भारतमा ४० वर्ष जेलजीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ ।
प्रदेश सरकारको पहलमा आज विराट मेडिकल शिक्षण अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको छ । डा. पुरु कोइरालाले उनको प्रारम्भिक जाँच गरेका छन् ।आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारका तर्फबाट समन्वय गरेका छन् । उनलाई यसै अस्पतालमा भर्ना गरी उपचार गरिने बताइएको छ ।
उनको उपचारका लागि मन्त्री कार्कीको अनुरोधमा विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले निःशुल्क गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री कार्कीका सहयोगी रवि खनालले जानकारी दिए ।उनलाई अस्पतालसम्म ल्याउन उनका भतिज गोपाल तिम्सिना साथै आएका छन् ।