मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा करिव १९ करोडको लागतमा १५ बेडको अस्पताल बन्ने भएको छ ।
संघीय सरकारको योजनामा १८ करोड ६८ लाख दुई हजारको लागतमा अस्पताल बन्न लागेको हो । आज (सोमबार) कार्यपालिका सदस्य, जग्गा दाता र राजनीति दलका नेताहरुको उपस्तिथिमा अस्पतालको नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोलाको हातबाट शिलान्यास भएको हो ।
नगरमा पथरी नगर अस्पताल भएकै स्थानमा उक्त भवन बन्न लागेको हो । कार्यक्रममा जग्गा दाताहरुको तर्फबाट बाबुराम राईले शुभकामना मन्तब्य राखेका थिए ।
संघीय सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल निर्माण गर्ने योजना अनुसार पथरीमा पनि अस्पताल बन्न लागेको हो । सरकारले सातै प्रदेशमा सरूवा रोग अस्पताल समेत निर्माण गर्न लागेको हो ।