मोरङ / सुनसरीको धरान उपमहानगरपालिका–६ घर भएका निलम्बित प्रहरी जवान ३५ वर्षीय सन्तोष तामाङ लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका छन् ।
यस अघि पनि लागुऔषध मुद्दामा निलम्बन गरेर कारबाही अघि बढाइएका उनी दोस्रो पटक लागुऔषधसहित पक्राउ परेका हुन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट उनी मंगलबार पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए ।
उनकाअनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले को १३ प ५०६४ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा तामाङले लगाएको हेल्मेट भित्र लुकाएको अवस्थामा १५ ट्याब्लेट लागुऔषध नाइट्रोसन फेला पारेको थियो । उनी विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन बुधबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यस अघि इलाका प्रहरी कार्यालय धरानले गत असार २० गतेबाट लागु हुने गरी निलम्बन गरेर उनीमाथि लागुऔषध मुद्दा चलाएको थियो । धनकुटा दरबन्दी रहेका उनी जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीको गाडीका चालक थिए । घटनाअनुसार धरान रंगशाला पछाडि अर्का प्रहरी जवान दिपक तामाङ सर्वसाधारणलाई लागुऔषध दिँदै गर्दा गत असार १७ गते पक्राउ परेका थिए ।