काठमाडौं–चीनसँगको केरुङ नाका हुँदै काठमाडौंसम्म आइपुगेको ८८ किलो अवैध सुन सोमबार बिहान प्रहरीले गोप्य सूचनाको आधारमा राजधानीको क्षत्रपाटीबाट समात्यो । तर, उक्त सुनलाई तस्करले सुरक्षा निकायका दर्जन बढी चेकपोष्ट पार गर्दै काठमाडौं भित्र्याउन सफल भए ।
सुन केरुङबाट नुवाकोट–धादिङ रुटको सडकमार्ग हुँदै नागढुंगाबाट काठमाडौं भित्र्याएको अनुमान गरिएको एक प्रहरी अधिकारीले बताए ।
केरुङ–त्रिशूली–गल्छी (धादिङ) हुँदै काठमाडौं आउने रुटमा डेढ दर्जन सुरक्षा निकायका चेकपोस्ट रहेका छन् । तरपनि, सुन सबै चेकपोस्ट पार गर्दै काठमाडौं भित्रिन सफल भएको हो ।
रसुवामा सरुवागढीस्थित गढी पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचाल गरिएको छ भने सो नजिकै पर्ने टिमुरे भन्सार यार्डमा सशस्त्र र आर्मीको चेकपोस्ट रहेको छ । यस्तै टिमुरेमा प्रहरीको अर्को चेकपोस्ट पनि रहेको छ । जहाँ नेपाल प्रहरीको इन्सपेक्टरको कमान्डमा प्रहरी खटिएका हुन्छ ।
यस्तै रसुवाकै स्याफुबेसीमा नेपाल प्रहरी, धुन्चेको तल्लो भागमा र शिव मन्दीर नजिकै सशस्त्रको चेकपोस्ट रहेको छ भने धुन्चे गेटमा नेपाल प्रहरी, लाङटाङ राष्ट्रिय निकुञ्जस्थित ग्राबलमा नेपाल आर्मीको चेकपोस्ट रहेको छ ।
यसैगरी कालिकास्थानमा आर्मीको अर्को चेकपोस्ट पनि रहेको छ । यस्तै कालिकास्थल नजिकै इकाका प्रहरी कार्यालय कालिकास्थान रहेको छ भने नुवाकोट सरुवाको सीमा क्षेत्र बेत्रावतीमा प्रहरी चौकी रहेको छ ।
नुवाकोटमा सिमलटार, बिदुर बजार, देबीघाट र तारुकामा पनि प्रहरी चेकपोस्ट रहेको छ । यस्तै धादिङको गल्छी हुँदै काठमाडौंको नागढुंगासम्म आइपुग्दा गल्छी, सिम्ले, धार्के र खानीखोलामा चेकपोस्ट रहेको छ भने काठमाडौंमा नागढुंगा र थाङकोटमा मुख्य चेकपोस्ट रहेको छ ।
गल्छी–त्रिशूली रुट नभई पासाङल्हामु मार्गहुँदै सो सुन तस्करले काठमाडौं भित्र्याएको भए पनि तादी, पैतीस किलो, ओखरपौवा, ककनीलगायतका स्थानमा प्रहरी मुख्य पोस्ट रहेको छ भने टोखा छहरे मार्ग रोजेको भएपनि छहरे र ढिकुरेमा मुख्य चेकपोस्ट रहेका छन् । तर, प्रहरीले गल्छी–त्रिशूली हुँदै थाङकोट नाकाबाट भित्रिएको बताएकाले सबैभन्दा बढी चेकपोस्ट पार गर्दै सुरक्षित रुपमा काठमाडौं आइपुगेको देखिन्छ ।
तर, काठमाडौंबाट यसरी फन्दामा
महानगरीय अपराध महाशाखालाई तीन दिन अघि विशेष स्रोत मार्फत सुन तस्करीको विषयमा केहि सुचना प्रवाह भएको थियो । सोही सूचनाका आधारमा अपराध महाशाखाले शंकास्पद गतिविधिमा निगरानी बढाएको थियो । सोही सुचनालाई फलो गर्दै जाँदा प्रहरीले ईतिहासकै सर्वाधिक परिणामको सुन बरामद गर्न सफल भयो ।
प्रहरीको स्रोतले सुन राजधानी भित्रिएको जानकारी दिएपछि अपराध महाशाखाले आफ्नो गतिविधि थप बढाउदै गयो । प्रहरीले आयात गरिएको सुन क्षेत्रपाटीमा रहेको सुइंको पायो । लक्षित स्थानमा पुगेको प्रहरी टोलीले बा.१७ च ६४२७ नम्बरको सडकमा पार्कीङ गरेको गाडीलाई कब्जामा लिएर खानतलासी शुरु गर्यो । खानतलासीबाट अवैध रुपमा भित्रीएको ८८ केजी सुन बरामद गर्न सफल प्रहरी सफल रह्रयो ।
चीनबाट अवैध रुपमा ल्याइएको सुनलाई तस्करहरुले केरुङ सीमा नाका प्रयोग गर्ने क्रमलाई बढाएको देखिन्छ । गत साता अपराध अनुसन्धान व्युरोले बरामद गरेको १५ केजी अवैध सुन पनि सोहि नाका हुंदै तस्करहरुले भित्रयाएका थिए । चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपाली तस्करहरुले सुन भित्र्याउने गरेको प्रहरीको भनाई छ । यसअघि चीनबाट सुन भित्र्याउन तस्करहरुले तातोपानी नाका प्रयोग गर्थे ।
कहाँ जान्छ अवैध सुन ?
प्रहरीको पछिल्लो अनुसन्धानले सुन गिरोहमा नेपाली तस्करका साथै चिनियाँ र बिदेशी नागरिकहरु पनि पनि संम्लग्न भएको देखाएको छ । भाद्र १४ मा प्रहरीले बरामद गरेको सुन तस्करीमा सिन्धुपाल्चोकका ग्याल्बु लामाको कोठाबाट १४ केजी सुन भेटिएको थियो भने दुई केजी भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उक्त घटनाबाट प्रहरीले सुन तस्करीमा अन्तराष्ट्रिय गिरोह पनि संलग्न रहेको निक्र्यौल गरेको हो । सोमबार बरामद गरिएको सुनलाई तस्करहरुले पु–याउदै गरेको स्थानबारे प्रहरीले थप अनुसन्धान गर्दै गरेको अपराध महाशाखाका एसपी दिवेश लोहनीले जानकारी गराए ।
भरिया पक्राउ , मुख्य नाइके फरार
प्रहरीले तस्करीबाट बरामद गरेको यसपटकको सुन परिणाम सर्वाधिक मुल्यको छ । तर सुन तस्करीमा संलग्न मुख्य नाईकेलाई पक्रने प्रयास सफल यसपटक पनि हुनसकेन । ८८ केजी सुन सहित प्रहरीले गाडी चालक मकवानपुरका मनोज अधिकारीलाई पक्रन सफल भयो तर नाइके फरार छन् ।
आजको बजार मूल्य अनुसार ४३ करोड १८ लाख ८ हजार ६७९ रुपयाँ रहेको सुन तस्करकीका मुख्य नाईके केहि समयमा पक्राउ पर्नेमा लोहनी आशावादी देखिए । सुन तस्करीको जालो र तस्करका ग्राहक अनुसन्धानबाट खुल्ने उनले बताए ।
प्रकरणले उठाएका दुई प्रश्न
१. यति धेरै चेकपोस्ट छल्न सकिन्छ भने प्रहरीको जाँच प्रणालीमाथि कमजोरी छ कि ?
२. सबै चेकपोस्टमा सेटिङ मिलाएर तस्करले सुन काठमाडौं ल्याएका हुन् कि ?
अनुसन्धान गरिरहेको प्रहरीले यी प्रश्नको जवाफ चाहिँ खोज्छ कि खोज्दैन केहि दिन पर्खनुको विकल्प छैन ।