•  मलेखु (धादिङ), १५ भदौ: धादिङको धुनिबँेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ,  धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् ।

    शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ ।

    उद्योग सञ्चालन हुन थालेको केही वर्षयता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताए पनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्नुहुन्छ, “उद्योगबाट निस्कने प्रदूषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छाडेर जानुपर्ने अवस्था आयो ।”

    सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण जुगेडीका करिब दुई सय ३० प्रत्यक्ष मारमा छन् । स्थानीयका अनुसार यहाँका करिब ५० जनाभन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफूखुसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिको रोहबरमा जाँच गराएका छन् ।

    जाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिले स्वास्थ्यकर्मीलाई नै दबाबमा पार्ने गरेको पीडितको भनाइ छ । जाँच गरेपछि अस्पतालले दिएको रिपोर्टसमेत उद्योगका मानिसले राखेर आफूलाई हेर्न नदिएको उनीहरु बताउँछन् । घाँटी सुक्खा हुने र शरीरमा फोका आएर चिलाउने समस्या भएपछि केही दिनअघिमात्रै काठमाडौँको वीर अस्पतालमा जाँच गराउँदाको रिपोर्ट नदिएको राईले बताउनुभयो ।

    “अस्पताल पुग्ने बित्तिकै टिकट उद्योगकै प्रतिनिधिले काट्नुभयो, लाइन बस्नु पनि परेन, सुरुमा दुई जनालाई सिधै भित्र छिराउनुभयो, रिपोर्टमा चाही केही देखिएन, सामान्य छ भन्यो”, उहाँले भन्नुभयो । रिपोर्ट हामीलाई दिनुभएन”, राईले भन्नुभयो, “पहिला पनि जाँच गरेको केही देखिएन भन्नुभयो, रिपोर्ट हामीलाई दिनुस्भन्दा माथि देखाउनुपर्छ, तपाइको घरघरमै ल्याइदिन्छौँ भनेर हामीलाई हेर्नै नदिइ लग्नुभयो, हामीलाई रिपोर्ट हेर्न दिएन ।”

    उहाँका अनुसार जाँचका क्रममा रगत, खकार, पिसाब, मधुमेह, रक्तचाप सबै जाँच भएको र डाक्टरले पनि कुनै समस्या नदेखिएको मौखिक जवाफ दिएको थियो । “हामीलाई रोग नै नलागेको हो की उद्योगका व्यक्तिले डाक्टरलाई नै दबाबमा राखेर लुकाइदिन लगाइदियो हामीले पत्तो लाउन सकेनौँ”, स्थानीय शोभा राइले भन्नुभयो ।

    शोभाको घरमा शोभासहित श्रीमान् र छोराले पनि नियमित एलर्जीको औषधि प्रयोग गरिरहनुभएको छ । अस्पताल जाँदा एलर्जी हो भनेर पठाउने गरेको र के कारण एलर्जी भयो भन्ने कुरा नखुलाइदिने गरेको उहाँको भनाइ छ । उद्योग सञ्चालनमा आएको पाँच÷छ वर्षसम्म खासै समस्या नभए पनि विस्तारै असर देखिन थालेको स्थानीयको भनाइ छ । वृद्धवृद्धामा दम खोकीको समस्या देखिएको स्थानीय रमेश राईले बताउनुभयो ।

    उद्योगबाट निस्कने प्रदूषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर पारेको छ । “मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनी फल्दैन, फले पनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, कृषिउपज उत्पादनको पकेट क्षेत्रमा फलफूल र तरकारीको उत्पादन नै हुन छाड्यो”, राईले भन्नुभयो ।

    अहिले उनीहरुले समूहगत रुपमै सिमेन्ट उद्योगविरुद्ध दबाब दिने अभियानसमेत चलाएका छन् । स्थानिय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनेको छ । स्थानीयले उद्योग र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्रसमेत पेश गरेका पनि छन् ।
     

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…