• काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली मृगौलाको उपचारका लागि सिंगापुरमा छन् । उनले कार्यवाहकको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेललाई दिएका छन् । यही क्रममा सोमबार नियमित रुपमा बस्‍ने मन्त्रिपरिषद् बैठक बस्यो तर ओली सिंगापुरमा मन्त्रीहरु सिंहदरबारमा ।

    प्रधानमन्त्री ओलीले सिंगापुरबाटै बैठकको अध्यक्षता गरे । यता मन्त्रीहरुले सिंहदरबारबाटै बैठकमा सहभागिता जनाए । बैठक सकिएको केही समयमा प्रधानमन्त्री केपीशर्मा ओलीले प्रविधि र प्राविधिकलाई धन्यवाद दिँदै नेपालमै पहिलो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको भन्दै ट्विट गरे । उनी कसैले गर्न नसकेको काम आफूले गरेर देखाएकोमा दंगदास बने ।

    तर, मंगलबारबाट उक्त बैठकको चौतर्फी आलोचना भयो । सुरक्षा र कानुनी हिसाबमै यसरी मन्त्रिपरिषद् बैठक बस्‍न नमिल्ने भन्दै सत्तारुढ र प्रतिपक्षीलगायतले विरोध गरे ।

    यही विरोधलाई रोक्न सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदलाई यथार्थ कुरा नबताएको रहश्य खुलेको छ । बिहीबार सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्दै नबसेको भनेर संसदमा बोलेका थिए।

    संसदलाई जानकारी दिने क्रममा उनले त्यस दिन (भदौ ९ गते) मन्त्रिपरिषद् बैठक नबसेको, कुनै पनि निर्णयका बुँदा प्रस्तुत पनि नभएको र पारित पनि नभएको जिकिर गरे।
    जबकि प्रधाननमन्त्री केपी शर्मा ओली स्वयंले भदौ ९ गते नै सामाजिक सञ्जाल ट्वीटरमार्फत् टेलि प्रिजेन्समार्फत् मन्त्रिपरिषद बैठक बसेर सम्पन्न भएको जानकारी दिएका थिए ।

    उनले भने, ‘त्यो कानुनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादनसम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौँ एजेण्डा पनि त्यहाँ कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनियसलाई पहिलो प्रयास हो, अभ्यास हो, हामी टेक्नोलोजीमा गर्न सक्छौँ भन्ने प्रमाणित भयो भनेका छौँ ।’

    मन्त्री बास्कोटाले भने संसदमा प्रतिपक्षी दल कांग्रेसका सांसदहरु र सत्तारुढ नेकपाकै सांसदहरुले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठकलाई सार्वभौमसत्तासँग जोडेपछि उक्तदिन मन्त्रिपरिषद बैठक नभएको बताएका हुन् । बास्कोटाले नेपालको सार्वभौमिकता र प्रमको राष्ट्रियतामाथि प्रश्न नउठाउन पनि सचेत गराए।

    प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले ‘हेलो हाई’भन्नका लागि मात्रै भिडियो कन्फ्रेन्स गरिएको हो भने कार्यसम्पादन नियमावली किन संशोधन गरियो भनी प्रश्न गरेका थिए ।

    कांग्रेस सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद बैठक नबसेको भएको कार्यविधि परिमार्जन गरेर बैठक भिडियो कन्फ्रेन्सबाट बैठक बस्न सक्ने भनेर किन लेखेको ? भनेर जवाफ मागेपछि बास्कोटाले त्यो भविष्यका लागि गरिएको जवाफ दिए। सांसद प्रकाश रसाइली स्नेहीले पहिले मन्त्रिपरिषद भनेर हल्ला गरिएको तर, अहिले होइन भनेर किन ढाँटिएको भनेर सोधेका थिए। जवाफमा बास्कोटाले त्यो परीक्षण मात्रै भएको जिकिर गरेका थिए। ‘मुटुको उपचारका लागि बाँदरमा किन परीक्षण गरियो? किन मान्छेमा किन गरिएन?’,मन्त्री बाँस्कोटाले भने, ‘त्यो एउटा परीक्षण मात्रै हो, त्यसलाई अन्यथारुपमा नबुझ्नु होला।’

    यहाँ एकातिर सरकारको चरित्र उदांगो भएको छ भने अर्कोतिर जनतालाई सरकारले कसरी ठगिरहेको छ भन्‍ने प्रस्ट हुन्छ । अब जनताले कसको कुरालाई विश्वास गरेर अघि बढ्‍ने भन्‍ने द्विविधा पनि सिर्जना भएको छ ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…