• म्याग्दी, २५ मङ्सिर 

     म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले परियोजनामा आधारित शिक्षण विधि अपनाएको छ । 

    पाठ्यक्रममा भएका विषयलाई परियोजना कार्यको माध्यमबाट सहज र प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउने विधि सो विद्यालयले  अपनाएको हो । प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले अन्तर्राष्ट्रियस्तरमा नमूना मानिएका विद्यालयसँग सहकार्य गरेर पठनपाठन गराउन थालिएको बताउनुभयो । “विद्यार्थीमा सिकाइ उपलब्धि बढाउन शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रममार्फत गत शैक्षिक सत्रदेखि सुरु भएको परियोजनामा आधारित शिक्षण विधि प्रभावकारी बनेको छ”, उहाँले भन्नुभयो, “पाठ्यक्रममा भएका विषय वस्तुलाई व्यवहारिक र प्रयोगात्मक रुपमा सिकाउन परियोजनामा सहभागी गराउँछौँ ।”

    पाकिस्तानको जिएसएस थेसिल डिस्ट्रिक्ट टोबटेक सिंह विद्यालयसँग कक्षा ९ का विद्यार्थीले सामाजिक विषयको राष्ट्रिय व्यक्तित्व र विभूति भन्ने पाठमा, भारतको एमजी पब्लिक स्कुलसँग कक्षा ८ का विद्यार्थीले पानीको मुहान र स्रोत संरक्षणसम्बन्धी विषयमा सहकार्य गरेर पढेका थिए । कक्षा १० का विद्यार्थीले पाकिस्तानको एमसी ब्याइज सेन्टरल मोडल विद्यालयसँग आफ्नो भूगोलको नक्सा तयार पारेर आदानप्रदान गरेका थिए । पाकिस्तान र भारतको विद्यालयको कक्षा कोठामा भर्चुअल माध्यमबाट सिकाइ आदानप्रदान गरिएको हो ।  

    कक्षा ६ र ७ का विद्यार्थीले बिहीबार बेनीको माउन्ट एभरेष्ट आवासीय माविको समान कक्षाका विद्यार्थीसँग साझेदारी गरेर धार्मिकस्थल महारानी थानमा पुगी धार्मिक तथा सांस्कृतिक सम्पदा र तीनको संरक्षण भन्ने पाठ अध्ययन गरेका छन् । कक्षा ४ र ५ का विद्यार्थीले गुन्द्री बुन्ने, कक्षा १ र २ ले व्यक्तिगत सरसफाइ, कक्षा ३ ले शारीरिक अभ्याससम्बन्धी विषयमा विद्यालयभित्रै प्रयोगात्मक कक्षामा सहभागी भएका विद्यालयका परियोजना शिक्षक मदन सुवेदीले बताउनुभयो ।  

    “प्रस्ताव गरेअनुसार परियोजना कार्यान्वयन भए, नभएको र त्यसको प्रभावकारिताको विषयमा प्रतिवेदन, प्रमाणित गर्ने दृश्य र तस्बिर तथा स्थलगत मूल्याङ्कनको आधारमा तोकिएको मापदण्ड पूरा गरेमा तीन वर्षका लागि अन्तर्राष्ट्रियस्तरको मान्यता पाइन्छ”, उहाँले भन्नुभयो, “ प्रस्ताव गरेका सबै परियोजना कार्यान्वयन गरेर प्रतिवेदन तयारीमा छ ।” 

    नेपालमा सन् २०१३ यता २५० वटा विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड पाएका छन् । जामुनाखर्कमा विसं २०७७ वैशाखदेखि सुरु भएको कार्यक्रमको गत चैतमा भएको मध्यावधि मूल्याङ्कनमा सकारात्मक प्रतिवेदन आएको थियो ।  एक वर्षको परियोजना कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण पठनपाठन बन्द हुँदा करिब छ महिना पछि धकेलिएको छ । कार्यक्रमअन्तर्गत शिक्षकको क्षमता तथा नेतृत्व विकासको लागि काउन्सिलले तालिम दिएको छ । ब्रिटिस काउन्सिलका परामर्शदाताको निगरानीमा परियोजना कार्यान्वयन हुने गरेको छ । 

    एक पटकमा तीन वर्षसम्मका लागि मान्यता पाउने इन्टरनेशनल स्कुल अवार्डलाई कायम राख्न विद्यालयले परियोजनालाई निरन्तरता दिने व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताउनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने जामुनाखर्क मावि शैक्षिक गतिविधीका हिसाबले म्याग्दी जिल्लामै नमूना मानिन्छ । 

    विसं २०६० देखि २०७५ सम्म एसइई र एसएलसी परीक्षामा जिल्लामा सर्वोकृष्ट नतिजा ल्याएको ३०० अध्ययनरत यस विद्यालयका विद्यार्थीको सरदर सिकाइ उपलब्धि सिपल्स जिपिए छ । पुस्तकालय, कम्प्युटर ल्याब र सुविधा सम्पन्न पर्याप्त भवन निर्माण भएको यस विद्यालयको कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन्छ । शैक्षिक तथा भौतिक विकासका लागि शिक्षा मन्त्रालयको नमूना विद्यालय कार्यक्रम लागू गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । 

सम्वन्धित समाचार

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…

विराटनगर / अविरल वर्षासँगै गत कात्तिक १ गतेदेखि ३ गतसम्म आएको बाढीका कारण सुनसरी मोरङ औद्योगिक करिडोर क्…