• काठमाडौँ, जेठ २ गते । अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेका छन । यस्तै निजीस्तरबाट सञ्चालित अस्पतालले पनि सेवाग्राहीसँग मनपरी शुल्क लिने गरेका छन ।
    उपभोक्ताको उजुरीका आधारमा मङ्गलबार सरकारी टोलीले काठमाडौँको ठमेलस्थित मनमोहन अस्पताल र मिनभवन फार्मेसीको क्लिनिकले सेवाग्राहीसँग मनलाग्दी शुल्य लिएको प्रमाणित भएपछि क्रमशः दुई लाख ५० हजार र दुई लाख रूपियाँ जरिवाना गरेको छ ।
    उपभोक्ताको उजुरीका आधारमा अनुगमनका लागि पुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले दर्ता शुल्क एक हजार ७०० रूपियाँसम्म लिएको पाएपछि उक्त जरिवाना गरिएको हो ।

    विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बढी मूल्य लिने निजी अस्पताल फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ मा गरिएको व्यवस्था अनुसार जरिवाना गरिएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा औषधि पसल र अस्पतालमा सेवाग्राही ठगिएको गुनासो धेरै आएपछि पछिल्लो पटक अस्पताल र फार्मेसी क्लिनिकको अनुगमन गर्न थालेको जानकारी दिनुभयो ।
    उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले बजारमा सरकारी अनुगमनकारी निकायको उजुरी विना उपस्थिति हुन नसक्दा लकडाउनको अवसर छोपी निजी अस्पताल र औषधि पसलले उपभोक्तासँग मनपरी रूपमा शुल्क लिने गरेको आरोप लगाउनुभयो । साथै उहाँले साना खुद्रा पसलभन्दा ठूला डिपाटमेन्टले उपभोक्तालाई खुला रूपमा लुट्ने गरेको आरोप लगाउनुभयो ।

    यता बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने लकडाउनमा बेलामा दैनिक उपभोग्य सामान खरिदमा उपभोक्तामाथि हुन सक्ने ठगीलाई ध्यानमा राखेर अनुगमन तीब्र पारेको जनाएको छ ।
    विभागका महानिर्देशक सुवेदीले अप्ठारो अवस्थामा बजारमा उपभोक्तामाथि पर्ने सक्ने ठगीका विषयमा केन्द्रित भएर अनुगमनलाई तीब्रता दिएको दाबी गर्नुभयो । विभागका अनुसार लकडाउनको अवधिमा १४८ वटा व्यापारिक फर्मको अनुगमन गरी जरिवाना गरेको छ भने दुई वटा व्यवसायी फर्म मुद्दा चलाउने प्रक्रियामा छन । यस अवधिमा अनुगमन गरिएको व्यापारिक फर्ममध्ये झण्डै आधालाई जरिवाना गरेर करिब ९० लाख रूपियाँ असुल भएको विभागले जनाएको छ ।
    उहाँका अनुसार यस अवधिमा बढी जरिवाना तिर्ने विगमार्ट, भाटभटेनी सेलबेरी जस्ता ठूला व्यापारिक फर्म रहेका छन । ती व्यापारिक फर्मलाई दुई लाखदेखि तीन लाख रूपियाँ जरिवाना गरिएको छ ।
    लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले डेली ग्रोसरी प्रालिलाई दुई लाखका दरले जरिवाना गराइएको विभागले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…