पूर्व पश्चिम राजमार्गका पुल तथा कल्भर्ट जीर्ण ः यात्रा जोखिम बन्दै
झापा, २७ जेठ ।
पूर्व पश्चिम राजमार्गमा वि सं २०२८÷२९ साततिर निर्माण भएका अधिकाम्स पुल तथा कल्भर्ट उचित मर्मत तथा जीर्णोद्धार नहुँदा यात्रा जोखिम मोलेर यात्रु हिडिँरहेका छन् ।
मेची महाकाली सडक खण्डमा सयौं पुल जीर्ण हुँदा त्यहाँ आवत जावत गर्ने यात्रुवाहक सवारीका साधन जोखिम मोलेर यात्रु हिँडाइ रहेका हुन् ।
पछिल्लो पटक झापाको मेचीनगर–१० गोलबारीस्थित पूर्व–पश्चिम राजमार्गको हडिया पुलको पूर्वीदक्षिणी भाग भत्किएको छ । सो पुल अघिल्लै वर्ष भत्किएको भए पनि सडक विभागले मर्मतका लागि चासो नदेखाउँदा त्यहीँबाट यात्रु तथा मालबाहक सवारीका साधन हिँडिरहेका छन् । अघिल्लो वर्ष सामान्य टालटुल गर्दा हुने गरी भत्किएको यस वर्ष पुलको एक छेउमा दुई मिटर धाजा फाटेर रेलिङ कोल्टे परिसकेको छ । धाँजा फाटेको भाग बढ्दै जाँदा बेलैमा मर्मत सम्भार नगरिए राजमार्गको आवागमनमा अवरोध पुग्नसक्ने जोखिम बढिरहेको छ ।
पुल आसपासका स्थानीयवासीले पुल भत्किन लागेको जानकारी सडक विभागलाई सात महिनाअघि नै गराइएको बताउने गर्छन् । सो पुल ५७ दशमलब ५० मिटर लामो छ । पुल भत्किएको स्थान जनाउने कुनै सङ्केत पनि राखिएको छैन । जसले गर्दा रात्रीकालिन यात्रुबाहक सवारी साधन दुर्घटनामा पर्ने जोखिम बढी देखिएको छ ।
पाँच वर्षअघि सोही वडाको लालपानीस्थित पूर्वपश्चिम राजमार्गकै ढुकुरे पुल र विर्तामोडस्थित नयाँ बसपार्कको कल्भर्ट यसरी नै भत्किँदा लामो समय राजमार्ग अवरुद्ध भएको थियो । पूर्व पश्चिम राजमार्गसँगै ५० वर्षअघि निर्माण भएका यस्ता पुल र कल्भर्टहरु धेरै स्थानमा जीर्ण भइसकेका छन् । झापा खण्डमा मात्र आधादर्जनबढी पुल कल्भर्ट मर्मत नगरिए जुनसुकै बेला भत्कन सक्ने अवस्थामा पुगिसकेका छन् । दमकको लखनपुरमा समेत केही वर्षअघि कल्भर्ट भत्किँदा राजमार्ग लामो समयसम्म अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय दमकका इञ्जीनियर चण्डेश्वर साहले हडिया पुल भत्किन थालेको जानकारी पाइसकेको भन्दै यही असार मसान्तभित्र मर्मत सम्भार गरिसक्ने बताए । साहले अन्य पुल तथा कल्भर्टहरूको अवस्था अध्ययन गरी मर्मत कार्यलाइृ तीव्रता दिने जनाए ।