• काठमाडौँ , ७ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकार गठनलगत्तै भारत भ्रमणमा आउन अग्रिम निम्तो दिएका छन् । साथै उनले ओली नेतृत्वको नयाँ सरकारसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएको एमालेले जानकारी दिएको छ ।

    भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीनै शीर्ष नेतासँग बिहीबार फोन–संवाद गर्दै प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका थिए । मोदीले ‘अब नेपाल राजनीतिक स्थायित्वतर्फ अघि बढ्ने’ विश्वास पनि व्यक्त गरेका छन् ।

    भारतले निर्वाचन सकिएको १० दिनपछि विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालको निर्वाचन सफल भएकामा बधाई दिएको थियो । त्यस अतिरिक्त यस मामिलामा कुनै प्रतिक्रिया नजनाएको उसले एकैपटक प्रधानमन्त्री तहबाट तीनै दलका शीर्ष नेतालाई फोन गरेर राजनीतिक संक्रमण अन्त्य भई नेपाल स्थायित्वतर्फ अघि बढ्ने विश्वासव्यक्त गरेको हो ।

    ‘प्रधानमन्त्री (मोदी) ले निर्वाचन सम्पन्न गराएकामा उहाँहरूलाई बधाई दिँदै नेपालको विकास र स्थायित्वका लागि भारतको साथ र सहयोग रहने बताउनुभयो,’ भारतीय दूतावासकी प्रवक्ता रुवी जसप्रितले कान्तिपुरसँग भनिन्, ‘उहाँले निर्वाचनको सफलताले राजनीतिक स्थायित्व कायम हुनेमा पनि विश्वास र शुभकामना व्यक्त गर्नुभएको छ ।’

    मोदीले निर्वाचनमा वामपन्थी गठबन्धनले सफलता पाएकामा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र दाहाललाई छुट्टाछुट्टै बधाई तथा शुभकामना दिएका थिए । ‘उहाँले निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभयो,’ एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँ (मोदी) ले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताउनुभयो ।’

    प्रत्युत्तरमा एमाले अध्यक्ष ओलीले पनि भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै सरकार गठनलगत्तै औपचारिक निमन्त्रणापत्र पठाइने बताएको ज्ञवालीले उल्लेख गरेका छन् । ओलीले मोदीलाई ‘भारत र चीन दुवै छिमेकीसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने’ बताएका थिए ।
    यस्तै मोदीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पनि फोन गर्दै ‘दुस्खको घडीमा पाएको सफलता’ का लागि बधाई दिएका थिए । ‘दुस्खको घडीमा पनि जनताको माझमा गई निर्वाचन जितेर दललाई माथि उकास्ने काम गर्नुभएकामा खुसी व्यक्त गर्दछु,’ मोदीको शुभकामना उद्धृत गर्दै दाहालका स्वकीय सचिव जोखबहादुर महराले भने, ‘निर्वाचन सफल पार्नुभएकामा हामी खुसी छौं र नेपालको विकासमा भारतको सहकार्यर सद्भाव सधैं रहनेछ ।’

    जटिल राजनीतिक परिस्थितिमा पनि तीनै तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न गराएकामा मोदीले प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए । देउवाले पनि आफूले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर एउटा ठूलो जिम्मेवारी पूरा गरेको बताएको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ‘केही समयमै नयाँ सरकार निर्माण प्रक्रिया पूरा हुन्छ । राजनीतिक स्थायित्व कायम हुनेछ । अब विकास प्रक्रिया अघि बढ्नेमा विश्वास जागेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै परियारले भने ।

    वाम गठबन्धनको विजयलाई दिल्लीले नरुचाएको भारतीय सञ्चारमाध्यममा टिप्पणी आइरहेका बेला मोदीले उच्च राजनीतिक स्तरमा सम्पर्क राख्न चाहेका हुन् । शीर्ष नेतात्रयसँग मोदीको टेलिफोन संवादले आगामी दिनमा भारतले नेपालका राजनीतिक नेताहरूसँग कुन तवरमा सम्बन्ध राख्न चाहन्छ भन्ने सन्देश मात्र दिएको छैन कि आगामी दिनमा दुईपक्षीय उच्चस्तरको भ्रमण आदानप्रदानमा तीव्रता आउने संकेतसमेत गरेको छ । – कान्तिपुर दैनिकबाट ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…