पुष्कर खड्का
काठमाडौँ - नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको अाधिकारीक जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ । नेपालमा अहिलेसम्म ३४ सय ४८ जनामा कोरोना पुष्टि भएकोमा ४ सय ६७ जना उपचारपछि निको भएका छन् ।
अहिले पनि १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टीनमा र २९ सय ६८ जना आइसोलेशनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।