• रामजी बलामी /काठमाडौं – गत पुस ५ गते प्रतिनिधि सभा विघटनको असफल प्रयासपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आफ्नो पोल्टामा पार्न निकै कसरत गरे । साविक नेकपाको सक्कली हकदार भएको स्वघोषणा गर्दै दुवै पक्ष करिव ३ महिनासम्म शक्ति संघर्षमा होमिए । पार्टीको नाम भन्दापनि चुनाव चिन्ह सूर्य पाउने दुवै पक्षको ध्याउन्न थियो ।

    सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बल ऋषि कट्टेलको कोर्टमा फ्याँक्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र ब्यूँतादिएपछि राजनीतिक अन्तरविरोधको बल नेकपा एमालेमा प्रवेश गरेको छ ।

    नेकपा नामको विवाद साम्य भएसँगै प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शान्त देखिन्छ । माओवादीका केही नेता एमालेमा पाइला टेकेपनि माओवादीमा आन्तरिक झमेला देखिँदैन । तर, नेकपा एमालेभित्र भने आन्तरिक द्धन्द्ध चरम उत्कर्षमा पुगेको छ ।

    पुस ५ यता नेपाली राजनीतिमा ठूलो उतारचढाव आयो । तर सोहीदेखि नै राजनीतिको केन्द्रमा रहेका प्रधानमन्त्री ओली यतिवेला पनि सोही प्वाइन्टमा स्थिर छन् । फरक यति छ कि त्यतिवेला प्रचण्ड – नेपालसँग उत्रिएका ओली अहिले माधव समूहसँग मात्र भिडिरहेका छन् ।

    प्रचण्डसँग काँध मिलाउन पुगेका नेता नेपाल र वरिष्ट नेता झलनाथ खनाल समूह एमालेमा फर्किएसँगै पार्टीमा गुटगत झमेला ब्युँतिएको हो । प्रधानमन्त्री ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको बैठक डाकेर नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल – नेपाल समूह थप चिढिएका छन् ।

    तीन महिनाको रस्साकस्सीपछि अचानक चैत २ गते पार्टी कार्यालय धुम्वाराहीमा ओली र नेपाल समूहबीच बैठक बस्यो । बैठकमा नेपाल समूहले चैत २३ गतेपछि भएका सवै निर्णय रद्द हुनुपर्ने माग राख्यो । अदालतले २०७५ जेठ ३ गते भन्दा अगाडि पार्टी एकीकरण पूर्वको अवस्थामा पुर्‍याएको र त्यही बिन्दुबाट नै पार्टी अब अगाडि बढ्नुपर्ने नेपाल पक्षको माग छ।

    ओली पक्षले भने बहुमतको निर्णय भन्दै अब निरन्तर छलफलमा बसेर समस्या समाधान गर्ने बताएको छ । तत्काल समस्या समाधान नहुने देखेपछि नेपाल समूहले चैत ४ र ५ गतेका लागि निर्धारित कार्यकर्ता भेलालाई निरन्तरता दिएको छ । ओलीले पेलेरै लैजाने देखेपछि ससंकित नेपाल समूहले आपूmहरु कारवाही भोग्न लामबद्ध रहेको बताएको छ । नेपाल समूहका नेता योगेश भट्टराईले नेताहरुलाई कारवाही गरेर पार्टी र मुलुक अघि नबढ्ने भन्दै ओलीलाई इतिहासले कठोर कारवाही गर्ने टिप्पणी गरेका छन्।

    उता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने पार्टी नेतृत्वका विरुद्ध आफुखुसी गुटगत भेला नगर्न÷नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी विधिविधान अनुसार चल्ने र कानुनका नजरमा सबै समान हुने भन्दै उनले निर्देशन विपरित गुटगत भेला भएमा कारवाही हुन सक्ने संकेत पनि गरेका छन् । प्रधानमन्त्री ओलीले सडकमा विधि विधानका कुरा गरेर नेता नेपाल पक्षले जंगलको राज गर्न चाहेको टिप्पणी गरेका छन् ।

    आफूहरुले फराकिलो सोच राखेको भन्दै ओलीले आत्मआलोचना सहित पार्टी एकताको पक्षमा उभिन नेता नेपाल समुहलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षले आव्हान गरेको चियापानमा सरिक नभएर नेता नेपाल पक्षका नेता कार्यकर्ताले राम्रो नगरेको भन्दै ओलीले धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने नसोच्न चेतावनी समेत दिएका छन् ।

    प्रधानमन्त्री ओलीले विधि र पद्धति भन्दा बाहिर गएर नेपाल पक्षले पार्टी फुटाउने काम गरेको दाबी समेत गरेका छन् ।
    गुटगत पद्धतीविरुद्ध कडा अभिव्यक्ति दिएपनि पछिल्लो समय प्रधानमन्त्री ओली केही नरम देखिएका छन् । असन्तुष्ट नेपाल पक्षसँग वार्तामा बसेर प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको भूमिका निभाएका छन् । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गर्ने इच्छा देखाएका छन् ।

    पार्टीभित्रको चर्को अन्तरविरोध र फुटले दुवै पक्षलाई ठूलो धक्का लाग्ने स्पष्ट छ । यसैकारण पनि दुवै समूह पार्टी एकढिक्का राख्ने पक्षमा छन्। तर यतिवेला एमालेमा सहमतिको हलो इख र डर मा अड्किएको देखिन्छ ।

    साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रचण्ड- नेपाल समूहले बहुमतको बलमा प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाटै हटाएको थियो । प्रधानमन्त्री ओलीले यसै विषयलाई इखको रुपमा लिएका छन् ।

    हरेक सम्वोधन र अन्तर्वातामा यही गुनासो दोहोरयाउँदै आएका ओलीले चैत ३ गते आयोजित चियापान समारोहमा पनि यही चित्त दुखाई व्यक्त गरे, ‘बाटैबाटैबाट अनेक आदेश फरमानहरु, तपाईहरु त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित ।’

    प्रधानमन्त्री ओलीले गत चैत २८ गते गरेको निर्णय पनि इखकै उपज भएको आम विश्लेषण छ । त्यसो त बहुमतको आडमा अध्यक्ष ओलीले आपूmहरुलाई पेलेरै जाने पो हुन् कि भन्ने डर नेपाल पक्षलाई लागेको छ । नेपाल समूहको पछिल्लो भेला, छलफल र जमघट ओलीसँगको संघर्ष मात्रै हो अर्थात् ओलीलाई साइजमा ल्याउने पहल मात्रै हो भन्दा अत्युक्ति नहोला । तसर्थ प्रधानमन्त्री ओलीले इख नसाध्ने र नेपाल पक्षले पार्टी अध्यक्षका नाताले ओलीसँग आन्तरिक आत्मलोचना गर्ने हो भने यो विवाद तत्कालै सल्टिने देखिन्छ ।

    लोकपथबाट 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…