• विश्व मानव जाति नै विशिष्ठ परिस्थितिमा मान्छे मर्ने र मार्ने प्रकृयालाई स्विकार गर्दै आएको छ। मर्ने र मार्ने के को लागि भन्ने विषय मात्र प्रश्नको रुपमा रहेको छ।  संसारमा जति पनि हतियार र सेनाहरुको निर्माण गरिएको छ ति सबै निश्चित सर्तहरुमा मान्छे मर्न र मार्नकै लागि निर्माण गरिएको हो। विज्ञान र प्रविधिको युग भनेर हामी गर्भ गर्छौं तर बिज्ञान र प्रबिधिको प्रयोगले कुनै न कुनै रुपमा मान्छे मारिरहेकै छ । नेपालमा मात्रै यातायात दुर्घटनामा परेर गत एक वर्षमा २ हजार ५ सय ११ जनाले ज्यान गुमाए । अघिल्लो आवमा २ हजार २ सय ५१ जनाको मृत्यु भएको थियो । यो संख्या हरेक बर्ष बढिरहेको छ।  असुरक्षित भविष्य संग हार खाएर भैरहेको आत्महत्याको संख्या बार्षिक ५ हजार रहेको छ। यो बढ्दो क्रममा रहेको छ। , दक्ष जनशक्ति, उपयुक्त प्रविधि र आबश्यक औषधीको अभाब र लापरवाहीका कारण अस्पतालहरूमा भैरहेको मृत्यु यी सबैको तथ्याङ्कलाई एक ठाउँमा राख्ने हो भने एक दसकमा ज्यान गुमाउनेहरुको संख्या हजार होइन लाख पुग्छ । तर पनि अस्पताललाई मान्छे मार्ने कारखाना भनेको छैनौं। यातायातको साधनलाई मान्छे मार्न बनाइएको बंकर भनेर बहिस्कार गरेको छैनौं। राज्य चरित्रको कारण हतोत्साहित भएर आत्महत्या बढिरहेको छ त्यसैले राज्य हत्यारा हो ।राज्य बहिष्कार गरौं भनेर आन्दोलन गरिरहेको छैनौं किन ? किन कि यी सबै अबस्थाहरुलाई हामीले सहज रुपमा स्विकार गर्ने आदत बनाइसकेको छौं। 

    माओवादी आन्दोलनमा १७ हजार नेपाली नागरिकको बलिदान भयो । झापा आन्दोलन, प्रजातान्त्रिक आन्दोलन लगायत संसार भरिका परिवर्तनको आन्दोलनमा बलिदान नभएको इतिहास नै छैन। मान्छे मर्नु वा मारिनु सहि हुनै सक्दैन । तर परिस्थिति अनुसार मर्ने वा मार्ने कुरालाई अस्वीकार गर्न पनि सकिदैंन। मुल कुरा के को लागि मर्यो वा मारियो भन्ने विषयले अर्थ राख्दछ । अर्थको आधारमा मृत्युलाई समर्थन वा विरोध हुनेगरेको छ। 

    जनयुद्धमा सहादत हुनेहरुको संख्या १७ हजार तत्कालीन सत्तापक्ष र विद्रोही पक्ष (माओवादी) दुवै पक्ष वाट भएको घटनामा सहादत भएकाहरुको संख्या हो । आन्दोलनलाई उठान गर्न र बचाउनको लागि होस या शासकहरुले आफ्नो सत्ता बचाउनको लागि होस यस क्रममा भएको भिडन्त र कार्वाही गर्ने शिलसिलामा १७ हजार नागरिकको सहादत भएको हो। २०६३  मंसिर ५ गते विस्तृत बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेपछि अब १७ हजार योद्धाहरुको जिम्मेवारी राज्यले लिनुपर्छ । 

     कति देशद्रोही आतंककारी भनेर मारिए । कति सुराकी र गद्दार भनेर मारिए । कति व्यवस्था जोगाउने र व्यबस्था फेर्ने बिचको दोहोरो भिडन्तमा मारिए । यी सबैको एक एक हिसाब सम्भब छैन र हुँदैन। जो जो जुन जुन आरोपमा मारिए तिनिहरु सबैको रगत र बलिदानले उत्कर्षमा पुगेको जनयुद्धको बल बाट  वंशपरम्परामा आधारित एकात्मक सामन्तवादी राजतन्त्रको अन्त्य भयो र धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व र पहिचानलाई स्विकार गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रुपमा नयाँ व्यबस्थाको सुरुवात भएको छ। यो परिवर्तन असाधारण र ऐतिहासिक परिवर्तन हो । जनयुद्ध नेपालको असमान आर्थिक राजनीतिक सम्वन्धहरु  सामन्तवादी एकात्मक राज्य व्यवस्थाहरुलाई भत्काउदै समानतामा आधारित नयाँ व्यबस्थाको लागि भएको युगान्तकारी परिघटना थियो। 

    को राज्य पक्षबाट को विद्रोही पक्ष बाट के को आरोपमा मारिए यो सबैको खोजिनिति गरेर समस्या समाधान हुन सक्दैन । बलिदानी हुनुभएको सबै योद्धाहरु प्रति समान रुपले सम्मान ब्यक्त गर्दै 
    ऐतिहासिक कार्यभार पूरा गर्न गरिएको संघर्षमा भएको बलिदानीको रुपमा स्विकार गर्दै बलिदान दिनुभएकोहरु प्रति सम्मान ब्यक्त गर्नु हामी सबैको दायित्व हो । बलिदान हुनुभएकोहरुको परिवार प्रति सद्भाव र सम्मान व्यक्त गर्नु हामी सबैको जिम्मेवारी हो । 

    विशेष गरी माओवादी आन्दोलनलाई बदनाम गराउने र अपराधिकरण गर्ने उदेश्यले गिरोह नै परिचालित छन । जसको मुल काम नै प्रचण्ड, माओवादी आन्दोलन र माओवादी नेता कार्यकर्ताहरुको बदनाम गर्ने, भ्रम सिर्जना गर्ने र झुठो प्रचारबाजी गर्ने रहेको छ । परिवर्तनलाई अस्वीकार गर्ने तर परिवर्तनको विपक्षमा आफुलाई उभ्याउन नसक्ने अवसरवादी ढोङ्गी चरित्र भएकाहरुको सुझबुझपुर्ण र योजनाबद्ध रुपमा परिचालित गिरोह नै  १७ हजार योद्धाहरुको बलिदानीको अपमान गर्दै विषयलाई अतिरञ्जित गरिरहेको छ । यो हर्कत मुलत शान्ति प्रक्रियाको विपक्षमा र प्राप्त उपलब्धिहरुलाई ध्वस्त पार्ने षड्यन्त्र अनुरुप भइरहेको छ। 

    उनिहरुले १७ हजार योद्धाहरुको बलिदान हुनुपरेको अबस्था प्रति चिन्ता वा सहादत भएका र तिनिहरुको परिवार प्रतिको माया, सद्भाव र दायित्वबोधको कारणले यो बिषयलाई उठाइरहेका छैनन् ।  यसो हुन्थ्यो भने त पटक पटक आफु सरकारमा रहेको वेला सबै भन्दा प्राथमिकतामा राखेर शहीद र बेपत्ता परिवारको लागि बजेट तथा योजना संचालन गरिन्थ्यो। त्यसले १७ हजार योद्धाहरुको बलिदानीको अपमान गर्दै यस कारण विषय अतिरञ्जित गरिरहेको छन् कि अब उनिहरु संग माओवादीले ल्याएको एजेण्डा, निति र कार्यक्रमहरुलाई अस्वीकार गर्न सक्ने क्षमता र बैकल्पिक एजेण्डा निति कार्यक्रमहरु नै छैन । यस कारण १७  हजारको बलिदानीलाई अपमानित र अतिरञ्जित गरिरहने कारण भनेको अस्थिरता फैलाएर आफ्नो स्वार्थ पूरा गर्न चाहने अदृष्य शक्तिकेन्द्र संगको अदृष्य सम्बन्ध र आफ्नो एजेण्डा र निति कार्यक्रमहरु बिना राजनीति गर्नु पर्ने विचार शुन्य अबस्थामा पुगेकोले आफुलाई जोगाउनको लागि गरिएको तिकडम मात्र हो ।

     यही तिकडम अन्तरगत जनयुद्धमा भएको बलिदानीलाई ब्यक्ति हत्याको रुपमा कुप्रचार गर्ने,  माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिद, वेपत्ता, घाइते, अपाङ्ग र पुर्व जनमुक्ति सेनाको योद्धाहरु प्रति गरेको सम्मान र सुविधाको कार्यक्रमहरुलाई पारित हुन नदिने तर योद्धाहरु संग आएर तिम्रो पार्टीले केही गरेन भनेर भड्काउने । सत्ताको भर्याङको रुपमा उपयोग गर्न जालझेल गर्ने र भावनात्मक रुपमा फुटाएर  लाभ लिने कुटिल षड्यन्त्रको रुपमा १७  हजारको रटान र अतिरञ्जना चलिरहेको छ। 

    माओवादीले लडेर ल्याएको ब्यबस्था हो संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल । संघियता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व, पहिचानको अधिकार, गणतन्त्र यी सबै माओवादीले स्थापित गरेको एजेण्डा हुन । अहिले देस यही एजेण्डा कार्यान्वयनको चरणमा छ । यि एजेण्डाहरुको विपक्षमा जान सक्ने हिम्मत पनि कसैको छैन । तर जस्ताको तस्तै लागु हुन नदिने षड्यन्त्र निरन्तर भइरहेको छ । जनयुद्धले स्थापित गरेको यी एजेण्डाहरुको सहि कार्यान्वयन भए जनताहरुले यो देशको नेतृत्व गर्ने एजेण्डा र क्षमता भएको पार्टी माओवादी मात्र हो भन्ने कुरा बुझ्ने छन् र हाम्रो राजनीतिक भविष्य समाप्त हुन्छ भन्ने बुझेकाहरुले गरेको धुर्त्याई र षड्यन्त्रको एउटा मुख्य हतियारको रुपमा प्रयोग गरेको मात्र हो १७ हजारको रटान। 

    जनयुद्ध र माओवादी आन्दोलनलाई स्वीकार गर्दै १७ हजार योद्धाहरु र उनिहरुको परिवारको सम्मान र संरक्षणको लागि सरकारलाई जिम्मेवारी दिँदै उच्च राजनीतिक नैतिकता प्रकट गरौं यसले तपाईंको राजनीती पनि जोगिने छ र असल राजनीतिक संस्कारको पनि शुरुवात हुनेछ । 

    मौका छोपेर चिहान खन्ने राजनीतिक संस्कारले देसलाई र ब्यबस्थालाई पनि राम्रो गर्दैन न त तपाइ र तपाइको पार्टीलाई नै । सद्भाव र असल नियत सहित मर्यादित राजनीतिक संस्कार र सहकार्यको लागि हामी सबैले उच्च नैतिक दायित्व पुरा गरौं । यही नै अहिलेको हाम्रो ऐतिहासिक कार्यभार पनि हो । यथार्थलाई तोडमोड गरेर विषयलाई अतिरञ्जित गरेर सत्य दवाउन सकिन्न । शिसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा हान्ने प्रवृत्तिले आफु पनि सुरक्षित हुन सकिदैंन भन्ने हेक्का राखौं । 

    अन्त्यमा, परिवर्तनको आन्दोलन, आन्दोलन वाट प्राप्त उपलब्धि, परिवर्तनको आन्दोलनको योद्धाहरु, पार्टी र नेतृत्वकर्ताहरुलाई स्विकार गर्न नसक्ने सोच, चिन्तन र प्रवृत्ति मुख्य समस्या हो । १७ हजार योद्धाहरुको बलिदान समस्या होइन । उनिहरु त हाम्रो सम्मान,  गौरब र मार्गदर्शक हुन्  । जसको प्रेरणा र दायित्वबोधले क्रान्तिकारीहरुलाई जनताको विचमा र जनताको हितमा रहन झकझकाइरहन्छ ।

सम्वन्धित समाचार

 चितवन, २ कात्तिक  मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाट…

आरक्षण अबसर बाट बञ्चीत पारिएको र राज्यले समानरुपमा अबसर र सेवा सुविधा दिन नसकेको   वर्ग र  सम…

प्रदेश नं २ का उपसभामुख उपमा देवले समाजमा महिलालाई कमजोर बुझ्ने पुरानो मानसिकतामा क्रमिकरूपले परिवर्तन …

एजेन्सी। धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् । हिन्दु …