•  

    काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ ।
    राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन । अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्राडा विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।
    सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले आवश्यक पूर्वाधारको तयारी गरिसकेका छौँ । कोरोना जोखिम न्यूनीकरणका लागि पनि स्वास्थ्य सेवा विभागले दिएको प्रतिवेदनका आधारमा आवश्यक सुरक्षात्मक व्यवस्था तयारी गरिसकेका छौँ । हरसम्भव रूपमा सुरक्षित तवरले बैठक सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।’’
    चालू अधिवेशन सरकारका वार्षिक कार्यक्रम पेससँगै बजेट पनि प्रस्तुत हुनेछ । संवैधानिक समयसीमा अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । संसद् सञ्चालन नियमावलीको व्यवस्था अनुसार बजेट प्रस्तुतअघि कम्तीमा १५ दिन पहिले पूर्वबजेट छलफल हुनेछ । पूर्वबजेटपछि नीति तथा कार्यक्रममा छलफल हुनेछ ।

    जेठ २ मा नीति तथा कार्यक्रम
    यसैबीच संसद सचिवालयले अधिवेशनको प्रारम्भसँगै बजेट पारितसम्मको तालिका प्रस्ताव गरेको छ । राष्ट्रिय सभाले सम्भावित कार्यतालिका प्रकाशित गरिसकेको छ । प्रतिनिधि सभाले कार्यतालिका सार्वजनिक गरेको छैन । सम्भावित कार्यतालिका अनुसार वैशाख २८ गतेबाट पूर्वबजेट छलफल गर्ने तयारी छ । दुई दिनसम्म छलफल चलाउने सचिवालयको तयारी छ । अघिल्लो वर्ष पूर्वबजेट छलफल भएको थिएन । योपटक केही दिन कटौती गरी छलफल गर्न लागिएको हो ।
    यस्तै, जेठ २ गते सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सचिवालयले गरेको छ । संशोधन दर्तापछि नीति तथा कार्यक्रम जेठ ४ गतेबाट छलफल प्रारम्भ गर्ने तयारी छ । बजेट प्रस्तुत नहुँदासम्म सदनमा आर्थिक सर्वेक्षण प्रस्तुत लगायतका कार्यसूची रहनेछन् । जेठ १५ गते भने सरकारका तर्फबाट वार्षिक बजेट प्रस्तुत हुनेछ ।

    स्वाब सङ्कलन
    यसैबीच अधिवेशन प्रारम्भअघि बैठकमा सहभागी हुने सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण प्रक्रिया प्रारम्भ भएको छ । सचिवालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा बिहीबार स्वाब सङ्कलन गरेको हो । जोखिमपूर्ण क्षेत्रबाट
    काठमाडौँ फर्किनुभएका सांसद, सुरक्षाकर्मी तथा कार्यव्यवस्था परामर्श समितिमा रहने कर्मचारीको
    पहिलो चरणमा स्वाब सङ्कलन गरिएको हो ।
    संसद् सचिवालयका अनुसार बिहीबार ४४१ जनाको स्वाब सङ्कलन भएको छ । जसमा प्रतिनिधि सभातर्फ १७९ र राष्ट्रिय सभातर्फ ३३ जनाको स्वाब सङ्कलन भएको छ । यस्तै, कर्मचारी र मर्यादापालक २२९ जनाको पनि स्वाब सङ्कलन भएको छ ।
    सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बाँकी रहेका सांसद तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म सङ्कलन हुनेछ । संसद् भवनको ल्होत्से हलमा स्वाब सङ्कलन हुनेछ । परीक्षण प्रतिवेदन नआएसम्म बैठकमा सहभागी नहुन सदस्यहरूलाई आग्रह गरिएको छ ।
    (गोरखापत्र अनलाइनबाट)

    ad
    ad
    ad

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…