• इलामको क्षेत्र नं २ का चिया पसलदेखि सडक र राजनीतिक दलका क्याविनेटसम्म यतिखेर पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिं थेगिमको चर्चा छ । इलामको फाकफोकथुम गाउँपालिका–३, का ६२ वर्षीय थेगिम पूर्वशिक्षक हुन् ।  थेगिमले २२ वर्षसम्म स्कूल पढाएका थिए । २०३४ सालदेखि पढाउन थालेका थेगिमले फाकफोकको सल्लेरी विद्यालय, सिंहदेवी मावि आमचोकमा पढाए । २०६३ सालदेखि भने १० वर्षसम्म फाकफोक स्रोतकेन्द्र र गजुरमुखी स्रोतकेन्द्रको श्रोत व्यक्ति भएर सेवा गरेका छन् । त्यसपछि सेवा निवृत्त थेगिम पहिचानकै आन्दोलनमा सक्रिय रहँदै आएका छन् । उनलाई यस क्षेत्रमा जेहन्दार, कर्मशिल र बुद्धिजीवी पात्रको रुपमा चिन्नेहरुको जमात ठूलो छ ।

    २०५८ सालमा किरात धर्ममा हर्कध्वज चेम्जोङबाट साङदाङवा रुमसाबा दीक्षा प्राप्त गरेका थेगिमले २०५९ मा नालीफुङ्वा पाङ्भे पान्जुम्भोको आमचोक गाविसको अध्यक्ष भए ।

    २०६० चैतमा सम्पन्न किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय समितिको महाधिवेशनमा किरात धर्मगुरु आत्मानन्द लिङ्देनबाट अध्यक्ष मनोनित भए । २०६५ चैत र २०७१ वैशाखमा सम्पन्न महाधिवेशनबाट पनि उनी अध्यक्षमै मनोनित भए ।

    किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय समितिको अध्यक्ष नै महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्ष हुने प्रचलन रहेकाले उनी प्रतिष्ठानको समेत अध्यक्ष थिए ।

    उपनिर्वाचनमा उम्मेदवार बन्ने भएपछि थेगिमले दुवै संस्थाको अध्यक्षबाट राजीनामा घोषणा गरेका छन् । शिक्षण पेशा, धार्मिक एवं सामाजिक अभियानसँगै थेगिमले नेकपा एमाले निकट भएर काम गरेका थिए । उनी लामो समय एमाले निकट राष्ट्रिय शिक्षक संगठनमा आवद्ध थिए ।

    शिक्षकबाट अवकाश पाएपछि पनि एमाले नजिक रहेका थेगिम गत वर्ष १७ फागुमा प्रदेशको नाम कोशी राख्ने निर्णयपछि पहिचानको आन्दोलनमा छन् । तिनै थेगिमलाई पहिचान पक्षधर ४१ घटकले साझा उम्मेदवार बनाएर आफ्नो आन्दोलनको स्वरुपलाई समेत तत्काल परिवर्तन गरेका छन् । उनको पारिवारिक पृष्ठभूमि हेर्नेहो भने उनका बुबा असारसिं थेगिम साविक आमचोक गाउँ पञ्चायतमा २ पटक प्रधानपञ्च भइ गरेको योगदान अहिलेको फाकफोकथुमबासीले भूलेका छैनन् ।  

    डकेन्द्रलाई ४१ संस्थाको समर्थन
     प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाएर सडक आन्दोलन गर्दै आएका पहिचान पक्षधर अभियान्ताहरुले इलाम–२ मा हुने उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनीहरुले डकेन्द्रसिं थेगिमलाई साझा उम्मेदवारका रुपमा अगाडि बढाएर चुनावी मैदानमा उत्रिएका छन् ।
    उनीहरुले माङ्सेबुङमा पहिचान पक्षधरले बुधबार शक्ति प्रदर्शनसमेत गरेका थिए । माङ्सेबुङ गाउँपालिका–५, भालुटारमा गरिएको सभामा  इलाम २ का क्षेत्रबाट ठूलो संख्यामा मानिसहरुको स्वतस्फुर्त सहभागिता भएको आयोजकले जनाएको छ । कार्यक्रमको आयोजना प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्ट ४१ राजनीतिक तथा सामाजिक संस्थाहरुले संयुक्त रुपमा गरेका थिए । 
    इलाम–२ मा आगामी १५ वैशाखमा उपनिर्वाचन हुने भएकाले आफूहरु पनि यही केन्द्रित भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन बताउँछन् । उनका अनुसार, उपनिर्वाचनलाई पहिचान पक्षधरले आन्दोलनकै अर्को रूप मानेको छ ।
    ‘शान्तिपूर्ण युद्धका लागि देशका सबै तप्कामा पहिचानवादीहरु तयार छन् र एकजुट छन् भन्ने सन्देश दिने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका छौं’, उनी भन्छन् । ४१ वटा संस्थाहरुले डकेन्द्र सिं थेगिमलाई साझा उम्मेदवार बनाउन सक्नुले राम्रो सन्देश गइसकेको उनको तर्क छ ।

    सो कार्यक्रममा धरानका मेयर हर्क साङपाङसहित लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेण्टल लिम्बु, लिम्बुबान आन्दोलनका नेता एवं संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात राई यायोख्खाका केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई लगायत माङ्सेबुङको सभामा उपश्थित थिए । यो उपश्थिति र पहिचान पक्षधरको गठजोरलाई कायम राख्न सकेभने इलाममा यो पटक पहिचान पक्षधर नेतृत्वको उदय हुने यस क्षेत्रका बासिन्दाको बुझाइ छ ।  उनलाई जनता समाजवादी पार्टी नेपालले समेत सघाउने निर्णय गरेको छ ।

    चुनावी सभालाई सम्बोधन गर्दै लिम्बू

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …