भिडियो सामग्रीका लागि युट्युब संसारभर प्रचलित माध्यम हो । इन्टरनेटमा पहुँच हुनेहरुका लागि भिडियो सामाग्रीमा समाचार, मनोरञ्जन र ज्ञानप्राप्त गर्न युट्युब छिटो मात्रै होइन शक्तिशालि माध्यम पनि हो ।
यही माध्यमको प्रयोग गर्ने भारतमा कुईन्ट, द वायर, लल्नटप, देशभक्त, न्यूज लाउन्ड्रिजस्ता युट्युब च्यानल छन् । सिर्जनात्मक, आलोचनात्मक समाचार, विचार, टिप्पणी र अन्तवार्ताका लागि यी युट्युब च्यानल निकै लोकप्रिय छन् ।
युवा पुस्तामाझ लोकप्रिय छ युट्युब । त्यसैले युट्युबको आकर्षण बढ्दो छ । समाचार र डकुमेन्ट्रिमा युट्युब टेलिभिजनको विकल्प बनेको छ ।
त्यसैले भारतमा विनोद दुआ, अभिशार शर्मा, आरफा खानम शेरवानी, उर्मिलेशजस्ता स्थापित टेलिभिजन पत्रकार पनि टेलिभिजन छाडेर युट्युब पत्रकारितामा जमेका छन् ।
तर, तपाईंले पत्रकारिताको अभ्यास गरिरहेको भनिएका नेपाली युट्युब च्यानल हेर्नुभएको छ ? पक्कै हेर्नुभएको छ ।
‘अघोर बाबाले गरे यस्तो खुलासा अब राजतन्त्र फर्किने’, ‘हिरासत भित्र के गर्दैछन रवि लामिछाने ? हेर्नुहोस् सनसनीपूर्ण न्यूज’ ‘१२÷१५ जना आएर शालिकराम पुडासैनीलाई मारेको खुलासा, हेर्नुहोस् एक्सक्लुसिभ भिडियो’ ‘परि तामाङले अन्तवार्तामै.....देखाएपछि’, आफूलाई मिडिया भन्ने युट्युब च्यानलमा तपाईंले यस्तै शीर्षक र हेडलाइन पढ्नु भएको होला ।
उत्तेजक शीर्षक राखेर बनाइने यस्ता भिडियो लाखौं मान्छेले हेरेका हुन्छन् । हजाराैं मान्छेले सेयर गरेका हुन्छन् । सयौं मान्छेले कमेन्ट गरेका हुन्छन् ।
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि युट्युबरले चितवनमा डेरा जमाएका छन् । र, चितवनबाट दैनिक, खुलासा, खुल्यो रहस्य, गर्जिए, पर्दाफासजस्ता शीर्षक राखेर भिडियो अपलोड गरिरहेका छन् ।
समाजलाई भड्काउनकै लागि खुलेका जस्ता लाग्ने यस्ता युट्युब च्यानल उत्तेजनाको व्यापार गर्छन् । हल्का सामाग्रीलाई के के न भएजस्तो गरी सनसनीपूर्ण बनाउन लागि पर्छन् । हत्या, घटना, दुर्घटनामा अनुसन्धानकर्ता उनीहरु नै बन्छन्, बहस पनि उनीहरु नै गर्छन् र फैसला पनि उनीहरु नै गर्छन् ।
यस्ता युट्युवले कहिले सुस्त मनस्थितिका भीम विश्वकर्मालाई भाइरल बनाउँछन्, कहिले अघोर बाबा, कहिले गायीका भनिने लक्ष्मी आचार्य जो गीत गाएरभन्दा परिवारभित्र बसेर हेर्नै नसकिने अन्तर्वार्ता दिएर चर्चित छिन् । यस्तै थुप्रै पात्र छन् जो युट्युबरका लागि ‘हटकेक’ हुन् ।
गम्भीर समाजिक मुद्दा र विषयमा हलुका मात्रै होइन तुच्छ टिप्पणी गर्नेको अगाडि बुम माईक तेरस्याउँदा अडियन्ससम्म समाचार र सूचना प्रशारण हुन्छ विषय तोडमोड भइ भ्रम ? यिनीहरु यस्ता कुरा रत्तिभर सोच्दैनन् ।
उच्च पदस्थ व्यक्तिको नाम लिएर गाली गर्नेको बोली रेकर्ड गरेर बजाउनु युट्युबरको ‘धन्दा’ बनेको छ । संसारभर कर्पोरेट मिडियाको विकल्प बनिरहेको वैकल्पिक भिडियो हो युट्युब । तर, नेपाली युट्युब च्यानल हेर्दा तीनमा वैकल्पिक मिडियाको छनक कतै पाइँदैन् ।
अश्रुग्याँस र गोलीबीचको फरक छुट्याउन नसक्ने एक युट्युब च्यानलले ‘चितवनमा गोली चल्यो अवस्था यस्तो’ शीर्षक राखेर भिडियो सार्वजनिक गर्यो । सामाजिक सञ्जाल र युट्युबमा सनसनी फैलाउनेहरुलाई ब्वाँसाको संज्ञा दिँदै जीवन क्षेत्री लेख्छन्, ‘कुनै हत्या वा बलात्कार हुनासाथ पीडितको आत्मसम्मान र न्यायको मूल्यमा चर्चा र दर्शक कमाउन आतुर ब्वाँसातूल्य सञ्जालेहरूको भीड छ अहिले युट्युब, फेसबुक र ट्विटरमा ।’
युट्युबर पत्रकार हुन् या होइनन् भन्ने पनि बहस हुन्छ । युट्युबरहरु पत्रकार भए पनि नभए पनि कुनै व्यक्तिको आत्मसम्मान, भावनामाथि प्रहार गर्नेगरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नु अपराध हो । मान्छेका दुःख, पीडामाथि मजाक गर्दै भिडियो बनाउनु अमानवीय र विवेकहीन काम हो ।
युट्युबरका भाइरल भिडियो स्रोत दिल निसानी मगरले अलि अगाडि प्रश्न गर्दै लेखे, ‘युट्युबर पत्रकार होइनन ?’ मगरको प्रश्नको जवाफ उनले युट्युबमा दिएका अन्तर्वार्तामा भेटिन्छन् ।
सनसनीपूर्ण शीर्षक राखेर दर्शक/श्रोता झुक्याउन पाइँदैन् । सामाजिक सद्भाव बिथोल्ने गरी शीर्षक राखेर समाचार बनाउन पाइँदैन । पत्रकारिता वा मिडियाकर्म व्यापार मात्र होइन् । कति करोड वा लाख मान्छेले भिडियो हेरे भनेर गनेर बस्नु पत्रकारिता होइन । गाली गलौज गरेका, अश्लिलता प्रदर्शन गर्ने भिडियो राख्दै उत्तेजना फैलाउनु पत्रकारिता होइन । पत्रकारिता समाजप्रति सबैभन्दा बढी उत्तरदायी हुने पेसा हो ।
समाजप्रति सधैं जवाफदेही हुने पेसा हो पत्रकारिता । तर, के हाम्रा युट्युब च्यानल यस्ता छन् ? उनीहरुले अपलोड गरेको भिडियो सामाग्री पत्रकारिताको कुन बिन्दुमा फिट हुन्छन् ? त्यसैले अब यस्ता अतिरञ्जित सामाग्रीको व्यापार गर्ने युट्युबरलाई नियमनको खाँचो भईसकेको छ ।
आफैंले बनाएका भिडियो सामाग्रीप्रति युट्युबरलाई कति विश्वास लाग्छ ? लाखौं, करोडौँ मान्छेले हेरेका ती भिडियो युट्युबरहरु आफ्नो परिवारसँगै बसेर हेर्न/सुन्न सक्छन् ?
युट्युबरहरु भन्न सक्छन् हामी पत्रकार होइनौं । हामी त मात्र मनोरञ्जनका लागि हौं । त्यसो भए समाजका गम्भीर विषयमा हामीलाई मनोरञ्जन चाहिएन । कसैको दुःख र पीडामा अतिरञ्जना गरिएको सामाग्री मनोरञ्जन हुन्छ ? अदालत, कानून, प्रशासनका प्रक्रिया लत्याउँदै गरिएको मजाक हामीलाई स्वीकार्य छैन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा मनलाग्दी गर्नु गैरकानूनी हो ।
सामाजिक सञ्जाल सुरु नहुँदा चिया पसल, पँधेरोमा एक अर्काको कुरा काट्दै गरिने गफमा आक्रोश र आरोप मिसाएर युट्युबमा राख्नु पत्रकारिता होइन । र, मनोरञ्जन त झन् हुँदै होईन । प्रधानमन्त्री केपी शर्मा ओलीका शब्दमा, ‘कुण्ठा, आक्रोश र निम्छरा शब्द’ ओकलेर मनोरञ्जन र पत्रकारिता दुवै हुँदैन् ।
युवालाई बहस, अन्तरक्रियामा सक्रिय सहभागी गराउनुपर्ने समयमा युट्युबे पत्रकार बाबाजी र मताजी कहाँ देशको अवस्था सोध्न पुग्नु बिडम्बना हो भन्दै रमन पौडेल लेख्छन्, ‘राजधानीका ‘युवा पत्रकारहरु’ चाहिँ देशको राजनीतिक, सामाजिक अवस्थाबारे विश्लेषण सुन्न कहिले बाबाजीको कुटीमा त कहिले अर्जुन क्षेत्रीकहाँ भौँतारिनु विडम्बना नै हो । नेपालको सन्दर्भमा त वैकल्पिक उपायहरु यति बरालियो कि यसको कुनै आकार र संस्कार छैन । युवाहरुलाई बहस र अन्तरक्रियामा सक्रिय बनाउनुपर्ने थियो ।’
केही समय अगाडि पाकिस्तानमा बम हमलामा पुरै परिवार गुमाएका एक बालकका अगाडि बुम माईकको भीड देखियो । यो दृश्यलाई पत्रकारको असंवेदनशीलता र अमानविय काम भन्दै बीबीसी हिन्दी सेवामा लेखियो ‘बुम माईकको आतंक ।’
२०७२ को भूकम्पमा हामीले भारतीय मिडियालाई ‘इन्डियन मिडिया गो होम’ भनेका थियौं । युट्युबरलाई मेरो आग्रह छ, स्मरणशक्तिमा अलिकति जोड दिनुहोस् र सम्झनुहोस् त हामीले किन भारतीय मिडियालाई ‘इन्डियन मिडिया गो होम’ भनेका थियौं ?
संसदीय राज्य व्यवस्थामा पत्रकारितालाई चौथो अंग भन्ने गरिन्छ । तर, के अहिले हाम्रा युट्युबरले गरेको कर्म चौथो अंग भन्न लायक छ ? चौथो अंग त परै जाओस् परिवारसँग बसेर, वा सार्वजनिक स्थलमा बसेर हेर्न र सुन्न लायक पनि छैनन् हाम्रा अधिंकाश युट्युबर ।
अच्चम त के छ भने हाम्रा अधिकांश युट्युबर युवा हुन् । समाजिक परिवर्तन, सिर्जनशील र आलोचनात्मक चेत बोक्नुपर्ने समयमा बाबा, माताको पछाडि लागेर यी युवाले आफ्नो मात्रै होईन समग्र समाजको भविष्यमाथि खेलबाड गरिरहेका छन् ।
यत्रो आलोचना गरिरहँदा सबै युट्युब च्यानल गलत छ भन्न खोजेको होइन भन्ने कुरा प्रष्ट पार्न चाहन्छु । जसले अरुको कमजोरी, पीडा र संवदनशीलताको एकरत्ति ख्याल नगरी भिडियो बनाइरहेका छन्, राष्ट्रिय मुद्दा, अनुसन्धानका क्रमाम रहेका विषयलाई जटिल बनाइरहेका छन् उनीहरुलाई भनेको हो ।
नेपालमै पनि विद्या चापागाईंले 'हेर्ने कथा' युट्युबबाटै चलाइरहेकी छन् । अन्य टेलिभिजन मिडिया पनि युट्युबमा सक्रिय छन् । भर्खरै फेरि सुरु भएको विजयकुमार पाण्डेको दिशानिर्देशका दर्शक पनि युट्युबमा प्रशस्त छन् । यस्ता उदाहरणीय युटुयुब च्यानल अरु पनि छन् ।
तर, मिडिया शक्तिको दुरुपयोग गर्दै समाजमा आतंक फैलाउन लागि परेका युट्युबर बेलैमा सुध्रनुपर्छ । ‘हेर्ने मान्छेले हेरिदिन्छन् त हाम्रो के दोष ?’ भन्नेजस्ता तर्क गर्न पनि सकिन्छ । तर, मिडिया सामाजिक उक्तरदायित्वसहितको पेसा हो । मान्छेले हेर्छन् भन्दैमा अश्लिल र हिंसा भड्काउने सामाग्री निरन्तर देखाइनु बिलकुल जायज काम होइन । रोकौं, यस्तो काम ।