• म्याग्दी, ११ मङ्सिर 

     प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु गरेको हो । हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताउनुभयो ।

        “विदेशमा आर्जेको सीप, पूँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “बाध्यताले अवसरको खोजीमा  विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भित्र्याएर जलविद्युत् आयोजना बनाउन लागेका हौँ ।” गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाका पूर्वअध्यक्ष र म्याग्दी प्रवासी नेपाली सङ्घका पूर्ववरिष्ठ उपाध्यक्षसमेत  रहनुभएका  कुँवरले यस आयोजनामा एनआरएनदेखि स्थानीयवासीसम्मको लगानी रहेको बताउनुभयो । 

        विसं २०७६ मङ्सिरमा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शिलान्यास गर्नुभएको सो आयोजना निर्माणको तयारी भइरहेका बेला कोरोना (भाइरस)को महामारी फैलिएपछि निर्माणले गति लिन सकेको थिएन । विसं २०७७ को बाढीपहिरो र दोस्रो लहरको कोरोनाले पनि आयोजनाको निर्माण कार्यमा असर पारेको थियो । आयोजनाका इञ्जिनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरिएको जानकारी दिनुभयो । 

        “गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “बाँध र विद्युत्गृह निर्माणको तयारीमा छौँ ।” मालिका गाउँपालिका–७ बिम र धौलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने गरी  पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । चारवटा अडिटबाट सुरुङ खनिने भएको छ । बाँध र आउटलेटसँगै तोलाबाङमा ६०० मिटर पहुँचमार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दिगोपनका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ । दुखुबेँसीमा रहने आउटलेटको १०० मिटर हेडमार्फतबाट बालौटेमा निर्माण हुने पावरहाउसमा पानी खसालेर विद्युत् उत्पादन गरिने भएको छ । 

        आयोजना नजिकै बिमको डाँडाखेतमा सबस्टेसन निर्माण सुरु भएको छ । सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, मुक्तिनाथ, ओभ डेभलपमेन्ट र महालक्ष्मी विकास बैंकका गरी रु तीन अर्ब ५० करोड ऋण लगानी गर्ने सम्झौता पनि भएको छ । आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दालाई पनि लगानीको अवसर दिइने प्रर्वद्धकले बताएका छन् । कूल रु पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने भएको छ । असर पर्ने क्षेत्रका लगानीकर्ता र प्रवद्र्धकबीचको विवादका कारण २०७१ फागुनमा आयोजनाको काम सुरु हुन सकेको थिएन । आगामी तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…