बिराटनगर । प्रसुति गराउने क्रममा भ्याकुमले जर्बरजस्ती तानेर शिशुको मृत्यु भएको दावी गर्दै आफन्तले सातादेखि शव बुझ्न अस्वीकार गर्दै आन्दोलन गरिरहेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्रसुती विभागका चिकित्सकलाई कारवाहीको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।
इटहरी उपमहानगरपालिका–१ आपँगाछी निवासी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा गत चैत २५ गते डा मधु साहले भ्याकुम प्रयोग गरेको आफन्तको दावी छ । आमा र आफन्तको ईच्छा विपरित भ्याकुमले बारम्बार शिशु तान्दा टाउकोमा प्वाल, छातीमा रगत जम्नुका साथै जीउभरी निलडाम देखिएपछि आफन्त विरोधमा रहेका हुन् ।
भ्याकुम प्रयोग गरेर निकालिएको शिशुलाई जन्मिने वित्तिकै एनआईसीयूमा राखिएको र तीन घण्टामा मृत्यु भएको जानकारी आफूहरुलाई दिइएको सरिताका श्रीमान मनिषले बताए । उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर चिकित्सकलाई कारवाही हुनुपर्ने माग गर्दै नोबेलले दिने भनेको क्षतिपूर्ति अस्वीकार गर्ने दावी गरेका हुन् ।
आफन्तले शिशुको मृत्युपछि अहिलेसम्म अस्पतालबाट शव बुझेका छैनन् । सातदिनदेखि नवजात शिशुको शव अस्पतालमै छ ।
शिशुकी आमालाई आइतबार डिस्चार्ज गरी घर लगिसकिएको छ । अस्पतालमै राख्दा मानसिक समस्या हुनसक्ने संभावना देखियो, श्रीमान् मनिषले भने ( जन्मिएको छोरालाई अस्पतालले मारिदिएपनि आमाको स्वास्थ्यमा परिवारले ख्याल गर्नुपर्ने अवस्था छ ।