प्राध्यापन गरेपछि केही समय क्याम्पस प्रमुखको जिम्मेवारी गनृ भ्याएका राई नेपाली विषयमा स्नातकोत्तर हुन ।सुयर्माराज राई –नेपाली कांग्रेसका तर्फबाट मोरङ– ३ मा प्रदेशसभा ‘क’को उम्मेद्वार हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा लागेका राईको तीन पुस्ताले कांंग्रेसको झण्डा बोकिसकेको छ । मोरङ कांग्रेसको सदस्य समेत रहेका ४० वर्षीय राईले विद्यार्थीकालमा धरानबाट प्रकाशित हुने अखवार साप्ताहिकको सम्पादन समेत गर्न भ्याए । २ वर्ष प्राध्यापन गरेपछि केही समय क्याम्पस प्रमुखको जिम्मेवारी गनृ भ्याएका राई नेपाली विषयमा स्नातकोत्तर हुन । राजनीतिमा आएसँगै विकास निर्माणका काममा पनि हात हालेका राई सुकुम्वासी समस्या र बाढी नियन्त्रणमा अर्जुन दृष्टि लगाएर काम गर्ने प्रतिवद्धता जन जनको दैलोमा पुगिरहेका छन् । निर्वाचनकै सेरोफेरोमा राईसँग गरिएको कुराकानीको सार संक्षेप ।
०टिकट पाउन निक्कै मेहनत गर्नु पर्यो नि ?
कांग्रेस ठूलो पार्टी, ७० वर्षको इतिहास छ । ५ लाख त क्रियाशील सदस्य छन् । कार्यकर्ता हरेक बर्ष बढेको बढ्यै छन । टोल, वडा, गाउँ, नगर ,क्षेत्र, जिल्ला केन्द्रमा एक से एक योगदान गरेका नेता कार्यकर्ता छन् । सबैको आ– आफ्नो भुमिका छ । यत्रो विशाल संगठनमा टिकट बाढ्ने विषय आफैमा चुनौति पूर्ण थियो । त्यसैले आकांक्षी हुन् स्वाभाविकै हो । राजनीतिमा कोही जोगी बन्न लागेका हुँदैनन । प्रतिस्पर्धाका बीच पनि हामी कहाँ सहमति र सहकार्य कै आधारमा उम्मेद्वार चयन भएको छ । सुरुमा पार्टीमा सामान्य अन्तर बिरोध देखिए पनि अब हामी एक जुट भएर लागेका छौं ।
०टिकटका प्रतिस्पर्धीहरूको सहयोग पाउनु होला त ?सहयोग पाउने बिषयमा कुनै द्धिविधा छैन । म अग्रजको आशिर्बाद र युवाको सहयोग लिएर हिडेको छु । पार्टीका हरेक सदस्यहरू क्रियाशील भएर लाग्नु भएको छ । हिजो आन्तरिक प्रतिस्पर्धा थियो, होला । तर अब सुयर्माराज राई ब्यक्ति होइन । कांग्रेस हार्दा यहाँ सबै कांग्रेस शुभेच्छुकले हार्ने हुन । जित्दा उहाँहरू सबैले जित्ने हो । पार्टीको आन्तरिक प्रतिस्पर्धा र अन्तरपार्टी प्रतिस्पर्धा बेग्ला बेग्लै विषय हुन । ० उम्मेदवार बन्न भन्दा चुनाव जित्न गाह्रो होला नि , मतदात सँग के भनेर मत मागिरहनु भएको छ ?पक्कै पनि चुनावमा गएपछि हार जीत स्वाभाविकै हो ।तर हामी हार्ने गरी चुनाबी अभियानमा लागेका छैनौं । हामीसँग प्रतिवद्धताको ठूलो आश्वासन छैन । छ, त केवल गर्न सकिने काम छ । ठूलो सपना बाँढेर चुनाव जित्नु छैन । तर दुई वटा काम प्राथमिकताको सूचीमा राखेर गरिने छ । एक चिसाङ, बक्राहा र डाँस खोलामा स्थायी तटबन्ध ,दुई दोहोरो स्वामित्वको जग्गा ब्यवस्थापन, सुकुम्बासी समस्या समाधान । यि बाहेक गर्नु पर्ने थुप्रै काम छन् । बिकास निर्माणका काम छन् । ति कामहरू निरन्तर भएके छन् । शिक्षा स्वास्थ्यको समस्या छ , त्यो पनि क्रमश सम्बोधन हुनेछ । तर मेरो अर्जुनदृष्टि सुकुम्बासी समस्या समाधान र खोला नियन्त्रणमा हुनेछ ।
० किन ,नदी नियन्त्रण र सुकुम्बासीका समस्यालाई प्राथमिकतामा राख्नुभयो ?
हेर्नुस, पार्टीको केन्द्रीय घोषणा पत्रमा उल्लेख भएका विकास निर्माणका विषय त छँदैछन् । यहाँको स्थानीय समस्या नै मैले उठानका गरेका दुइटा समस्या हुन । तपाईलाई पनि थाहा होला पञ्चायत कालमा पनि दोहोरो स्वामित्वको जग्गा ब्यवस्थापनको मुद्दाले पञ्चहरूले चुनाव जिते । बहुदलमा एमाले र माओवादीले चुनाव जिते । तर खोई काम भएको ? खोई कसका हातमा लालपूर्जा छ ? आज लालपूर्जा नभएका नागरिकको निर्वाचन क्षेत्र भनेर हामी चिनिएका छौं । म स्वयं सुकुम्बासी हुँ ।तर मेरो नाममा जग्गा छ । चिसाङ खोलाले सबै जग्गा बगाएर म सुकुम्बासी बनेको हुँ ।खुकरीको चोट अचानोलाई मात्र थाहा हुन्छ ।खोलाको कटान नियन्त्रण गर्न सकिएन भने बर्सेनि म जस्ता सुकुम्वासी थपिदै जाने निश्चित छ । अर्को कुरा २०३५ साल देखि बसोवास गरेका हजारौं दाजुभाइ दिदीबैनी आज पनि सुकुम्बासी हुनुहुन्छ । बाबु बाजे सुकुम्बासी, छोरो सुकुम्बासी आज नाति पनि सुकुम्वासी । यो कस्तो नियति हो ? ३५ वर्ष यता एउटै एजेण्डा छ , जब चुनाव आउँछ , अनि कम्युनिष्टहरू हामी गरिवको पार्टी तपाईहरू पनि गरीव नागरिक । हामी तपाईलाई लालपूर्जा दिन्छौं भनेर मत माग्छन । तर उपलब्धि खोई ?कति वटा आयोग बने तर जनताको काम हुन सकेको छैन । पैसा नहुने हरुले कहिले लालपूर्जा पाउँने ?हामी वर्षौ देखि ढाँटिएका पथरीशनिश्चरे, कानेपोखरी र बेलबारीका भुमिहीन नागरिकलाई जग्गाको मालिक बनाउँछौं ।
० तपाई आफू बाढी पीडित भएकोले अरु विकासका कामहरू ओझेलमा पर्ने भए भन्ने बुझ्नु पर्ने हो ?
त्यसरी पनि नबुझौं , मैले हिजोका दिनमा नागरिक र समूदायका लागि धेरै काम गरेको छु । मेरो पहलमा विपन्न वर्गको सिंगो धिमाल वस्तीमा सौर्य उर्जा जडान भएको छ । दलेली र होक्लाबारीलाई जोड्न चिसाङ खोलामा झोलुङ्गे पुल बन्ने पक्का भएको छ । नदी नियन्त्रणका लागि तार जालि उपलब्ध गराएको छु । चाहे कांग्रेस सरकारमा होस या नहोस । काम गर्न चुनाब नै जित्नै पर्न भन्ने होइन ,तर चुनाव जितेपछि जनताका काम सरकारी स्रोत साधनबाट गर्न सकिन्छ । हेर्नुस ,भूगोल र माटो अनुशार किसानलाई खेतीको प्रवन्ध मिलाउन सकिन्छ ।हाम्रो निर्वाचन क्षेत्र बाख्रापालन र पशुपालनका लागि उपयुक्त क्षेत्र हो । मासुमा मात्र परनिर्भरता अन्त्य भयो भने वार्षिक २० अर्ब रुपियाँ जोगिन्छ । ब्यावसायिक तरकारी खेतीको सम्भावना छ । तरकारी खेतीका लागि विशेष क्षेत्र निर्धारण गर्न सकिन्छ । हामी कहाँ एउटा रंगशाला सम्म छैन । त्यसका लागि सम्भावना बोकेका ठाउँको अध्ययन गरी तत्काल रंगशालाको स्तरोन्नति गरिने छ । यत्रो जनसंख्या भएको निर्वाचन क्षेत्रमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छैन । सामान्य विरामी पर्दा उपचारका लागि ठूला शहर पुग्नु पर्ने बाध्यता छ । कम्तीका १५ शैय्याको तीन वटा अस्पताल निर्माण गर्ने कुरा प्रतिनिधि सभा उम्मेद्वारले उठाइ रहनु भएको छ । एउटा प्राविधिक शिक्षालय छैन ,त्यसको स्थापना गरिने छ । पर्यटकीय सम्भावना बोकेका धेरै ठाउँ छन । भूल्के सीमसार, कालीकोशी सीमसार, भलुवा सीमसारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । कानेपोखरी आफैंमा ऐतिहासिक महत्वको छ । यसलाई पर्यटकीय केन्द्रका रुपमा विस्तार गरिने छ । कांग्रेसले राजनीतिबाटै आर्थिक समृद्धिको सपना देखेको छ ।
० चुनाव जित्न साथ गर्ने पहिलो काम के हो नि ?
राजनीतिक पहुँच नपुगे कै कारण नागरिकताबाट बञ्चितलाई नागरिकता बनाउनु पर्ने अवस्था देखें । बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीमा मत माग्न जाँदा सयौंले नागरिकता नभएको गुनासो गर्नु भएको छ । छोराको नागरिकता छ, आमाको छैन, श्रीमानको छ , श्रीमतिको छैन् । बंशजको नागरिकता भएकाले पनि नागरिकता नभए कै कारण राज्यले दिने बृद्धभत्ता, औषधि उपचारमा छुट लिन सकेका छैनन । मतदान गर्ने अधिकारबाट बञ्चित छन् । पहुँच नपुगेकै कारण नागरिकता लिन नसकेकालाई स्थानीय निकायको सहयोगमा घरदैलोमा नागरिकता, वृद्ध,अपाङ्गता, एकल र दलित र सीमाङ्कृत अल्पसंख्यकको परिचय पत्र बनाउने ब्यवस्था मिलाउने छु ।०नागरिकता र परिचय पत्रले नागरिक समृद्ध हुन्छन र ?हुँदैनन । तर यो परिचय पत्र बीना राज्यले दिने सेवा सुबिधा लिन सकिन्न । उपचार सहयोग , बीमा, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न हरेक नागरिकलाई राज्यको मुल धारमा ल्याउनु पर्छ ।त्यसका लागि नागरिकता अनिवार्य छ । अल्पसंख्यक, दलित, आदिवासी र जनजातिहरूका लागि सीप मूलक कार्यक्रम सञ्चालनमा ल्याइने छ । अब मान्छेलाई खानका लागि एक छाक रोटी होइन, जीवन भर बाँच्नका लागि हातमा सीप चाहिएको छ ।
० निक्कै महत्वकांक्षी योजना छन, कार्यान्वयन होला ?
स्रोत साधन सिमित छ । सपना नै नदेख्ने हो भने फेरि पनि विकास सम्भव छैन । २२ वर्ष अघि मेलम्चीको पानी काठमाडौं ल्याउन किसुनजीले देखेको सपना आज पुरा हुँदैछ । तर यो सपना मात्र होइन अबको अनिवार्य आवश्यकता हो । विगतमा एमाले र माओवादीले गरिवको पार्टी भनेर यो निर्वाचन क्षेत्रका बासिन्दालाई गरिव बनाइ राख्ने काम भएको छ । धनी भए भने ,धनीपूर्जा पाए भने जनताले कम्युनिष्ट पार्टी छोड्छन भन्ने डरले कम्युनिष्टहरू त्रसित छन । त्यसैले हामीलाई अवसर दिनुहोस, हामी दोहोरो स्वामित्वको वर्षौ देखिको समस्या सम्बोधन गर्छौ । नदी नियन्त्रण गरेर देखाउँछौं ।अरु कामहरु सामान्य छन् । चीनलाई देङ सियाओ पिङले समृद्ध बनाउने सपना देखे आज चीन विश्वको शक्तिशाली राष्ट्र बन्यो । १५ वर्ष अघिको बिहार र आजको बिहार कति फरक भइसक्यो । हिजो बंगलादेशी हरू हाम्रोमा कृषि मजदुरी गर्न आउँथे , आज उनीहरू आर्थिक रुपमा समृद्ध बनेका छन् । अझ २२ बर्ष द्वन्द्वमा फसेको रुवान्डालाई ५÷७ वर्षमा पल कगामेले काँचुली फेराएका छन् । असम्भव केही देख्दिन, पल कगामेले मानव कंकाल माथि समृद्ध शहर बसाए , हामी कहाँ त द्वन्द्वका नाममा १७ हजार त मारिएका हुन नि .....। हामी कहाँ केही बिग्रेको छैन । मात्र ईच्छाशक्ति चाहिन्छ । ,
० प्रसंग बदलौं ,चुनाव त महँगो हुन थाल्यो भन्छन नि ,कति खर्च छुट्याउनु भएको छ ?
– खर्च छुट्याउने भन्ने कुरै आउँदैन । म आफैं पनि गरीव मान्छे । मेरो भए भरको सबै जग्गा यसै वर्षको बाढीले बगायो । म सुकुम्बासी हुँ । बिचारले समाजबादी हुँ ,तर आर्थिक रुपमा म सम्पन्न छैन । उम्मेद्वार भइएला भनेर खर्च छुट्टयाउने कुरा भएन ।चुनाव खर्चिलो मँहगो जे भएपनि समय अनुसार चल्नुपर्छ । हिजो चिठ्ठी बोकेर हिड्ने युग थियो । साइकलमा चढेर हिड्ने जमाना थियो । समयसँगै चुनावको प्रचार प्रसारको प्रकृति बदलिएको छ । हिजो चिउरा ,चाम्रे खाजा खाने चलन थियो, आज खाजाको रुप र रंग बदलिएको छ । त्यही भएर खर्च केही बढी हुने देखिएको छ । यद्यपी कार्यकर्ता,साथीभाइ र दिदी वहिनीहरूको सद्भाव र सहयोगले चुनावमा होमिएको छु ।
०यो क्षेत्र एमालेको गढ मानिन्छ , त्यही माथि बामगठबन्धन भएको छ ? यस्तो ठाउँमा चुनाव जितिएला र ?
–गढ, पकेट क्षेत्र भनेको स्थायी हुँदैनन । नागरिक कसैले डामेर छाडेका साढे होइनन । यस अघिको स्थानीय चुनाबमा एमालेले जित्दैमा उसको गढ मान्नु हुन्न । हो, मैले सुनेको छु,लालपुर्जा नभएका गरिवहरूले गरिवकै पार्टीमा मतदान गर्नु पर्छ भनेर एमाले ,एमाओवादी साथीहरूले भोट मागेको । त्यसो हो भने यहाँका बासिन्दालाई भोटका लागि जहिल्यै गरिव बनाई राख्ने हो ? मैले मतदाताहरूसँग भनेको छु । गरिवीबाट माथि उठ्न कांग्रेसलाई भोट हाल्नुहोस । कांग्रेस गरिवको मित्र हो गरिवीको सत्रु हो । कुल मतदाताको २० प्रतिशत विभिन्न पार्टीका कार्यकर्ता होलान ,बाँकी त निर्दलीय नागरिक छन् । जनताले अब भरोसा खोजेका छन् । त्यो हामी दिन सक्छौं । ससस्त्र आन्दोलन गरेर आएका माओवादी र एमाले बीचको गठबन्धन गाउँ तह सम्म आइसकेको छैन । त्यो गठबन्धन शीर्ष नेता चुनावमा सुरक्षित बन्नका लागि भन्ने सर्वसाधरण सबैले बुझिसकेका छन् ।धेरै युवाहरू कांग्रेसको पक्षमा मतदान गर्न आतर छन् , भन्ने कुरा अहिलेको जनलहरले देखाइरहेको छ ।
०कांग्रेसमा अन्तरघातको ठूलो रोग छ भन्छन नि ?
हाम्रो निर्वाचन क्षेत्रमा अन्तरघात होला भन्ने कल्पना सम्म गरेको छैन ।सबै तह र तप्काका साथीहरू अविछिन्न लाग्नु भएको छ । ८० वर्षका पाका देखि यसैपटक मतदाता बनेका तरुणहरू कांग्रेस जिताउने अभियानमा सक्रिय छन । ढुक्क हुनुहोस , यो पटक कथित लालकिल्लामा चारतारे झण्डा फहराउने छ । ०प्रतिस्पर्धा कुन दलसँग होला ?बामगठबन्धन सँगै हुन्छ , तर हामी २५ सय बढी मत ल्याएर चुनाव जित्छौं । ०अन्त्यमा केही ?राजनीतिक अस्वस्थ्य प्रतिस्पर्धा छोडौं ।विचारमा प्रष्टता,संगठनमा प्रतिवद्धता र नेतृत्वमा एकरुपता देखाउन सके मात्र देश आर्थिक समृद्धि तिर लाग्छ ।न त पहाडिया राष्ट्रवाद ले आर्थिक समृद्धि सम्भव छ न,त तराईसँग टाढिएर सम्भव छ । सानो देशमा उत्तर र दक्षिणलाई मिलाएर लान सक्नुपर्छ । पहिले आफ्नो थैली ढुकुटी दह्रो बनाऔं अनि मात्र अरुसँग प्रतिस्पर्धा गर्न सकिन्छ । परनिर्भरता बढ्नु भनेको हामी गरीव बन्दै जानु हो । बिचार फरक राख्नेहरू बीच आर्थिक समृद्धिको अभियानमा एकताको आवश्यक छ । त्यसो भयो भने साना तिना समस्या आफै समाधान हुँदै जान्छन । सबै नेपाली आर्थिक रुपमा सम्पन्न भएको भए २५ वर्षको अवधिमा यति धेरै राजनीतिक परिवर्तन हुने थिएनन । समस्या गरिवी र बेरोजगारी हो । त्यसैले यि समस्याको सम्बोधन गर्न म प्रतिवद्ध छु । प्रस्तुति –
प्रस्तुतिः हरि कोइराला