नेपालगन्ज : १६ वर्षमा नै विवाह गर्न पाउनुपर्ने माग राख्दै नेपालगञ्जमा जुलुस निकालिएको छ । जुलुस बाँकेको जानकी गाउँपालिका–५ कैलासीका रामदेव मिश्रको अगुवाइमा बुधबार नेपालगन्जको धम्बोझी चोकबाट निस्केको हो । उनीहरुले १६ वर्षमा सन्तानको बिहे गर्न पाउनुपर्ने माग राख्दै नगर परिक्रमा गरेका हुन् । जुलुसमा महिलाहरु नाबालक सन्तानसहित आएका थिए । उनीहरुले नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका थिए ।
जुलुसका अगुवा मिश्रले भने, ‘हामीले जिल्ला प्रशासन, नेपालगन्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थियौं । हाम्रो मागबारे सरकार किन मौन छ भनेर थप दवाव दिन जुलुस निकालेका हौं ।’ मधेसी समुदायले १६ वर्षमा बिहे गरे पनि ३ वर्षपछि गौना र त्यसको थप एक वर्षपछि थौना गरेपछि मात्र बेहुली केटाको घरमा जाने चलन छ ।





