• भनिन्छ इतिहास जित्नेहरुले तयार गरेको पुस्तावली वा संग्रह हो । हार्नेहरुको भएका पनि मेटिन्छन् । डार्विनको जीव विज्ञानको नियम जस्तै संघर्षमा सफलहुनेहरुको मात्र अस्तित्व रहन्छ । प्रकृति वातावरणमा अफूलाई मिलाउन सक्नेहरु मात्र बाँच्न सक्छन् । नेपालको भूगोललाई आवाद गर्ने, यो देशको सस्थापक हाङ यलम्बरको इतिहास यस्तै भएको छ । शाहाहरुको वंशावलीको रुपमा रहेको नेपालको इतिहासमा यलम्बर खियर सकिन लागेको अवस्थामा भेटिन्छ । युगहरु परिवर्तनहुदै जाँदा, अस्तित्व र अधिकारको खोजि गर्ने क्रम बढिरहेको बेला विस्तारै हाङ यलम्बरको सम्झना गर्नेहरुको संख्या बढ्दै गएको अनुभूत हुन्छ । जानी नजानि प्रत्येक बर्षको माग महिनाको पहिलो दिन हाङ यलम्बरको तस्वीर राखेर स्मरण गर्ने चलनले गतिलिदै गएको छ । यो सालको माघ १ पनि किरातीहरुले मान्दै आएको यले सम्बत ५०८१ सकिएर ५०८२ सुरु भएको छ । पूर्वी नेपालमा बसोबास गर्दै आएका किरातीहरुले माघ १ गतेलाई नयाँ सम्बत(नयाँ बर्ष)को रुपमालिदै आएका छन् । कार्यक्रमहरु गरेर शुभकामना आदानप्रदान गरेर नयाँ बर्षलाई स्वागत गर्छन । पूर्वी नेपालमा मुख्य थातथलो रहेको किरातीहरु राई, लिम्बू, याक्खा र सुनुवारहरुले आ—आफ्नै अनुकुलतामा नयाँ बर्ष मनाउछन् । नयाँ बर्षको साथै माघ महिनाको पहिलो दिन किरातीहरुले आफ्नो पूर्खाहरुले जंगली अवस्था पार गरेर कृषि युगमा प्रवेश गरेको दिनको सम्झना स्वरुप वन तरुल, गिठ्ठा भ्यागुर लगायतका तरुलहरु उसिनेर खाने, तरुल डढाएर टिका लगाएर जंगली युगको सम्झना गर्ने चलन छ । माघे सङ्क्रान्ति अन्य समुदायले विभिन्न नाममा मनाएपनि किरातीहरुले पूर्खाले विताएका आदिम जीनव निर्वाह गरेको सम्झनामा स्वरुप संङ्क्रान्ति बनाउछन् । 

    विक्रम र इस्वी संवत्को सुरुवात 
    चल्तिमा रहेको सम्बतहरुको अध्ययन गर्दा कुनै न कुनै चर्चित व्यक्तिहरुको नाम वा उनीहरुले सुरुवात गरेको तथा प्रचलनमा ल्याउने व्यक्तिको नामबाट सुरुभएको पाइन्छ । विश्वमा प्रचलनमा रहेको इश्वी सम्बत २०२२ चलिरहेको छ । यो सम्बत क्रिश्चियन धर्मालम्बिहरुले चलनचल्तिमा ल्याएको ग्रेगोरियल क्यालेण्डर (अंग्रेजी सम्बत) यशु क्रिष्टको जन्ममा आधारित छ । यसले प्रत्येक बर्षको जनवरी १ तारिखलाई नयाँ बर्षको रुपमा मान्दै आएकोछ । यो सम्बद्ध विश्वभर मान्यता पाउदै गएको अवस्था छ । भाषा, धर्म, संस्कार र उत्पादित वस्तुको विश्वब्यापिकरणसँगै यो सम्बतले विश्व मान्यता पाउने अवस्थामा पुगेको देखिन्छ । त्यसैगरी नेपालको केन्द्रीय सरकारले चलाउदै आएको वि.स. २०७८ बर्ष पुगेको छ । तत्कालीन राजा पृथ्वी वीर विक्रमको शासनकालमा प्रधानमन्त्री देव शमशेरले सरकारी सम्बतको रुपमा मान्यता दिएको हो । भारतमा यो सम्बतलाई सांस्कृतिक क्लालेण्डरको रुपमा मान्दै आएको छ । राणा प्रधानमन्त्रीले विक्रम सम्बत चलाउनु अघि नेपालमा संखधर साख्वाले सुरु गरेको नेपाल सम्बतलाई सरकारी क्यालेण्डरको रुपमा लिदै आएको थियो । विक्रम सम्बतमा बैशाख १ गतेलाई नयाँ बर्षको पहिलो दिन मान्दै आएको छ । यो सम्बत भारतको उज्जैनका तत्कालीन संम्राट विक्रमादित्य नामबाट सुरु भएको हो । उनी राजा गन्धर्व सेनका छोरा थिए । यो सम्बत विक्रमादित्यले इसापूर्व ५७ बर्ष अघि सुरु गरेका थिए । 

    यले संवत्को सुरुवात 
    यशु क्रिष्टबाट इस्वी र संम्राट विक्रमादित्यबाट विक्रम सम्बत सुरु भएजस्तै किरातकालीन प्रथम राजा हाङ यलम्बरको सम्झनामा यले सम्बत सुरु भएको हो । वर्तमान नेपालका सस्थापक हाङ यलम्बरले शासन सत्ता संचालन सुरु गएको समयदेखि यो सम्बत सुरु भएको मानिन्छ । यो सम्बतलाई मान्दै आएका किरातीहरुले माघ १ गते नयाँ बर्ष मान्दछन् । याले सम्बत इस्वी भन्दा ३०६० र वि.स. सम्बतभन्दा ३००४ बर्ष जेठो देखिन्छ । जंगलै जंगलले ढालेको वर्तमान मेची—कोशीलाई किराती पुर्खाहरुले आबाद(वस्तीको रुपमा विकास) गरेका थिए । तिनै किरातीहरु वर्तमान राजधानी काठमाडौंमा महिषपाललाई पराजित गरेर शासन सत्ता स्थापित गरेका थिए । यलम्बरले सुरु गरेको किरात काल ३२ पुस्ता गरी १९०३ बर्षसम्म चलेको पाइन्छ । यलम्बरको शासन हिन्दू शास्त्रहरुमा उल्लेख भएको सत्य, त्रेता, द्वापर र कलि युगमध्ये कलि युगसँगै सुरुभएको मानिन्छ । अथवा यलम्बरले शासन शासन सुरु गरेको यो माघमा ५०८२ बर्ष पुगेको छ । यले सम्बतलाई किरातीहरुको साझा सामाजिक संस्थाहरुले हाङ यलम्बरले शासन सुरु गरेको मितिलाई आधार मानेर ५०८२ मान्दै आएकाहुन् । यद्यपि विभिन्न रिसर्च सेन्टरहरु र नयाँ नयाँ संघ संस्थाहरुले शासन गर्ने किराती राजाहरुको नाम तथा उनीहरुले शासन चलाएका बर्ष हिसाव गरेर यले सम्बत ३ हजारको हाराहारीमा पुगेको ५ हजारको तर्कपनि दिएको पाइन्छ । केहीले माघ १ गते विक्रम सम्बतसँग मिल्न गएको भन्दै माघ १५ लाई नयाँ बर्ष मान्नुपर्ने तर्कहरु निकालेर फरक समयलाई नयाँ सम्बत मान्दै आएको पनि पाइन्छ । यद्यपि चार किरातहरुको स्थापित सामाजिक संस्थामा आवद्ध भातृ तथा भाषिक संस्थाहरुले ५०८२ लाइनै आधिकारिक रहेको विश्लेशनको आधारमा नयाँ बर्ष मनाउदै आएका छन् । 

    प्रचलनमा यले संवत् 
    पहिचान सम्बन्धी चेतना खुलेका आदिवासी किराती समुदायद्वारा प्रकाशित संस्थागत मुखपत्रहरु, पत्रपत्रिका तथा कार्यक्रमहरुमा निक्कै लामो समयदेखि यले सम्बत उल्लेख गर्दैआएको पाइन्छ । राई, लिम्बू, याक्खा र सुनुवार जातिको सामाजिक व्यक्तिहरुले यले सम्बतलाई आफ्नो आन्तरिक कार्यक्रमहरु मार्फत प्रचलनमा ल्याउने प्रयास गरेको देखिन्छ । सरकारी तवरबाट भने गोरखापत्र दैनिकले गणतन्त्र स्थापनापछि २०६४ सालबाट सुरु गरेको ‘नयाँ नेपाल’ पृष्टमा यले सम्बत उल्लेख ग¥यो । यस अघि सुनसरीको धरानबाट प्रकाशनहुदै आएको औजार दैनिक पत्रिले प्रकाशन सुरु गरेको केही बर्षसम्म यले सम्बत उल्लेख गरेका थिए । पहिचानको आन्दोलन उठ्दै गर्दा २०७२ मा नेपालको संसदमा यले(यलम्बर) सम्बतको पहिचान हुनुपर्ने आवाज उठेपछि सरकारले यसलाई किरात सम्बत भनि सूचिकृत गरेको छ । 

    क्यालेण्डर निर्माण अव प्रदेश सरकार दायित्व
     बढ्दो बिश्वव्यपीकरणसँगै नेपालको भाषा, लिपी, धर्म, संस्कार, उत्पादिन समाग्रीमा आएको नकारात्मक प्रभावसँगै सम्बतलाई पनि प्रभाव पार्ने नै भए । आफूलाई बुज्रुक ठान्नेहरुले लेख तथा पुस्तकहरुमा विक्रम सम्बत नभएर इस्वी सम्बत राख्न उद्धत छन् । विदेशीहरुलाई बुझ्न र बुझाउन सजिलोको लागि पनि इस्वी सम्बत राख्नै पर्ने बाध्यता पनि सिर्जना हुनेगरेको छ । यद्यपि बन्न लागेको १ नम्बर प्रदेश सरकारले आधिकारिक रुपमा यले सम्बतको क्यालेण्डर निर्माण गरेर प्रचलनमा ल्याउन जरुरी छ । यो प्रदेशमा यले र इस्वी सम्बत चलाउदा उपयुक्त हुन्छ । नेपालको संस्थापक यलम्बरको सम्झनामा स्थापना भएको यले सम्बतलाई प्रचलनमा ल्याउन सरोकारवालाहरुले सिर्जनात्मक तथा कुटनीतिक पहल कदमीको आवश्यकता छ । एकात्मक राज्य रहदासम्म नेपालमा हिन्दू धर्ममा आधारित एकमात्र पञ्चाङ्गन निर्णायक समितिले वि.स.को क्यालेण्डर निर्माणमा मुख्य भूमिका खेल्दै आएको थियो । गणतन्त्र र संघीयता कार्यान्वयनहुदै जाँदा प्रदेश क्यालेण्डर बनाउने दायित्व सम्बन्धित प्रदेश सरकारले लिनुपर्दछ । 

    प्रदेशको नामाकरण र हाङ यलम्बर 
    किरातीहरु यले सम्बत बनाउन एकै ठाउँमा हुन्छन । प्रत्येक माघ १ मा हाङ यलम्बरलाई सम्झन्छन् । तर, राजनीतिक विचारमा विभाजित हुँदा प्रदेशको नामाकरणमा आउदा फेरी आ—आफ्नै तर्क अघि सार्दैआएको अवस्था छ । प्रदेशको नाम किरात राख्न माग गर्दै निक्कै अघिदेखि किरातीहरु आन्दोलितहुदै आएका छन् । केहीलाई किरात नामाकरण गर्दा साम्प्रदायिक हुन्छ भन्ने भ्रम बिस्तारै हट्दै गएको छ । किरात विसुद्ध भूगोल हो । सभ्यता, संस्कृति र जीउने कला हो । किरात शब्द उत्पतिको कुरा गर्दा कैलाश पर्वतबाट कैलाशी, काइलाती, कैरातीहुदै किरात वा किराती भएको हो । हिन्दू धर्मग्रन्थ ऋग्वेदमा चिराइतोलाई ‘किरात तित्त’ भनियो । त्यही चिराइतो औषधीको रुपमा प्रयोग गर्नेहरुलाई किराती भनिएको विश्लेशणपनि छ । मुन्धुम अनुसार श्रृष्टिको पहिलो पुरुष किरपा थिए । उनै पुर्खा किरपाबाट किराती भएको भन्ने तर्क छ । किरावा शब्दबाट किरात वा किराती भएको पनि मान्न सकिन्छ । किरात शब्दको उत्पतिको बारेमा अन्य विभिन्न तर्कहरु भएपनि यो शब्दप्रति असहमति राख्नुपर्ने कुनै कारण छैन् । यो भूगोललाई मानव वस्तिको रुपमा विकास गर्ने संस्थापक, वर्तमान नेपालको शासन सत्ता अभ्यासको सुरुवातगर्ने उनै हाङ यलम्बरको सम्मानको लागि र नेपाली जनताको भावनात्मक एकतालाई ख्याल गरेर एक नम्बर प्रदेशलाई किरात नामाकरण गर्दा परिवर्तित नेपालको आर्थिक, भौतिक विकासमा थप टेवा पुग्दछ ।

सम्वन्धित समाचार

महोत्तरी, १६ मंसिर  महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न…

महोत्तरी, १६ मंसिर  प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा निर्वाचन सुरु भए…

काठमाडौं,१४ म‌ंसिर बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्…

भैरहवा, १४ मंसिर  नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल पर…