• काठमाडौँ, १३ साउन – मुलुकभर आज थप ३११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको जम्मा पाँच हजार ३२ पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको छ ।

    यसैगरी कोरोनाका कारण थप एक जनाको निधन भएको छ । बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको यही साउन ९ गते आफ्नै घरमा निधन भएको हो । दम रोगका बिरामी उहाँ गत असार २४ गते भारतको बैंगलोरबाट घर फर्कनुभएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या जम्मा ४९ पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    साथै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १२१ रहेको र हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १३ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३९ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १५ हजार ३३१ व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो ।

    सरकारले हाल काठमाडौँ उपत्यका प्रवेश गर्ने विभिन्न तीन नाकाबाट कोरोना सङ्क्रमण जाँचका लागि नमूना सङ्कलन गरिरहेको छ । यसैक्रममा आज साँझ ४ बजेसम्ममा फर्फिङ नाकाबाट ९५५, थानकोट नागढुङ्गाबाट दुई हजार ९१४ र साँगा ९४४ गरी जम्मा चार हजार ८१३ पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।

    उक्त नमूनाको रिपोर्ट आएपछि यथाशिघ्र जानकारी गराइने मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो । मुलुकमा बन्दाबन्दी खुलेपनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…