सरकारले ठूलो धनराशी खर्च गरेको विद्यालय शिक्षाप्रति सामान्य मानिसको कुनै चासो नहुनु र एकछाक खाएर भए पनि आफ्ना बालबालिकालाई निजी विद्यालयमा किन पढाउँछन भन्ने उदाहरण फेला परेको छ ।
मानव बेचबिखन भनेको के हो ? भन्ने नेपाली वाक्यको अंग्रेजी उल्था के हुन्छ भन्ने हामीलाई थाहा छ तर कक्षा छ मा अध्यापन गराउने र परीक्षामा प्रश्नपत्र तयार गर्नेहरुले भने मानव बेचबिखनलाई What is the full form of ATM भनेका छन् । यो अज्ञनता नभएर चरम लापरवाही हो ।
यस्तो प्रश्न पूर्वी क्षेत्र संयूक्त विद्यालय समितिले कक्षा ६ को सामाजिक अध्यन तथा जनसंख्याशिक्षाका लागि तयार पारेको प्रश्नको नेपाली र त्यसको अंग्रेजी उल्था हो । विद्यार्थीले नेपालीमा दिएको उत्तर सही हुने कि अंग्रेजीमा दिएको उत्तर वा दुबैलाई सही मान्ने ।
हेरौं नमूना –
उपरोक्त विषयको पूरै प्रश्नपत्रमा नेपालीमा सोधिएका प्रश्न र त्यसको अंग्रेजी उच्चारणमा आकाश जमिनको भिन्नता छ । तर, यस विषयमा न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई जानकारी छ न त माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार पाएको स्थानीय तहलाई नै ।
राजधानीका ४९ वटा सामुदायिक विद्यालयका लागि तयार पारिएको त्यो प्रश्नपत्रमा “दश्रैमा केके गरिन्छ ?” भनेर सोधिएको प्रश्नलाई अंग्रेजीमा ‘ह्वाट इज कन्फ्ल्टि” भनेर अनुवाद गरेका छन् शिक्षकहरुले ।
६० पूर्णांक रहेको यस विषयको अधिकांश प्रश्नको नेपाली र अंग्रेजी उच्चारणमा केही पनि मिल्दैन । यति हुँदाहुँदै पनि परीक्षा समितिले नयाँ प्रश्नपत्र नछापी गत बिहीबार यही प्रश्नबाट परीक्षा सम्पन्न गरेको छ । पूर्वक्षेत्र परीक्षा समितिका अध्यक्ष रहेका नवीनग्राम माध्यमिक विद्यालय नांग्लेभारेका प्रधानाध्यापक गुरुप्रसाद दंगालले भने, ‘छापाखानामा छाप्ने बेला प्रश्नपत्र बिग्रेछ । परीक्षाको दिन मात्रै थाहा पायौं ।’
परीक्षा समितिका शिक्षकले नजानेर भन्दा पनि प्राविधिक त्रुटिका कारण प्रश्नपत्र बिग्रेको दाबी गरे । उनले भने, ‘परीक्षा हलमा परीक्षार्थीलाई नेपालीमा सोधिएका प्रश्न सही भएकाले अंग्रेजीमा अनुवाद गरिएकोलाई बिर्सेर नेपालीअनुसार हल गर्न भन्यौं ।’
काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले भने यस विषयमा सामाजिक सञ्जालबाट थाहा पाए पनि आधिकारिक जानकारी नआएको बताए । काठमाडौंका सामुदायिक विद्यालयले अनुकूल हुने गरी आफूखुसी समिति बनाएर परीक्षा चलाउने गरेका कारण कार्यालयलाई आधिकारिक जानकारी आउन नसकेको उनले बताए ।
‘आफूखुसी कतै पश्चिम भेगीय समिति, कतै पूर्वी भेगीय समिति बनाएका छन् तर यस विषयमा जिल्ला शिक्षा कार्यालयमा कुनै व्यवस्था नै छैन’, उनले भने, ‘समिति नबनाऊ भनेर निर्देशन दिने हो भने पनि शिक्षकलाई कसैले तह लगाउन सक्ने अवस्था छैन । आफूखुसी गर्दा यस्तै समस्या आउँछ । एउटा समूहका शिक्षकको कमजोरीका कारण सबैको बेइज्जत हुन्छ ।’
प्रश्नपत्र निर्माणमा शिक्षकबाट लापरबाही भएको यो नयाँ घटना भने होइन । ०६९ सालमा पनि कक्षा आठको नैतिक शिक्षा विषयको जिल्लास्तरीय परीक्षामा अघिल्लो वर्षकै प्रश्न हुबहु सोधिएको थियो । यसरी अघिल्लो वर्षको हुबहु प्रश्न सोध्ने जिल्ला शिक्षा अधिकारी र प्रश्न बनाउने शिक्षकलाई सामान्य स्पष्टीकरण गरेर छाडिएको थियो ।