२ असार, काठमाडौ । जिल्ला अदालत काठमाडौंले प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेललाई साधारण तारिखमा छोड्ने आदेश गरेको छ ।
लुटपाट घटनामा संलग्न रहेको आरोप लागेलगत्तै फरार रहेका ढुंगेल मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए ।
उपस्थित भएलगत्तै उनलाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा छोड्ने आदेश गरेको जिल्ला अदालत काठमाडाैंका स्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।
उनीमाथि गत वर्ष २६ चैतमा महाराजगञ्ज निवासी लालेन्द्र शेरचनको घरमा लुटपाट घटनाका अभियुक्तसँग फोन सम्पर्क भएको खुलेको थियो । त्यसलगत्तै उनी निलम्बनमा परेका थिए भने सम्पर्कविहीनसमेत भएका थिए ।
शेरचनको घरमा लुटपाट घटनाका अन्य अभियुक्त भने हाल पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । अदालतले साधारण तारिखमा छोडेलगत्तै उनको निलम्बन फुकुवा भएको छ ।