• यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमङ्गले गाउँको परिचय अहिले भने फेरिएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ मा पर्ने कुइनेमङ्गलेको घ्यासीखर्कमा यातायातका साधन पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ । गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै सङ्घीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ ।
     
    तीन वर्षको लगातारको प्रयासपछि सडकको ट्र्याक निर्माणले पूर्णता पाएपछि गत फागुनको दोस्रो साता दर्मिजा, चिमखोला र कुइनेमङ्गले गाउँमा सडक पुगेको हो । सडक पुगेपछि यी गाउँको मुहार उज्यालिएको हो । विसं २०७४ मा ट्र्याक खोल्न शुरु गरिएको उक्त सडकमा गण्डकी प्रदेश सरकार, रघुगङ्गा गाउँपालिका र तुदी पावर कम्पनीको गरी रु १८ करोडभन्दा बढी रकम खर्च भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

    “आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म यस सडकखण्डमा रु १८ करोडभन्दा बढी बजेट खर्च भएको छ”, उहाँले भन्नुभयो, “सडक पुगेपछि यस क्षेत्रका तीनवटा वडामा विकासको ढोका खुलेको छ भने जनजीवन पनि सहज भएको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार यस सडकमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट कूल रु चार करोड पाँच लाख ७२ हजार ६८७ खर्च भएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले व्यक्तिगतरूपमा रु १० लाख लगानी गर्नुभएको छ ।

    त्यसैगरी यस वर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमङ्गले क्षेत्रमा जलविद्युत् निर्माण शुरु गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले रु ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयले तीन वर्षको अवधिमा रु दुई करोड ७६ लाख ४९ हजार ५२४ विनियोजन भई काम गरेको पाइएको छ ।

    ट्र्याक खुलेपछि हिजोआज दैनिकरूपमा जीप, बोलेरो, ट्र्याक्टर, मोटरसाइकल आवतजावत गर्ने थालेका छन् । यातायातका साधन सञ्चालन भएपछि गाउँ शहरसँग जोडिएको छ । स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ । कुइनेम्ङगले गाउँ अझै पनि धेरैलाई दुर्गम नै लाग्छ तर शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि गाउँको सुन्दरतामा परिवर्तन भएको छ । गाउँका स्थानीयवासी शिक्षित बन्दै गएका छन् । स्वास्थ्य, शिक्षा, खानेपानी यातायातलगायत विकासका पूर्वाधारले कुइनेमङ्गले गाउँ जोडिँदै गएको स्थानीय बुद्धिजीवी हरि छन्त्यालले बताउनुभयो । अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको हो ।
     
    विसं २०६७ देखि सडक निर्माण थालिएकामा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का वडाध्यक्ष रुकबहादुर गर्बुजाले बताउनुभयो । यस सडक सञ्जालले यस क्षेत्रका करिब पाँच हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित बनेका छन् । खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।
     
    यस क्षेत्रमा उत्पादन हुने आलु, सिमीलगायतका कृषिउपज र भेँडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पुर्याउने अपेक्षा गरिएको वडा नम्बर ८ का वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । उहाँले धौलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नसमेत सडकले सघाउने बताउनुभयो । सडक कुइनेमङ्गले गाउँवासीलाई मात्र नभएर दग्नाम, दर्मिजा र चिमखोलावासीका लागिसमेत वरदान सावित भएको छ । गाउँमा सडक नपुग्दा घण्टौँ लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता भए पनि अहिले घरघरमा व्यवसाय गर्न पाउँदा त्यस क्षेत्रका जनता दङ्ग छन् ।

    मोटरबाटोले गाउँको मुहारनै फेरिदिएको स्थानीयवासी दलमान छन्त्यालले बताउनुभयो । घरघरमै सवारी साधनले सामान ल्याउँदा गाउँमा चहलपहल बढेको उहाँको भनाइ छ । सडक सञ्जालले गाउँदेखि शहर जोडिएपछि व्यापार व्यवसाय गर्नेसमेत बढिरहेका छन् । सडक पुग्नुभन्दा पहिला घोडा खच्चडमा सामान ढुवानी हुँदै आएको थियो । अहिले पनि यदाकदा घोडा र खच्चडमा ढुवानी हुने गरे पनि पनि पहिलेको तुलनामा धेरै कम भएको छ । सडक पुगेपछि कुइनेमङ्गलेवासीलाई आवतजावतमा मात्र सहज भएको छैन उनीहरूको कष्टकर दैनिकीसमेत बदलिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…