बर्दिया १ मा ४ महिनाअघिको स्थानीय तह निर्वाचनमा एमाले–माओवादीले पाएको मत कांग्रेसको भन्दा झन्डै दोब्बर थियो । यस्तोमा के जित सम्भव होला ? कान्तिपुरको प्रश्नमा कांग्रेस उम्मेदवार सञ्जय गौतमले भनेका थिए, ‘मैले हिम्मत हारेको छैन । किनभने, जनता कुनै पार्टी र नेताका पेवा होइनन् ।’
नभन्दै भयो त्यस्तै । देशभर वाम गठबन्धनको लहर चल्दा एमालेका प्रभावशाली उपाध्यक्ष वामदेव गौतमले भने बर्दिया १ बाट नमीठो हार बेहोरे । पराजयको कारण अन्तर्घात हो वा स्वयम् उनको अलोकप्रियता भन्नेमा एमाले पंक्ति विभाजित छ । दुई पक्षबीच आरोप–प्रत्यारोपसमेत भइरहेको छ । गौतम निकटस्थहरू स्थानीय केही नेताहरूको नाम लिएर अन्तर्घातको आरोप लगाइरहेका छन् । उनीहरूको निसानामा निवर्तमान सांसद श्याम ढकाल, युवा तथा खेलकुद विभागका सचिव दामोदर अर्याल र असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका खडकबहादुर खडका छन् । आरोपितहरू भने निर्वाचन परिचालनको सही नेतृत्व र व्यवस्थापन नहुँदा पराजय बेहोर्नुपरेको दाबी गर्छन् ।
‘यो अनपेक्षित हारले जिल्ला पार्टीको जगै हल्लाइदियो,’ एमाले बर्दिया अध्यक्ष हरि ज्ञवालीले भने, ‘केही न केही गडबड भएकै हो । निष्पक्ष छानबिन हुन्छ । दोषीमाथि कारबाही हुनेछ ।’ बर्दिया १ को निर्वाचन परिचालन अरू जिल्लाभन्दा फरक ढंगले गरिएको थियो । उपाध्यक्ष गौतमले स्थानीय कमिटी र नेताभन्दा बाहिरबाट आएका ‘शुभचिन्तक समूह’ लाई धेरै विश्वास गरे । उक्त समूहको सक्रियताले पनि माहोल बिग्रेको अध्यक्ष ज्ञवाली स्विकार्छन । उनीहरूकै निर्वाचन परिचालन ‘हाई कमान्ड’ बन्यो । विवादास्पद पूर्वमन्त्री हरि पराजुलीको संयोजकत्वमा आर्थिक समिति, डीबी कार्कीको संयोजकत्वमा युवा तथा विद्यार्थी परिचालन समिति, बलराम बास्कोटाको संयोजकत्वमा किसान परिचालन समिति बने ।
लक्ष्मण ज्ञवालीले प्रचारप्रसार सम्हाले भने शारदा सुवेदीलाई असन्तुष्ट नेता–कार्यकर्ता मिलाउने जिम्मा दिइयो । उक्त हाई कमान्डमा जिल्ला अध्यक्ष ज्ञवालीलाई समेत राखिएन । उनलाई गुलरिया नगरपालिका हेर्ने जिम्मेवारी दिइयो । ‘एमालेको वामदेव नचाहने खेमाले पूरै असहयोग गर्यो । माओवादीको तल्लो तहका कार्यकर्ताले धर्म छाडे,’ निर्वाचन परिचालन समितिका संयोजक पूर्णप्रसाद शर्माले भने, ‘योजनाबद्ध ढंगले अन्तर्घात भएको छ । कारबाही नभए हामी पार्टी छाड्छौं ।’ प्रदेशसभा सदस्यमा उम्मेदवारी नपाएर असन्तुष्ट खडका र निवर्तमान सांसद ढकाल मुख्य दोषी रहेको उनको आरोप छ ।
बदर भएका झन्डै ७ हजार मतमध्ये ४ हजार मतपत्रमा सूर्य र हँसिया–तारामा छाप लागेको दाबी गर्दै त्यो नियोजित भएको शर्माको दाबी छ । गौतम निकटस्थहरुले तारो बनाएका निवर्तमान सांसद ढकाल घात–अन्तर्घातभन्दा निर्वाचन परिचालन र व्यवस्थापनमा भएका त्रुटि, ओभर कन्फिडेन्स र निकटस्थहरूको घेराबन्दी मुख्य कारण भएको बताउ‘छन् । ‘जिल्ला कमिटी, क्षेत्रीय कमिटी र परिचालन कमिटीका बैठकसमेत भएनन्,’ उनले भने, ‘स्थानीयभन्दा बाहिरकालाई धेरै विश्वास गरियो । त्यसले सिगो एमाले पंक्तिलाई परिचालन गर्न सकेन ।’
विपक्षी उम्मेदवारले विकासलाई चुनावी नारा बनाउँदा निवर्तमान सांसदको हैसियतमा आफूले चार वर्षमा गरेका काम भन्नसमेत चुनावी मञ्चहरू नदिइएको उनले गुनासो गरे । चुनावको दुई दिनअघि फोन गरेरै ढकालले उपाध्यक्ष गौतमलाई माहोल धेरै राम्रो नभएको रिपोर्टिङ गरेका थिए । ‘तपाईंले आफ्नो वडामा ख्याल गर्नुस् भन्नुभो,’ उनले भने, ‘मेरो वडामा राम्रै भोट आएको छ ।’ अर्का आरोपित अर्याललाई जिम्मेवारी दिइएको जमुनीमा गौतमले १ हजार ३ सय ७३ मतको अग्रता लिए । तर, पार्टी सचिव अधिकारीको वडा दमौलीमा झन्डै १ हजार १ सय मत कम आयो । त्यस्तै, संयोजक शर्माको घर रहेको बरबर्दिया ४ मा एमाले–माओवादीले ६ सय भोटको अपेक्षा गरेकोमा ५१ मत मात्र आएको छ ।
अघिल्लो निर्वाचनमा झन्डै ६ हजारको अन्तरमा चुनाव जितेको बाँसगढी नगरपालिकामा गौतमले प्रतिस्पर्धीभन्दा ६ सय कम मत ल्याएका छन् । ‘आफ्नै उम्मेदवार हराउने कुरा मैले कल्पनासमेत गर्न सक्दिनँ । मिथ्या आरोपको खण्डनभन्दा पहिले छानबिनको प्रतीक्षामा छु,’ निवर्तमान सांसद ढकालले भने ।
बर्दिया १ मा रहेका चार तहमध्ये तीनवटा एमाले र माओवादी केन्द्रले जितेका छन् । बढैयाताल र बाँसगढी नगरपालिकामा एमालेको बहुमत छ भने बारबर्दियामा माओवादी केन्द्र र गुलरिया नगरपालिकामा कांग्रेसले जितेको छ । स्थानीय निर्वाचनमा ती तहहरूमा एमालेले २८ हजार ८ सय ९२, माओवादी केन्द्रले २८ हजार ७ सय २२ र कांग्रेसले २७ हजार ९१ मत ल्याएका थिए । उपाध्यक्ष गौतमले अगुवा नेता कार्यकर्तालाई आश्वासन दिने तर पूरा नगर्ने गरेकाले पनि असन्तुष्टि व्याप्त थियो । स्थानीय तह निर्वाचनअघि शिक्षक रहेका खडकालाई राजीनामा दिएर बाँसगढी नगरपालिकाको मेयरको तयारी गर्न भनेका थिए । उनले त्यसै गरे । तर, उम्मेदवार भएर जिते एमाले सचिव शालिकराम अधिकारीले ।
त्यसपछि गौतमले प्रदेशसभा सदस्य बनाउने आश्वासन दिए । प्रदेश संयोजक विष्णु पौडेलले समेत उनलाई तयारी गर्न भनेका थिए । तर, अन्तिम समयमा कविराम चौधरी प्रत्यक्ष उम्मेदवार भए । उनलाई समानुपातिकमा पनि राखिएन । असन्तुष्ट खडकाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । शुभेच्छुक नेता–कार्यकर्ताको आग्रहमा उम्मेदवारी फिर्ता लिए पनि उनलाई सँगै लिएर हिँड्न नसक्नु गौतम पराजयको अर्को कारण मानिएको छ । बर्दिया १ बाट ०४८ पछिका ६ निर्वाचन लडेका गौतमको पक्षमा यसपटक दुई कारणले कुनै लहर देखिएन । पहिलो, बबई सिँचाइ आयोजनाबाहेक विकासमा उनले प्रचार गर्नयोग्य कुनै अर्को आयोजना थिएन । राष्ट्रियस्तरका नेताको निर्वाचन क्षेत्रमा एउटै भित्री सडक कालोपत्रे छैनन् ।
०५६ र ०६४ को निर्वाचन हारेपछि उनको बर्दिया मोहभंग भएको देखियो । ०७० को निर्वाचन जितेर पनि बितेका चार वर्षमा उनी बिरलै बर्दिया आए । अहिले चुनावअघि आएर मात्र गुलरियामा डेरा लिएको विषयलाई समेत विपक्षले मुद्दा बनाए । अर्को, अघिल्लोपटक चुनाव जितेर गाउँ तहमा कुनै परामर्शसमेत नगरेरै उनले प्यूठान रोजेकोमा पनि मतदाता र कार्यकर्ता असन्तुष्ट थिए । ‘वामदेव कमरेडसँग धेरै गुनासा र असन्तुष्टि भएका पक्कै हुन् । तर, ती हार्ने गरी थिएनन्,’ जिल्ला अध्यक्ष ज्ञवालीले भने । गौतम पराजयको छानबिन गरी दोषीमाथि कारबाही सिफारिस गर्न एमाले प्रदेश ५ कमिटीले बैजनाथ चौधरीको संयोजकत्वमा समिति गठन गरिसकेको उनले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।