• काठमाडौं । पत्रकार महासंघ मकवानपुर शाखाले नेपालमै पहिलो पटक पत्रकारलाई पेन्सन प्रदान गरेको छ । सोमबार हेटौंडामा औपचारिक कार्यक्रम गर्दै पत्रकार महासंघ मकवानपुरले पेन्सन वितरण गरेको हो ।

    महसंघले जेष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँ पेन्सन वितरण सुरु गरेको हो । २० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरणको काम सुरु गरिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमगाईले बताए ।

    कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर साखाका पूर्व अध्यक्ष समेत रहेका जेष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन वापतको रकम वितरण गरे । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा पत्रकार महासंघले पेन्सन कोष स्थापना गरेको छ । मेयर महतले कोषमा आगामी वर्ष फेरी बजेट थप गर्ने बताए । महासंघको संस्थागत कामका लागि उपमहानगर तयार रहेको मेयर महतले बताए । नगद रकम दिनका लागि केही कठिनाइ भएपनि फेरी पनि कोष बृद्वीका लागि सहयोग गरिने उनले बताए ।

    करिव ४० वर्षसम्म पत्रकारिता गरेर निवृत जिवन बिताइरहेका शर्मालाई चैत महिनाको ४ हजार रुपैया पेन्सन वापत वितरण गरिएको हो । २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र अबका दिनहरुमा पनि सहयोगलाई जारी राख्ने मेयर महतले बताए ।

    पत्रकार महासंघ मकवानपुर शाखाले बाणिज्य बैकमा यसअघिनै खोलीएको खातामा दश लाख रुपैयाँ जम्मा गरिएको छ । त्यही व्याजबाट पेन्सन वितरणको काम सुरु गरिएको हो । पत्रकार महासंघका ७७ वटै जिल्लाका शाखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकारलाई पेन्सन वितरणको काम सुरु गरेको अध्यक्ष हरि हुमागाईले बताए । पेन्सन सम्वन्धी कार्यविधिलाई महासंघको गाएको मंसिर २६ गतेको साधारण सभाले पारित गरेको छ ।

    महासंघ मकवानपुर शाखामा आवद्ध भएका सदस्यहरु मध्ये जेष्ठ सदस्यको वृत्ति विकास गर्नका लागि पेन्सन दिन सुरु गरिएको हो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले नेपालमै पहिलोपटक मकवानपुर महासंघले राम्रो काम गरेको बताए । प्रदेश र केन्द्रले पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेपनि त्यो कार्यान्वयन गर्नका लागि समस्या रहेको बताए ।

    राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईले बताए ।

    जेष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निबेदन र कागजपत्रका आधारमा सिफारिस गरिने कार्यबिधिमा उल्लेख छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाको पुर्व अध्यक्षहरु मध्येबाट एक जना सदस्य र पत्रकार महासंघ मकवानपुर शाखाको बैठकले सिफारिस गरेका एक जना महिला सहित अरु दुइजना सदस्य राखिने छ ।

    पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, साठी वर्ष उमेर पुरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारीतालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनिमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछी सक्रिय पत्रकारिता छोडेर बिश्राम लिएको हुनुपर्ने छ । पेन्सन कोषको सञ्चालन महासंघ मकवानपुर शाखाले विभिन्न सरकारी वा अधै सरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ती संघ, सस्था, उद्योग प्रतिष्ठान बाट प्राप्त रकम कोषमा राखिने छ ।

    कार्यक्रममा ब्रोकाष्टिङ एसोसीएसन अफ नेपालका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, प्रेस चौतारी बागमती प्रदेशका सहसंयोजक प्रकाश दाहाल, प्रेस सेन्टर बागमती प्रदेशका संयोजक सुनिल खड्का, प्रेस चौतारी मकवानपुरका संयोजक धर्मेन्द्र दाहाललगायतकाको सहभागिता रहेको थियो । राजधानीबाट ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…