•  

    देशभरका पुलको काम पप्पु कन्सट्रक्सनको कब्जामा

    काठमाडौं । अधिकांश आयोजनाले समयमा काम नगरेर ठेक्का अलपत्र पारेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको पछिल्लो तथ्यांकमा आधा काम गरेर ठेक्का अलपत्र पार्ने काम बढेको उल्लेख गरेको छ ।
    काठमाडौंको चावहिल जोरपाटी सडक विस्तार तथा निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत बज्रगुरु कम्पनी, च्यांमिला कम्पनी र खानी जेभी निर्माण सेवाले १३ असोज २०७२ मा ठेक्का पाएर १४ पुस २०७४ मा सम्पन्न गर्नुपर्ने थियो । संयुक्त रूपमा तीनवटा कम्पनीले अहिलेसम्म सो काम पूरा गर्न सकेका छैनन् ।
    ३१ अर्ब ८१ करोड ४७ लाख रुपैयाँको सो ठेक्काको काम हालसम्म ६५ प्र्रतिशत मात्रै पूरा भएको छ । स्थानीयले सो सडक निर्माण र विस्तार समयमा नभएको भन्दै पटकपटक आन्दोलन गरे, तर अझै सम्पन्न हुन सकेको छैन ।
    यो त एउटा उदाहरण मात्रै हो । समयमा काम नगर्ने र ठेक्का सम्झौता थप गरेर काम बीचैमा छाड्ने प्रवृत्ति पछिल्लो समय देशभर बढेको छ ।

    साउद र स्वाँर जेभी निर्माण कम्पनीले ठेक्का पाएको महेन्द्रनगरमा रहेको गजवा नाला पुल २२ मंसिर २०७२ मा ठेक्का लिएर २१ फागुन २०७३ मा काम सम्पन्न गर्नुपर्ने थियो । काम सम्पन्न नभएपछि ११ फागुन २०७५ सम्म समय अवधि थपियो । तर, हालसम्म ६० प्रतिशत मात्रै काम पूरा भएको छ । दुईवटा निर्माण कम्पनीले २६ करोड ६१ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का लिएका हुन् ।
    पप्पु कन्सट्रक्सन र मृत सञ्जिवनी निर्माण सेवा कम्पनीले सप्तरीको माहुलीघाडन खोलाको पुल निर्माणका लागि ३१ असार २०७१ मा ठेक्का पाएर दुई वर्षमा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको थियो । काम पूरा नभएपछि २९ असार २०७४ सम्म समय थप भयो । तर, समय थप हुँदा पनि ६० प्रतिशत मात्रै काम पूरा भएको छ । ५ करोड ४२ लाख ९५ हजार रुपैयाँमा सो ठेक्का लिएको थियो ।

    त्यस्तै पप्पु निर्माण सेवा र शिवराम जेभीले रौतहटको चाँदी नदी पुल निर्माण गर्नेगरी ३१ असार २०७३ मा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कामको प्रगति भने ५० प्रतिशत मात्रै छ । सो पुल निर्माणका लागि ती दुई कम्पनीले २५ करोड ३६ लाख २४ हजारमा रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए । दुईपटक पेस्की लिएको सो कम्पनीले सो पुलको काम अलपत्र पारेका छन् ।
    मैनाचुली र अञ्जना आत्रेय जेभीले बाग्मती नदी नियन्त्रण आयोजनाका लागि २ करोड २६ लाख ५१ हजार रुपैयाँमा ठेक्का पाएको थियो । सो काम दुई वर्षभित्र पूरा गर्नेगरी १४ फागुन २०७० मा ठेक्का सम्झौता भए पनि कामको प्रगति ६० प्रतिशत मात्रै छ । सो अवधिमा काम पूरा नभएपछि ३१ असार २०७६ सम्म समयावधि थप भएको थियो ।

    कन्काइ इन्टरनेसनल बिल्डर्स निर्माण कम्पनीले दोलखाको तामाकोसी पुल निर्माणका लागि २ करोड १२ लाख ३७ हजार रुपैयाँमा २५ असार २०७० मा सम्झौता भई तीन वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का लिएको थियो । तर, सो कामको प्रगति हालसम्म ६० प्रतिशत मात्रै छ ।
    इलाइट र मोना जेभी कन्सट्रक्सन प्रालिले संयुक्त रूपमा मकवानपुरमा रहेको बंगारी खोला पुल निर्माणका लागि पाएको ठेक्का सम्झौताको काम ३० प्रतिशत मात्रै पूरा भएको छ । २४ असार २०७१ मा ठेक्का सम्झौता भई दुई वर्षमा पूरा गर्ने लक्ष्य राखिएको थियो । सो ठेक्का दुई निर्माण कम्पनीले संयुक्त रूपमा ५ करोड ४५ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण गर्नेगरी लिएको हो ।

    वाईपी कन्सट्रक्सन प्रालिले रुकुमको भेरी खोला पुल निर्माणका लागि १३ करोड १३ लाख ५२ हजार रुपैयाँमा लिएको ठेक्काको प्रगति २५ प्रतिशत मात्रै छ । २९ असार २०६९ मा ठेक्का सम्झौता भएको सो काम तीन वर्षभित्र पूरा गर्नुपर्ने थियो । तर, निर्माण सम्पन्न हुन नसकेपछि आधार र कारण देखाएपछि ३० असार २०७५ सम्म निर्माण सम्पन्न गर्नेगरी समय थपिएको थियो । हाल सो पुल निर्माणको काम अलपत्र छ ।
    सिराहामा दुईकोठे प्रसूति भवन निर्माणका लागि सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले १ असार २०६६ मा अमित निर्माण सेवालाई ठेक्का दिएको थियो । तर, ११ वर्ष पुग्न लाग्दासमेत भवन बनेको छैन ।

    कागवेनी खोला पुल निर्माणका लागि गल्फा÷रफिना जेभीले २ करोड ८८ लाख ५१ हजार लागतमा ठेक्का पाएको थियो । तर, समयावधि गुज्रदासम्म सो ठेकेदार कम्पनीले ४५ प्रतिशत मात्रै काम गरेको छ । झाज नदी पुल, रौतहटको ठेक्का पाएको मृत सञ्जीवनी निर्माण सेवा कम्पनीले २२ असार २०७१ मा ठेक्का सम्झौता भई दुई वर्षमा काम गर्नुपर्ने भए पनि ६ महिना समय थप भयो । तर, समयावधि थपेको समयमा पनि ४० प्रतिशतभन्दा बढी काम गर्न सकेन । सोही निर्माण सेवा कम्पनीले झर्ने खोला पुल शहीद मार्ग रोल्पामा पाएको दुई करोड १६ लाख ३८ हजारको काम २१ प्रतिशत मात्रै पूरा गरेको छ । सो निर्माण कम्पनीले ३० असार २०७३ मा ठेक्का लिएको थियो । तर, काम पूरा हुन नसक्दा २५ असार २०७६ सम्म समय थप भए पनि काम पूरा हुन सकेन ।

    कोसी एन्ड न्यौपाने निर्माण सेवा खोरुंगा खोला पुल निर्माणको काम २० प्रतिशतभन्दा बढी काम गर्न सकेको छैन । पप्पु कन्सट्रक्सन र मृत सञ्जिवनी जेभीले संयुक्त रूपमा लिएको उदयपुरको गिदेरी खोला पुलको काम ४१ प्रतिशत मात्रै पूरा भएको छ । १५ करोड १३ लाख ८२ हजारको सो ठेक्का आयोजना ३१ असार २०७१ मा ठेक्का सम्झौता भई दुई वर्षमा काम पूरा हुनुपर्नेमा नसकेपछि एक वर्ष समय थप भएको थियो । पप्पु कन्सट्रक्सनले लालबकैया नदी पुल, रौतहटमा रहेको निर्माणाधीन १७ करोड ९ लाख ६७ हजारको पुल अलपत्र भएको छ । सो पुलको काम हालसम्म ४५ प्रतिशत मात्रै पूरा भएको छ ।

    पप्पु कन्सट्रक्सनले लिएको पर्साको तिलेवा खोला पुल निर्माणको काम वर्षौदेखि अलपत्र छ । २७ साउन २०६७ मा ठेक्का सम्झौता भई दुई वर्षको समयावधिमा पूरा गर्नुपर्ने काम पूरा हुन नसकेपछि १४ फागुन २०७५ सम्म समय थप भयो । तर, पप्पुले ४० प्रतिशत काम पूरा गरेर अलपत्र छाडेको छ ।
    त्यस्तै, पप्पुले नै झापाको कन्काइ पुल निर्माणको काम अपुरो छाडेर अलपत्र पारेको छ । २० असार २०७४ मा ठेक्का सम्झौता गरेर लिएको कामको प्रगति ४९ प्रतिशत मात्रै छ । १७ करोड ४६ लाख ३३ हजारमा ठेक्का सम्झौता भई तीन वर्षभित्रमा निर्माण गर्नुपर्ने त्रिशूली नदी पुलको प्रगति ११ प्रतिशत मात्रै छ । पप्पुले ठेक्का पाएको तातु नदी पुलको काम ३२ प्रतिशतभन्दा बढी हुन सकेको छैन ।

    पप्पुले काठमाडांै तीनकुनेमा रहेको बाग्मती नदीमा नेटवर्क आर्क ब्रिजको काम अझैसम्म अलपत्र छ । २१ करोड ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको पुल निर्माणको प्रगति १६ प्रतिशतभन्दा बढी हुन सकेको छैन । ९ साउन २०७१ मा ठेक्का सम्झौता भई चार वर्षभित्र पूरा गर्नुपर्ने काम अलपत्र छ । त्यस्तै, भरहवामा रहेको डोन्डा पुल निर्माणको सम्झौताको समयावधि पूरा भए पनि ४० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन ।
    कान्छाराम र एनवी जेभी कन्सट्रक्सनले संयुक्त रूपमा ठेक्का पाएको उत्तर दक्षिण कोसी सडक आयोजनाको काम नै हुन सकेको छैन । सो सडकको काम १० प्रतिशत मात्रै पूरा भएको छ । काभ्रेमा जनस्वास्थ्य चौकी निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले योञ्जन निर्माण सेवालाई ३० असार ०६९ मा ठेक्का लगायो । ३० भदौ २०७० सम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता थियो । तर, कामसमेत सुरु भएको छैन ।
    सप्तरीको घोडदह खोलामा पुल बनाउन सडक विभागले ६ साउन २०६६ मा प्रकाश र आश्रय निर्माण सेवा जेभीलाई ठेक्का दियो । सम्झौताअनुसार ५ साउन ०६८ सम्ममा निर्माण नसकिएपछि ४ माघ ०६९ सम्मका लागि म्याद थपियो । तैपनि, अहिलेसम्म पुल बनेको छैन । निर्माण प्रगति ६० प्रतिशत मात्रै छ ।

    संखुवासभा र भोजपुर जोड्न अरुण नदीमा पुल बनाउन सडक विभागले २४ असार २०७० मा सक्ने गरी २५ असार २०६७ मा स्वच्छन्द निर्माण सेवा लिमिटेडलाई ठेक्का दियो । समयमा काम नसकिएपछि २४ असार २०७४ सम्मका लागि म्याद पनि थप गरियो । तैपनि, अहिलेसम्म पुल बनेको छैन, एकचौथाइ काम मात्र भएको छ ।
    पर्साको भेडिहारी उपस्वास्थ्य चौकी स्तरोन्नतिका लागि १७ असार २०६८ मा भवन निर्माण विभागले स्वास्तिक श्री विनायक निर्माण सेवालाई ठेक्का दियो । १६ भदौ २०६९ मा सम्पन्न गरिसक्नुपर्ने काम नसकिएपछि १६ फागुन २०६९ सम्मका लागि म्याद थप गरियो । फेरि पनि ठेक्काको प्रगति २५ प्रतिशत मात्र छ ।
    (राजधानी दैनिकबाट)

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…