रातोकलम/ हवाईजहाजमा अब यात्रुकालागी उभिने सिटपनी राख्न लागिएको छ। सस्तो भाडामा यात्रु ओसार्ने बजेट एयरलायन्सहरुका लागि लक्षित गरि यस्तो सिट डिजाईन गरिएको हो। इटालीको एक उड्डयन कम्पनी "एभियोइन्टेरियर"ले हवाईजहाजमा अब चाँडै 'अल्ट्रा-बेसिक इकोनोमी' क्लास पनि थप्ने र त्यहाँ यात्रुहरु उभिएर यात्रा गर्नसक्ने खालको सिट राख्ने तयारी गरेको जनाएको छ। अहिले सम्म कुनै विमान संचालक कम्पनीले यस्तो सिटको अर्डर नगरिसकेको भएपनी सस्तो भाडा लिएर उडान भर्ने जहाजहरुका लागि यस प्रकारको सिट उपयोगी हुने उत्पादक कम्पनीको दाबी छ। नयाँ डिजाईनको सिटमा खुट्टा राख्नका लागि २३ ईन्च ठाउँ हुनेछ, जो सामान्य सिट भन्दा ७ ईन्च साँगुरो हो। सो सिटसंगै यात्रुले आफ्नो ज्याकेट वा हाते झोला झुण्ड्याउने ठाउँपनी रहनेछ। आफ्नो नयाँ उत्पादनको बुकिङको पर्खाईमा रहेको उक्त कम्पनीले छिट्टै प्रशस्त अर्डर पाउने आशा पनि ब्यक्त गरेको छ। बजेट एयरलायन्सहरुलाई लक्षित गरेर प्रस्तुत गर्न लागिएको यो सिटलाई लिएर ट्विटर प्रयोगकर्ताहरुले आलोचना गरेका छन्। उनिहरुले भनेका छन्- "बजेट एयरलायन्स् यात्रुकालागी यो ताजा नर्क हो।" तर उत्पादक कम्पनी 'एभियोईन्टेरियर' ले भने उक्त उभिने सिट पनि बस्ने सिट जस्तै आरामदायी हुने बताएको छ।