• उर्लाबारी । मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडकको निर्माण कार्य अलपत्र बनेपछि स्थानीयबासी आन्दोलित भएका छन् ।


    सडक कालोपत्रे निर्माण कार्य सुरु भएको करिब ९ बर्ष हुँदा पनि पूर्णता पाउन सकेको छैन । सडक कालोपत्रेको माग राख्दै बिहीबार स्थानीयबासीहरुले उर्लाबारी–५ र ६ मा पर्ने डिबी मार्ग नजिक बासँको ढाट लगाएर सडक अवरोध गरेका छन् । सडक कालोपत्रेको ठेक्का पाएका ठेकेदार बेपत्ता भएपछि सडकको निर्माण कार्य अधुरै रहेका कारण स्थानीयले सास्ती खेप्नु परेको उर्लाबारी नगरपालिका वडा नं. ५ की सदस्य देवीकला राईले जानकारी दिनुभयो ।

    २०६९ सालमा ठेक्का लागेको यो सडकको निर्माण २०७१ जेठ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । सडकको दूरवस्थाका कारण आफूहरूले दुर्घटना र धूलोको सास्ती पाएको स्थानीय कमल गुरुङले जानकारी दिनुभयो । पटक पटक सडक कालोपत्रेका लागि आन्दोलन गर्दै आएको भएपनि सम्बन्धित निकाय मौन रहेको उहाँको भनाई छ । ललितपुरको सातदोबाटोस्थित प्रेराज्योति जेभी कन्स्ट्रक्शनले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालय, विराटनगरले ठेक्का लगाएको उक्त सडक अहिले प्रदेश सरकारको मातहत छ ।

    २०७७ भदौमा मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाको बिषेश पहल तथा स्थानीय सरकार र स्थानीयवासी निरन्तरको पहलमा भगनवसेस अवस्थामा रहेको सडको निर्माण कार्य सुरु भएको थियो । ठेक्काको जिम्मा लिई काम गरेको ज्योति कन्ट्रक्सनले गुणस्तरीय र सम्झौता अनुसारको काम नगरेकाले अब सो अधुरो रहेको काम प्रेरा कन्ट्रक्सनले गर्ने सो बेला प्रेरा कन्ट्रक्सनका प्रतिनिधी भुपाल राईले बताएका थिए । तर, केही दिन काम गरेर प्रेरा कन्ट्रक्सनले पनि सडक अलपत्र पारेर छोडेको थियो ।

    गुणस्तर अनुसारको काम नगरेकाले स्थानीयहरुले पटक पटक बिभिन्न चरणमा काम गर्न दबाब दिएको स्थानीय सरोकारवाला सरोज पोख्रेलले बताउनुभभयो ।

     

    पटकपटक पत्र काटेर निर्माण सुचारु गर्न आग्रह गर्दा समेत ठेकेदार पक्ष सम्पर्कमा नआएको र सो सडक निर्माणको विषयमा अख्तियारले समेत छानबिन गरिरहेको बताइएको छ । उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकलाई यस भेगको समृद्धिको मेरुदण्ड मान्ने गरिएको छ । तर, ठेकेदारको लापरवाहीका कारण कालोपत्रे सम्पन्न हुन नपाउँदै बेहाल बनेको छ । तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले ०२८ सालमा उक्त सडक शिलान्यास गरेका थिए । उर्लाबारीबाट रविसम्मको दूरी जम्मा ५२ किलोमिटर छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किमिमा कालोपत्रे भएको थियो । बाँकी खण्ड अझै धुले छ ।

    अहिले पाँचथरको रवि बजार र आसपासका बासिन्दाले उर्लाबारी झर्नु परे मेची राजमार्गको घुमाउरो बाटो करिब दुई सय १३ किमि पार गर्नुपर्छ । रविबाट झापाको दमक जोड्ने करिब ५९ किमिको सडकको २० किमि खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वषार्याममा उक्त सडकमा पनि यातायातका साधन बन्द हुन्छन् ।

    उर्लाबारी–मधुमल्ला–रवि सडक तयार भए ती दुवै मार्गको विकल्प बन्ने मात्र नभई यात्राको समय पनि छोटिन्छ । ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाका लागि तराईसँग जोडिने सहज मार्ग पनि हो यो । उक्त सडकका कुनै खण्डमा पक्की पुल निर्माण गर्नुपर्दैन । ‘पूरै सडक कालोपत्रे गर्ने हो भने पूर्वी नेपालको समृद्धिका लागि कोशेढुंगा सावित हुन सक्छ,’ मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बाले भन्नुभयो । प्रदेश सरकारले लगानी गर्न नसकेका कारण ठेकेदारले अधुरो रहेको सडक निर्माण कार्य रोकेको जानकारी दिएको सांसद लिम्बूले बताउनुभयो । २ करोड ८० रुपैयाँ प्रदेश सरकारले राख्न नसकेको उहाँले जानकारी दिनुभयो । उक्त सडक निर्माण नहुँदा जनताले सास्ती खेप्नु परेकोमा उहाँको भनाई छ । पटक पटक आफुले पनि सडक कालोपत्रेका लागि पहलकदमी गर्दै आएको भएपनि समस्याको समाधान गर्न नसकेको उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…