काठमाडौं पुस २१ गते ।
किरात राई समुदायको साकेला उधौली पर्व शनिबार टुँडिखेलमा भब्यताका साथ मनाईएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका किराँतीले शनिबार टुँडिखेलमा ‘साकेला ना च’ नाचेका छन् । साकेलाको अवसरमा टुडिखेलमा यस्तै नाचको दृष्य काठमाडौंको टुँडिखेलमा देख्न पाइयो । राजधानी सहरबाट भेला भएका आधुनिक चालढाल र शैलीका राई समुदायका युवायुवतीले साकेलामा खबै रमाइलो गरेको देख्न पाइयो । साकेला नाच्नुका साथै उनीहरु आ–आफ्ना साथीसंगतिसँग रमाएउँदा छाएको रौनक हेर्न लायक रह्यो ।
परम्परागत पहिरनमा सजिएका यस समुदायका युवा युवतिले त साँस्कृतिक पर्वकै झल्को दिएका थिए । करिब १० हजारभन्दा बढी महिला तथा पुरुष उक्त कार्यक्रममा सहभागी थिए । के हो उधौली ,उभौली पैयूँ फूलेको समयमा चरा र खोलाका माछाहरु दक्षिणतिर लाग्ने बेला अन्नबाली भित्र्याउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख समृद्धिको कामना गर्दै उधौली पर्व मनाउने चलन रहेको छ । त्यस्तै गुराँस वा आरु फूलेको याम, जुनबेला चरा तथा खोलाका माछाहरु उत्तरतिर लागेको बेला बाली लगाउने याम मानेर अन्नबाली सप्रयोस्, सहकाल होस् भन्ने कामना गर्दै उभौली पर्व मनाइने गरेको अर्जुन जम्नेली राईले जानकारी दिनुभयो ।
मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ । त्यस्तै, अन्न राख्ने भकारीमा पूजा गर्नु, चूल्होमा कुखुराको बलि दिनु र ढोलझ्याम्टाको तालमा चरा, दुम्सीजस्ता पशुपंक्षीको अनुकरण गर्दै नाच्नु पनि यो पर्वको अर्काे विशेषता रहेको प्राध्यापक कमलजंग राईले बताउनुहुन्छ ।
प्रकृतिलाई खुसी राख्नका लागि किराँत राई समुदाय बाली लगाउने समय पारेर वैशाख पूर्णिमामा उभौली र अन्न बाली घरमा भित्र्याएपछि मंसिरे पूर्णिमामा उधौली पर्व मनाउने गर्छन् । उधौली पर्वमा किराँत राईहरु आफ्नो पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुल खाने, काँचो वनतरुलको टिका लगाउने, बिहान काँचो वनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् ।
प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे । प्रकृतिका पूजारी किरात राई समुदायले प्रकृतिलाई खुसी पार्न साकेला उभौली नाच नाच्ने परम्परा प्राचीन कालबाटै चल्दै आएको हो। खेताबारीमा नयाँ अन्नबाली लगाउने बेलामा सिमेभूमि, खोलानाला, हावापानी जस्ता प्रकृतिको पूजा आराधना गरी कुनै प्राकृतिक प्रकोप नभई खेतबारीमा लगाएको अन्नबाली सप्रियोस् र सबै प्राणीमा सुख शान्ति छाओस् भन्ने कामनासहित उभौली पर्व मनाउने सांकृतिक परम्परा छ ।