काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने कोसिस गरिरहेका बेला नेकपा एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल र भीम रावल मंगलबार रात परेपछि सुटुक्क बुढानिलकण्ठ पुगेका छन् ।
नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठकमा प्रभावशाली नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले नयाँ सरकार गठनमा कसैको सहयोगी नबन्ने अडान लिएपछि नेता नेपाल देउवानिवास पुगेका छन् ।
नेपाल पक्षका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै एकताका लागि दबाब दिनुपर्ने मत राखेका छन् । जसले गर्दा नेता नेपाल अप्ठ्यारोमा परेका छन् ।
यसअघि नेता नेपाल पक्षका सांसदले राजीनामा दिएर बहुमतको सरकार बनाउन आवश्यक बहुमत पुर्याउने चर्चा चलेपछि कांग्रेस बैठकले नेपाल पक्षसँग सहयोग माग्ने निर्णय समेत गरेको थियो ।
नेता नेपाललाई दह्रिलो साथ दिइरहेका अर्का नेता भीम रावल समेत देउवासँगको सुटुक्क वार्तामा सहभागी रहेका स्रोतले जानकारी दिएको छ । नेता नेपाल, रावल लगायतका नेता सांसद पदबाट राजीनामा गरेर भएपनि ओलीविरुद्ध संसदमा बहुमत पुर्याउन सघाउनुपर्ने पक्षमा रहेका छन् ।
तर कतिपय सांसदहरू राजीनामा दिने, पार्टी फुटाउने र कांग्रेसको सरकार बनाउन सघाउने विषयमा सहमत भएका छैनन् । देउवासँगको यसअघिको भेटमा नेपाल र रावलले आफूहरू ओली सरकार ढाल्न सांसदको राजीनामा गराउन तयार रहेको वचन दिएका थिए ।
राजीनामा दिएपछि हुने उपनिर्वाचनमा कांग्रेस र माओवादीले माधव नेपाल पक्षकै सांसदलाई जिताउने समझदारी बनेको थियो । तर यतिबेला नेपाल पक्षका सांसद राजीनामा नदिने अवस्थामा पुगेका छन् ।
के भन्छन खनाल नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीको निर्णयलाई कुर्ने भएको छ । सोमबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासका मत लिँदा संसदमा अनुपपस्थित भएको नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भर्चुअल छलफल मंगलबार दिउँसो भएको थियो ।
छलफलमा पार्टी अध्यक्ष ओलीको कदम र पहलकदमी हेरेर थप निर्णय लिन नेताहरु सहमत भएका छन् । ‘राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ, त्यो हेरेर मात्रै थप निर्णय लिने निष्कर्षमा पुगेका छौं’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।
सोमबार प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ ९२० अनुसार सरकार गठनका लागि आह्वान गरेकी छन् ।
संसदीय गणितअनुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा मिल्दा गठबन्धनको सरकार बन्नसक्छ । बहुमतको सरकार बन्न १३६ मत चाहिन्छ । काँग्रेससँग ६१, माओवादीसँग ४८ र जसपासँग ३२ सिट छ ।
तर जसपाको एउटा धार महन्थ ठाकुर र राजेन्द्र महतोले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माणमा असहमति जनाएकाले एमाले बाहेकको सरकार बन्न सक्ने अवस्था छैन ।
त्यसैले काँग्रेस, माओवादी र जसपाको एउटा धार ९उपेन्द्र यादव र बाबुराम भट्टराई० ले माधव नेपाल समूहतिर आश गरेको छ । माधव समूहका सांसदरुले राजीनामा दिएमा वा ओलीले कारबाही गरी पदमुक्त गरेमा संसदको संख्या घट्छ र विपक्षीहरुको बहुमत पुग्नसक्छ ।
तर माधव समूहले कुनै निर्णय गरेन । आफ्नो भूमिका बाहेक गठबन्धन सरकार बन्ने अवस्था भए तत्काल कुनै कदम नचाल्ने यो समूहले संकेत गरेको छ । ‘जसपा एक भएर उभिनासाथ गठबन्धनको सरकार बनिहाल्छ । त्यो पनि हामी हेर्छौ’, बैठकमा सहभागी एक नेताले भने ।
हुन त नेपाल समूहले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव राख्नुअघि नै राजीनामा दिने तयारी गरेको थियो । तर अन्तिम समयमा निर्णय पुनर्विचार गर्दै संसद् बैठकमा अनुपस्थित मात्रै भए र एमालेमा एकताको संभावना कायमै छ ।
यद्यपि संस्दमा अनुपस्थित भएर दिएको विरोधको संकेत र एकताको अवसरलाई पार्टी अध्यक्ष ओलीले उपयोग गर्दैनन् भन्नेमा नेताहरुको विश्लेषण छ । ‘पार्टी जोगाउन केपी ओली लाग्छन् भन्नेमा विश्वास छैन, तर कुरौ न त भन्ने भयो’, एक नेताले भने ।