संसदीय राजनीतिमा एकछत्र राज गर्दै आएका कम्यूनिष्टलाई ‘ब्रेक’ लगाउँदै नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले उत्तरी मोरङबाट ऐतिहासिक जीत दर्ता गरे । कम्यूनिष्टको गढ भत्काउँदै लिम्बू ०७० मंसिर ४ गते भएको संविधानसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ९ बाट विजयी भए । उक्त निर्वाचनमा भोट माग्न जाँदा लिम्बूले कुनै विकास निर्माणका असम्भव सपना बाँडेनन् । उनले भनेका थिए, ‘मत दिएर जिताउनुहोस्, यस अघिका सांसदहरूजस्तो संविधान नबनाइ फर्केर आउँदिन, विकास निर्माणमा सकेको योगदान गर्छु, मलाई भेट्न सिंहदरवार आउनु पर्दैन ।’
नभन्दै संविधान निर्माणका अतिरिक्त उत्तरी मोरङको विकासमा पनि उनले उत्तिकै महत्वपूर्ण योगदान गरे । सांसद लिम्बूले उत्तरीमोरङमा पर्ने उर्लाबारी, लेटाङभोगटेनी, टाँडी, रमितेखोला, सिंहदेवी, मधुमल्ला, वारंगीमा सडक निर्माण, विद्युत विस्तार, खानेपानी, शिक्षा, सामुदायिक भवन, ह्यूमपाइप खरिदलगायत विकास निर्माणका पूर्वाधारहरूलाई प्राथमिकता दिए । प्रस्तुत छ, सांसदका रूपमा उनका मुख्य योगदानलाई समेटेर संक्षेपमा तयार गरिएको सामग्री ः
कम्यूनिष्टहरूले पटकपटक निर्वाचित भएर संसद् तथा सत्ताको स्वाद चाखेपनि उत्तरी मोरङमा विकास निर्माणका कार्यले गति लिन सकेको थिएन । तर, लिम्बू निर्वाचित भएर गएसँगै विकास निर्माणले तीब्रता पायो । २२ वर्षमा नभएको विकास निर्माण चार वर्षको भएको महसुस स्थानीयले गरे ।
सांसद निर्वाचित भएलगत्तै उनले आम मतदाताको माझमा गएर स्थानीयले भोग्दै आएको समस्याका विषयमा जानकारी लिएका थिए । त्यतिबेला स्थानीयले उनलाई भेट्नासाथ ‘नदी, विद्युत, खानेपानी, सडक, सिचाईंलगायत समस्या’ जानकारी गराएका थिए । उनले पनि त्यहाँ भनेका थिए, ‘सांसदको रूपमा मेरो प्राथमिकता पनि यही हुनेछ ।’
प्रतिबद्धता जनाएअनुसार २० वर्षअघि परिकल्पना गरेको सिन्धुली–चतरा हुँदै झापाको बाहुँनडाँगीसम्म जोड्ने चुरे फेदी वैकल्पिक मार्गलाई लक्षित गरेर मावा, बक्राहा, मोरङ्गी र चिसाङ खोलामा पुल निर्माणको काम अघि बढाए । हाल उक्त पुल निर्माणाधीन छन् । केरावारीको खदम खोला, भलुवा खोलामा पक्की पुल निर्माण गर्ने बताएका उनले मिक्लु खोलामा पनि पुल निर्माणका लागि साढे ११ करोडको डिपिआर तयार भइसकेको बताए । यस्तै, विद्युत विस्तारमा ट्रान्सफरमर खरिद तथा जडानका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत रकम विनियोजन गरे । लिम्बूले रमितेखोला, वारंगी, सिंहदेवीलगायत पहाडी क्षेत्रमा सोलर प्यानल पनि वितरण गरेका थिए । साथै वारंगी फुर्केटामा १५ किलोवाटको पिको हाइडोपावरको समेत थालनी गरे ।
यस्तै, पूर्वी मोरङको समृद्धिसँग जोडिएको उर्लाबारी–मधुमल्ला–रवि सडक, पूर्वपश्चिम राजमार्गबाट उत्तर जोडिने किसानचोक–टाँडी–रमितेखोला, केराबारी–लेटाङदेखि ६ नं बुधबारे सडक, याङशिला–ओख्रे सडक, जाँते–साम्लिङ–वारंगी सडक, लेटाङको रामपुर बताहा सिंहदेवी सडक, याङसिला–अधेरी, जनजाति चोक टाँडी हुँदै पाण्डे चौक मधुमल्ला सडक, मंगलबारे सुवेदारझोडा धानखेती सडक, टाँडीको चण्डालचौकदेखि गुप्ती खोलीटार छत्रपुर जाने सडक, उर्लाबारी सूर्यचोक–झारसादी मधुमल्ला सडक, सिंहदेवी–बताहा सडक, लेटाङभोगटेनी–जाँतेको मदनचोक जोड्नेलगायत सडक स्तरोन्नति र कालोपत्रे गरिएका छन् भने कतिपयमा कालोपत्रे शुरू हुने अवस्थामा छन् ।
बक्राहामा दीर्घकालिन बाढी नियन्त्रणका लागि उनले साढे तीन अर्ब छुट्याउन उनी सफल भए । नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी सिचाई मन्त्री हुँदा नदी नियन्त्रणको महत्वपूर्ण निर्णय गराउन सफल भएका हुन् । बक्राहाको उद्गमस्थल चुरे फेदीदेखि भारतको सीमासम्म बन्ने दीर्घकालिन तटबन्ध पूर्वी मोरङवासीका लागि ऐतिहासिक छ ।
उनले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको सिंहदेवीस्थित जेफाले डाँडा, रमितेखोलास्थित मिक्लाजुङ डाँडा, टाँडीस्थित नेसेलुङ डाँडा, ध्वजे डाँडालगायतमा भ्यू–टावर निर्माण गरे । जेफालेमा पर्यटकका लागि होमस्टेसमेत सञ्चालनमा रहेका छन् ।
यस्ता छन्, लिम्बूका अबका योजना
मोरङको क्षेत्र नम्बर १ का उम्मेद्वार लिम्बू सडकको स्तरोन्नति, पुल निर्माण, बाढी नियन्त्रण र स्वरोजगारका योजना लिएर प्रचार प्रसारमा जुटिरहेका छन् । जिल्ला सभापतिसमेत रहेका लिम्बूले सदरमुकाम बिराटनगरलाई ताररहित बनाउने गरी कार्ययोजना तयार पारेको बताए । विराटनगरको अनुहार उज्यालो भए समग्र मोरङ जिल्ला उज्यालो हुने बताउँदै उनले विशेष आर्थिक क्षेत्र निर्माण गर्न पहल गर्ने जनाए । उनले आफू उम्मेद्वार रहेको क्षेत्र नं. १ भौगोलिक हिसावले ठूलो र विकट रहेपनि प्राकृतिक स्रोतसाधनले भरिपूर्ण रहेको बताउँदै त्यसको सदुपयोग गर्दै स्थानीय वासिन्दाको जीवनस्तर उकास्न जडीबुटी, पशुपालन र पर्यटन क्षेत्रको विकास गर्ने योजना रहेको सुनाए । सिंहदेवीको जेफाले डाँडा, रमितेखोलास्थित मिक्लाजुङ डाँडा, टाँडीस्थित नेसेलुङ डाँडा, ध्वजे डाँडालगायत पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेकाले यसको विकासकालागि गुरूयोजना तयार पारिनेसमेत उनले बताए । उनले केराबारी, लेटाङ र मधुमल्लादेखि माथि पहाडी क्षेत्र विकट भएकाले त्यस क्षेत्रमा पुल, बाटो, सिँचाई, बिजुली ल्याउने योजना रहेको पनि बताए ।
राजनीतिक अस्थिरताका कारण गत निर्वाचनमा प्रतिवद्धता गरेका बाचाहरू पूरा गर्न नसकेको बताउँदै उनले पुराना योजनाको कार्यान्यनका लागि फेरि उम्मेद्वार बनेको स्पष्ट पारे । ‘मैले मिक्लुु खोलामा पुल बनाउँछु भन्ने कमिटमेन्ट गरेको थिए, साढे ११ करोडको डिपिआरसमेत तयार भएपनि राजनीतिक अस्थिरताका कारणले त्यो बन्न सकेन’, लिम्बूले भने । मावा, बक्राहा, मोरङ्गी र चिसाङ खोलामा पुल निर्माणको काम अघि बढेको बताउँदै मिक्लु खोलामा पनि चाँडै निर्माण गर्ने उनको भनाइ छ । यस्तै, उनले २० वर्षअघि आफूले परिकल्पना गरेको सिन्धुली–चतरा हुँदै झापाको बाहुँनडाँगीसम्म जोड्ने चुरे फेदी वैकल्पिक मार्गलाई लक्षित गरेर केरावारीको खदम खोला, भलुवा खोलामा पक्की पुल निर्माण गर्ने बताए । लिम्बूले पूर्वपश्चिम राजमार्गबाट उत्तर जोडिने किसानचोक–टाँडी–रमितेखोला, लेटाङदेखि ६ नं बुधबारे सडक, याङशिला–ओख्रे सडक, जाँते–साम्लिङ–वारंगी सडकलगायत सडकहरूको स्तरोन्नति र कालोपत्रे गरिने प्रतिवद्धता व्यक्त गरे ।
उनले सुकुम्बासीको समस्या ठूलो रहेको बताउँदै यसको सामधान गर्ने आफ्नो योजना रहेको बताए । टाँडीको दुई हजार विगाहामा ३८ बर्षदेखि सुकुम्बासी रहेकाले उनीहरूसहित अन्य क्षेत्रका सकुम्बासीलाई जग्गा प्रमाणपत्र प्रदान गर्ने एजेण्डा रहेको उनको भनाइ छ । यस्तै, बक्राहा, लोहन्द्रा, चिसाङ, मावा, मोरङ्गीलगायत खोलामा दीर्घकालिन तटबन्ध निर्माणलाई दीर्घकालिन योजना बनाएर काम अगाडि बढाउने उनले बताए ।