• भक्तपुर, १८ वैशाख 

    भक्तपुरका प्राध्यापकहरूले शैक्षिक संस्थाबारे दुष्प्रचार नगर्न आग्रह गरेका छन् ।  अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार
    ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा उनीहरूले  राम्रो शैक्षिक संस्थाको विषयमा जथाभावी रुपमा कपोलकल्पित भ्रमहरु नछर्न आग्रह गरेका हुन् । 

    केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमाले भक्तपुरका नेता महेश वस्नेतले कलेजमा पढाउने शिक्षकहरू अयोग्य भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।  उनले कलेज कुन कानुनअन्तर्गत सञ्चालित हो भनी प्रश्न पनि गरेका थिए । उनले सरकार बलियो भएको भए कलेज बन्द गराउनसक्ने पनि बताएका थिए । कलेजका विद्यार्थीका सर्टिफिकेटसमेत नक्कली भएकाे दाबीसहितकाे बस्नेतकाे अभिव्यक्तिकाे भिडियो भाइरल भएको थियो । 

    कार्यक्रममा कलेजका प्राध्यापकहरूले अयोग्य शिक्षकशिक्षिकाहरूले पढाएका विद्यार्थीहरु पटकपटक कसरी त्रिभुवन विश्वविद्यालय टपर भए भनी प्रश्न गरेका थिए । प्राचार्य रूपक जोशीले कलेज देशकै उत्कृष्ट भएकै कारण पटकपटक कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप भएको स्मरण गरे । 

    ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश वस्नेतद्धारा लेखिएको भनिएका ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको र त्यस पुस्तकमा लेखकले बहसमा झुटो कुरोलाई पनि सत्य बनाउनुपर्ने कुरा आफूलाई मन नपरेको, तर राजनीतिमा त्यही गर्नुपरेको विषय उल्लेख भएको बताए । यही कारण बस्नेतले आफ्नो राजनीतिलाई टिकाउन कलेजबारे झुठो बोलेको विषय उनकै पुस्तकबाट खुलेको प्राचार्य श्रेष्ठको तर्क थियो । कस्नेत पदीय हिसावले उच्च पदमा पुगे पनि उनको बौद्धिकता भने नभएको भन्दै उनले दुःख व्यक्त गरे ।

    कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, परीक्षा शाखा प्रमुख विष्णुप्रसाद किसी, प्रशासनका उमा भट्टलगायतले आफ्नो राजनीतिक भविष्य बचाउन एउटा शैक्षिक संस्थाकोबारेमा अनर्गल प्रचार नगर्न चेतावनीसमेत दिए । 

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…