मोरङ । संघीय गणतन्त्र स्थापपनापछि भौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धि लगायत वडा तहमा ब्यापक रुपमा बजेट आउने गरेको छ ।
आधारभूत तहको (वडा)सरकार गठन भएको चौथो आर्थिक बर्षसकिएर पाँचौ लाग्दैगर्दा मोरङको पथरीशनिश्चरे नगरपालिकाको ४ नम्बर वडामा मात्र ८ करोड बढी बजेट आएको छ ।
वडा अध्यक्ष गोबिन्द भण्डारीले आफ्नो कार्यकालमा भएको प्रगति विवरण तयार गर्ने क्रममा वडा सरकार गठन भएको पाँच बर्ष लाग्दै गर्दा वडामा यो बजेटको आएको हो ।
वडा नम्बर ४ मा आर्थिक बर्ष २०७४÷०७५ मा ६५ लाख, २०७५÷०७६ मा ८५ लाख, २०७६÷०७७ मा एक करोड, २०७७÷०७८ मा ७५ लाख गरी ३ करोड २५ लाख नगरबाट सिलिङ बजेट आएको अध्यक्ष भण्डारीले बताए ।
सो बजेट तोकिए बमोजिम बिकास निर्माण लगायतमा खर्च भएको प्रस्तुत विवरणमा उल्लेख छ । आर्थिक बर्ष २०७८÷०७९ मा ८७ लाख ५० हजार सिलिङ छुट्टिएको छ । यो रकम सकिदा वडामा ४ करोड १२ लाख ५० हजार रकम सदुपयोग हुनेछ ।
यस बाहेक चार बर्षमा पथरीशनिश्चरे नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारबाट गरी ८ करोड बढीको बिकास निर्माण भएको वडा अध्यक्ष गोबिन्द भण्डारीले विवरण उतारेका छन् ।
चार बर्षमा ४ नम्बर वडाले मालपोत, नागरिकता प्रतिलिपि र साधारण, वैदेशिक रोजगारी सिफारिस, चारकिल्ला, घरबाटो, नाता प्रमाणित लगायत गरेर ५५ लाख बराबरको राजस्व संकलन गरको छ ।
चार बर्षमा पूर्बाधार निर्माणमा १ करोड ३५ लाख, शिक्षामा एक करोड एक लाख ७५ हजार, स्वास्थ्यमा ४५ लाख, सिंचाइमा ४० लाख, खानेपानी १५ लाख, वडा कार्यालय भवन ब्याबस्थापन (पुन निर्माण) १८ लाख खर्च भएको विवरण प्रस्तुत गरेका छन् । वडामा चार बर्षमा १५० जनालाई ४ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । लक्षित वर्गका लागि ८ लाख खर्च भएको छ ।
वडामा दुई किलोमिटर सडक कलोपत्रे, ग्राबेल १५ किमी, पुल २, कल्भर्ट ८ वटा निर्माण भएको, होम पाइप ८५ थान राखिएको, विद्युत विस्तारमा १७५ पोल तार ५० केभीएको ४ वटा ट्रान्सफमर राखिएको उल्लेख छ । हावा हुण्डरीबाट विपदमा परेका जनतालाई ४३ बन्डेल र केन्द्रीय सरकारबाट ५० घरधुरीलाई जस्तापाता वितरण गरेको छ ।
वडाले भूमिहिन, दलित सुकुम्बासीहरुको १६ सय ६० लगत संकलन गरी नापीको लागि माग गर्दै जग्गा उपलब्ध गराउन सिफारिस गरेको विवरणमा उल्लेख छ ।
चार बर्षमा एक हजारलाई नागरिकता तथा पाँच सयलाई प्रतिलिपि, ५५० घरबाटो शिफारिस (बिक्री) पाँच सय चार किल्लाको शिफारिस गरेका थिए ।
वडामा अपाङ्गता, जेष्ट नागरिक, विद्युवा, एकल महिला, बालबालिका(गरिव) गरी सामाजिक सुरक्षा भत्ता लिने ८७६ जना रहेका छन् ।
वडामा सुत्केरी भेटघाट र बुहारी शिक्षा कार्यक्रम
पथरीशनिश्चरे ४ नम्बर वडाले सुत्केरी आमा भेटघाट र बुहारी शिक्षा कार्यक्रम चलाउँदै आएको छ । दुबै लोकप्रिय कार्यक्रमको रुपमा स्थापित छ । शिशु जन्मेको ३५ दिन भित्र जन्म दर्ता गराउने सुत्केरी आमालाई एक हजार रुपैयाँ भत्ता प्रदान गर्दै आएको अध्यक्ष गोबिन्द भण्डारीले बताए । बिहे गरी आएका बुहारीले बढ्न चाहेमा सम्पूर्ण खर्च ४ नम्बर वडा गर्दै आएको छ । अध्यक्ष भण्डारी र सदस्य खड्ग बहादुर मगरले आफ्नो भत्ताको रकम संकलन गरेर बृद्धबुद्धालाई सम्मान समेत गरेका थिए ।
वडाले शिलाई कटाइ तालिम गरेका महिलाहरु स्वारोजगार बनेको अध्यक्ष भण्डारीको दावि छ । कोरोना भाइरस नियन्त्रणको लागि लाक डाउनको बेला ४ नम्बर वडामा ६२७ मजदुर परिवारलाई राहत वितरण गरेका थिए ।
साविक शनिश्चरे गाविसलाई ४ वटा वडामा बिभाजन भएको छ । एउटै वडामा यतिको बजेट पर्नुको मुख्य कारण संघीय गणतान्त्रिक ब्याबस्था रहेको वडा अध्यक्ष गोबिन्द भण्डारीको भनाइ छ । अघिल्लो ब्याबस्थाको १९ बर्षमा नभएको बिकास ४ बर्षमा भएको समेत वडा अध्यक्ष भण्डारीको भनाइ छ ।