• काठमाडौं । नेपालबाट रोजगारीमा जाने कामदारको रोजाइमा मलेसिया परेको छ। चालू आव २०७४–७५ को साउनदेखि पुस मसान्तसम्ममा नयाँ भिसामा रोजगारीका लागि गएका कामदारमध्ये ३४ प्रतिशत मलेसिया पुगेका छन्।

    चालू आवको ६ महिनामा नयाँ कामका लागि (म्यानपावरमार्फत) कुल एक लाख ६९ हजार एक सय ९० जना विश्वका विभिन्न मुलुक गइसकेका छन्।

    यसमा मलेसिया जाने कामदारको संख्या ५८ हजार ६ सय ५९ रहेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी बताउँछन्।

    मलेसिया नेपाली कामदारको लागि सहज गन्तव्य पनि हो। खाडीको तुलनामा मलेसिया जाने कामदारले आम्दानी बढी गर्छन्। नेपाली कामदारका लागि मलेसियाको हावापानी पनि सुहाउँदो छ।

    सरकारले दुई वर्ष अगाडि लागू गरेको फ्री भिसा तथा टिकटको नियमले गत आवसम्म मलेसिया जाने कामदारको संख्यामा गिरावट आको थियो। मलेसिया सरकारले लामो समयदेखि अवैधानिक रूपमा काम गर्दै आएका कामदारलाई आफ्नै देश फिर्ता गर्दै नयाँ कामदार लैजान थालेको छ।

    नेपाली कामदारका लागि पहिलो गन्तव्य बनेको कतारमा खाडी राष्ट्रको नाकाबन्दीले विकल्पको रूपमा मलेसिया रोज्न पुगेका छन्। यसको कारण मलेसिया जाने कामदारको संख्याका वृद्धि आएको हो। विगत दुई वर्षदेखि मासिक १० देखि ११ हजार कामदार कतार जाने गरेको भए पनि अहिले त्यो संख्या सरदर सात हजारमा झरेको छ।

    तर, मासिक पाँच हजारको संख्याका मलेसिया जाने गरे पनि चालू आवको पहिलो महिना देखिनै मलेसिया जानेको संख्या सरदर १० हजार छ। नयाँ कामका लागि मलेसिया जाने कामदारको संख्या बढे पनि पुनः बिदामा आई फर्कनेको संख्यामा भने कतार नै अगाडि छ।

    चालू आवको ६ महिनामा नयाँ कामका लागि एक लाख ६९ हजार एक सय ९० जना विश्वका विभिन्न मुलुक गइसकेका छन्।

    यसैगरी चालू आवको पहिलो ६ महिनामा नयाँ कामका लागि विदेश गएका कामदारमध्ये २७ प्रतिशत कतार, १६ प्रतिशत दुबई, १३ प्रतिशत साउदी, ४ प्रतिशत कुवेत र अन्य देश जानेको संख्या ६ प्रतिशत छ।

    विभागका अनुसार ६ महिनामा नयाँ कामका लागि म्यानपावरमार्फत कतार ४५ हजार , दुबई २६ हजार आठ सय १८, साउदी २२ हजार तीन सय ४५ र कुवेत ६६ सय ७३ जना गएका छन्।

    ६ महिनामा सवा तीन लाख
    तर, सम्रगमा भने चालू आव २०७४–०७५ को ६ महिनामा वैदेशिक रोजगारीका लागि तीन लाख १२ हजार नौ सय ६२ युवा बिदेसिएका छन्। आन्तरिक बजारमा रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा युवा बिदेसिने क्रम रोकिएको छैन।

    वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्ममा नयाँ कामको खोजिमा म्यानपावरमार्फत रोजगारीका लागि एक लाख ६९ हजार एक सय ९० विदेसिएका छन्।

    यसैगरी ६ महिनाकै अवधिमा बिदामा नेपाल आई पुनः रोजगारीकै लागि विदेश जाने युवाको संख्या एक लाख २६ हजार आठ सय ९८ जना छ। साथै, व्यक्तिगत र विभिन्न माध्यमबाट विदेश पुगी वैधानिक मान्यता लिनेको संख्या १४ हजार दुई सय २२ रहेको विभागका प्रवक्ता अधिकारी बताउँछन्।

    यसैगरी चालू आवको पहिलो ६ महिनामा रोजगारीका लागि कोरिया जानेको संख्या २६ सय ४८ छ। गत आवमा नयाँ कामका लागि म्यानपावरमार्फत एक लाख ७४ हजार सात सय ६१ जना विश्वका विभिन्न देश पुगेका थिए।

    तर, चालू आवमा नयाँ कामको खोजीका जाने कामदारको संख्यामा पाँच हजार पाँच सय ७१ ले कमी आएको छ। यसैगरी गत आवको पहिलो ६ महिनामा बिदामा आई पुनः विदेश जाने कामदारको संख्या एक लाख ३२ हजार ६५ थियो। चालू आव २०७४-०७५ मा यो संख्यामा पनि साढे तीन हजारले कमी आएको छ।

    अर्थतन्त्रमा असर
    वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दा त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्ने अर्थविद् बताउँछन्। सरकारले फ्री भिसा तथा टिकटको निर्णय लागू गरेदेखि वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आएको छ। यसको प्रत्यक्ष असर रेमिट्यान्समा देखिएको छ।

    वैदेशिक रोजगारीका जाने घटेपछि रेमिटेन्सको वृद्धिदर घट्दो छ। चालू आवको पाँच महिनामै रेमिट्यान्स ऋणात्मक भइसकेको छ। देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा समेत रेमिट्यान्सको योगदान घटेको छ।

    गत आवमा रेमिट्यान्सको योगदान अघिल्लो आवभन्दा तीन प्रतिशतले गिरावट आएको छ। गत आवमा रेमिट्यान्सको योगदान जीडीपीमा २६.८ प्रतिशतमा झरेको छ। अघिल्लो आवमा रेमिट्यान्सको योगदान २९.६ प्रतिशत थियो।

    चालू आवमा वैदेशिक रोजगारीमा जानेको संख्या
    महिना जम्मा

    पुस ५२५१०

    मंसिर ५२८४२

    कात्तिक ६०२२२

    असोज ४९२२३

    भदौ ५१०७६

    साउन ४६३१७

    स्रोतः वैदेशिक रोजगार विभाग (अन्नपूर्ण पोष्ट दैनिक)

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…